नेपाली-चिनियाँ निजी क्षेत्र भेटवार्ता, हुपेई प्रान्त नेपालमा लगानी गर्न इच्छुक



काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषद्का सभापति चन्द्रप्रसाद ढकालको नेतृत्वमा नेपाली उद्यमी व्यवसायीहरू र चीनको हुपेई उद्योग वाणिज्य महासंघ तथा हुपेई प्रान्तीय उद्योग वाणिज्य संघका उपाध्यक्ष चाओ सुफेङको नेतृत्वमा नेपाल भ्रमणमा आएको चिनियाँ व्यावसायिक प्रतिनिधिमण्डल बीच आज महासंघ सचिवालयमा द्विपक्षीय भेटवार्ता सम्पन्न भयो ।

सो भेटवार्तामा नेपाली र चिनिया“ उद्यमी व्यवसायी बीच नेपाल–चीन आर्थिक व्यवसायिक सम्बन्ध, संयुक्त लगानी विस्तार, वैदेशिक लगानी सम्बन्धी नीतिगत व्यवस्था लगायतका विषयमा छलफल भयो ।

सो अवसरमा प्रतिनिधिमण्डलको स्वागत गर्नुहुंदै महासंघका उपाध्यक्ष ढकालले नेपालमा लगानीको वातावरण, विदेशी लगानी सम्बन्धी विद्यमान नीतिगत व्यवस्थाका विषयमा स्पष्ट पारे । नेपालमा यतिखेर लगानीका लागि सवैभन्दा उपयुक्त समय भएको समेत उनले बताए ।

नेपालको सवैभन्दा ठूलो व्यापारिक साझेदार र वैदेशिक लगानीका हिसावले समेत सवैभन्दा बढी लगानी गरीरहेको छिमेकी राष्ट्र चीनबाट अझै धेरै लगानीको अपेक्षा नेपालले गरेको पनि उनले बताए ।

नेपालमा लगानी, पूँजी, प्रविधि भित्राउँदा तपाईहरूलाई आवश्यक सहयोग गर्न महासंघ तयार छ, उपाध्यक्ष ढकालले विश्वास दिलाए । सन् २०१९ को मार्चमा नेपाल सरकारले लगानी सम्मेलनको आयोजना गर्न लागेकोले उक्त सम्मेलनमा सहभागिताका लागि चिनियाँ पक्षलाई आमन्त्रण समेत गरे ।

साथै उनले सम्मेलन अगाडी वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन, औद्योगिक व्यवसायिक ऐन र अन्य आवश्यक ऐन कानूनहरूलाई समय सान्दर्भिक रूपमा परिमार्जन गरी बढी भन्दा बढी वैदेशिक लगानी आकर्षणका लागि सरकार र निजी क्षेत्रले गृहकार्य गरिरहेको जानकारी गराए ।

नेपालमा लगानीका सम्भाव्यताका विषयमा अध्ययन गर्न आएको उक्त प्रतिनिधिमण्डललाई महासंघका तर्फबाट व्यवसायिक कृषि, पूर्वाधार (सडक, पुल, टनेल, एयरपोर्ट), पर्यटन, उर्जा, सूचना प्रविधि, उत्पादनमुलक उद्योग लगायतका क्षेत्रमा लगानी गर्न आव्हान गरियो ।

उपाध्यक्ष ढकालले महासंघले सन् २०१९ को मार्चमा आयोजना गर्ने नेपाल अन्तराष्ट्रिय व्यापार मेलामा हुपेई प्रान्तको महत्वपूर्ण सहभागिताका लागि निम्तो समेत दिए ।

सो अवसरमा चिनियाँ पक्षबाट हुपेई प्रान्तले गरेको विकासको अनुभव, उच्च प्रविधि तथा पू“जी मार्फत नेपालको विकासमा सहयोग गर्न तिव्र इच्छा व्यक्त गरियो । प्रतिनिधिमण्डलका नेता एवं हुपेई उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चाओ सुफेङले नेपालको विकासमा हुपेई प्रान्त सहयोग गर्न आतुर रहेको स्पष्ट पारे ।

सो अवसरमा चिनियाँ पक्षबाट व्यवसायिक प्रतिनिधिमण्डलको आदान प्रदानमा समेत जोड दिइयो । साथै सो अवसरमा भएको छलफलमा नेपालको जलविद्युत विकासमा सहकार्य गर्ने विश्वास चिनियाँ पक्षबाट व्यक्त भएको थियो ।

भेटवार्तामा महासंघका कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले दक्षिण एशियामा नेपाल सवैभन्दा बढी लगानीका लागि उपयुक्त थलो भएकाले नेपालमा लगानी गर्न आग्रह गरे । दक्षिण एशियाको सवैभन्दा सिरानामा रहेको र चीनको अत्यन्त घनिष्ठ मित्रराष्ट्र समेत भएकाले नेपालको विकास प्रयासमा सहयोग गर्न उनले अनुरोध समेत गरे ।

निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था महासंघ तपाईहरूलाई नेपालमा स्वागत गर्न आतुर छ, कोषाध्यक्ष प्रधानले भने– सरकार विदेशी लगानी आकर्षणका लागि आवश्यक नीतिगत सुधारमा क्रियाशिल रहेको र लगानीको वातावरण समेत अत्यन्त अनुकुल रहेको छ ।

भेटवार्तामा महासंघको कार्यकारिणी समितिका सदस्यहरू, महासंघको सदस्य संघ सस्थाका प्रतिनिधिहरू, चीनसँग व्यापार व्यवसाय गरिरहेका नेपाली उद्यमी व्यवसायीहरू र महासंघका वरिष्ठ कर्मचारीहरू र प्रतिनिधिमण्डलका सदस्यहरूको उपस्थिति रहेको थियो ।


क्लिकमान्डु