अर्थ र उद्योगमन्त्रीको भर परेनन् प्रधानमन्त्री, निजी क्षेत्रसँग आफैले डिल गर्न फोरम बनाए




काठमाडौं । कर सम्बन्धी कानून लगायतका विषयमा सहजीकरण गर्न अर्थ मन्त्रालय छ । उद्योग, वाणिज्य र व्यापारिक क्षेत्रका कानून लगायत विषयमा सहजीकरण गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय छ ।

यी दुबै मन्त्रालयमा मन्त्री पनि छन् । तर, प्रधानमन्त्री केपी शर्मा ओली यी संयन्त्रको भर नपरी निजी क्षेत्रसँग आफै डिल गर्न चाहन्छन् ।

उद्योगी व्यवसायीको समस्या समाधान गर्न अर्थ मन्त्री डा. युवराज खतिवडा र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले कुनै पहल नगरेको गुनासो पछि प्रधानमन्त्री आफैले डिल गर्ने गरी फोरम बनाएका छन् ।

मन्त्रिपरिषद्को असोज ५ गतेको निर्णयअनुसार उद्योग वाणिज्य प्रवद्र्धन संवाद परिषद् गठन भएको छ ।

सरकार र निजी तथा व्यवसायिक क्षेत्रबीच अन्तरक्रिया, समन्वय र समझदारी प्रवद्र्धन गर्दै लगानीका अवसरको पहिचान गर्ने, लगानी प्रवद्र्धन गर्ने, उत्पादकत्व वृद्धि गर्ने, रोजगारी सिर्जना तथा आय वृद्धि गर्ने तथा ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय अभियान पूर्णता दिन भन्दै उक्त परिषद् गठन गरिएको हो ।

उद्योगी व्यवसायीले अर्थमन्त्री र उद्योगमन्त्रीले सोचे जस्तो काम गर्न नसकेको र आफूहरुसँग समन्वय नगरेको भन्दै केही समय पहिले प्रधानमन्त्रीसँग गुनासो गरेका थिए ।

सोही गुनासोलाई सम्बोधन गर्न परिषद् गठन गरिएको हो ।

परिषद्मा उद्योगमन्त्री यादव, अर्थमन्त्री डा खतिवडा, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बर्षमान पुन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीलाई समेत सदस्य बनाइएको छ ।

सो परिषद्को अध्यक्षमा प्रधानमन्त्री आफै बसेका छन् । यसले पनि के देखाउँछ भने उद्योगी तथा व्यवसायीसँग प्रधानमन्त्री आफै डिल गर्न लागेका छन् ।

उक्त परिषद्मा उद्योगीहरु सुरज वैद्य, जगदिश अग्रवाल, सीपी शर्मा सदस्य रहेका छन् । यस्तै मेघा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुजेली, सार्क महिला आर्थिक मञ्चकी प्रमुख प्रमिला रिजाल आचार्य, द्वारिका होटलकी प्रमुख अम्बिका श्रेष्ठ, उद्योगपति पद्म ज्योति, एनआएनका पूर्व अध्यक्ष उपेन्द्र महत्तो, व्यवसायी वसन्त चौधरी, पर्यटन व्यवसायी तथा हवाई उद्यमी आङछिरिङ शेर्पा, कान्तिपुर मिडिया समूहका प्रमुख कैलाश सिरोहिया, सूचना प्रविधि क्षेत्रका विश्वास ढकाल, सिनेमा उद्योगका नकिम उद्दिम, उद्योगी लोकमान्य गोल्छा र चिरञ्जिवीलाल अग्रवाल सदस्य रहेका छन् ।

यस्तै परिषद्मा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष, नेपाल उद्योग परिसंघका अध्यक्ष, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष, गैरआवाशीय नेपाली संघका पूर्व अध्यक्ष जीवा लामिछाने, नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष, नेपाल घरेलु तथा साना उद्योग महासंघका निवर्तमान अध्यक्ष लता प्याकुरेल, उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघका अध्यक्ष, महिला चेम्बर अफ कमर्सका अध्यक्ष परिषद्का सदस्य रहेका छन् ।


क्लिकमान्डु