एमएलटीयो संचालनमा, छापा हान्ने कर कार्यालय उपत्यकामै १३ पुगे




काठमाडौं । सरकारले मध्यमस्तरीय करदाता कार्यालय संचालनमा ल्याएको छ । काठमाडौं उपत्यका भित्रका १,२ र ३ नम्बर कर कार्यालयलाई खारेज गर्दै मध्यमस्तरीय करदाता कार्यालय (एमएलटीओ) स्थापना गरिएको हो ।

अर्थमन्त्री डा. युवराज खतिवडाले एमएलटीओको औपचारिक उद्घाटन गरेका छन् । यसको कार्यालय बबरमहलमा छ ।

एमएलटीओले देशभरका बार्षिक २५ करोड रुपैयाँदेखि ८० करोड रुपैयाँसम्म कारोबार गर्ने सेवामुलक ब्यवसाय र उद्योग तथा ४० करोड रुपैयाँदेखि ८० करोड रुपैयाँसम्मको बार्षिक कारोबार गर्ने अन्य प्रकारका करदाता हेर्नेछ ।

बार्षिक ८० करोड रुपैयाँभन्दा बढीको कारोबार गर्ने सबै प्रकारका करदाता भने ठूला करदाता कार्यालय (एलटीओ) ले हेर्नेछ । बार्षिक कारोबार २५ लाख रुपैयाँसम्मको हुने सेवामुलक उद्योग र ब्यवसाय तथा बार्षिक ४० करोड रुपैयाँसम्मको कारोबार गर्ने अन्य प्रकारका करदाता भने आन्तरिक राजस्व कार्यालयहरुले हेर्नेछन् ।

सरकारले काठमाडौं उपत्यकाभित्रका १३ वटा करदाता सेवा कार्यालयलाई पनि आन्तरिक राजस्व कार्यालयमा रुपान्तरण गरेको छ । करदाता सेवा कार्यालयले करदातालाई सेवा प्रदान मात्रै गर्ने गरेका थिए । अब यस्ता कार्यालय आन्तरिक राजस्व कार्यालयमा परिणत भएपछि ती कार्यालयहरुले पनि कर कानुन कार्यान्वयन (इन्फोर्समेन्ट) र करदाता सेवा (सर्भिस) दुबै काम गर्नेछन् ।

कर प्रशासनको यस्तो पुनसंरचना पछि काठमाडौं उपत्यकामा कर कानुन कार्यान्वयनको लागि कर प्रशासनको संयन्त्र बलियो र ठूलो भएको छ । करदाता सेवा कार्यालयले करदाताको दर्ता, नामसारी, विवरण बुझ्ने, कर बुझ्ने लगायतका सेवामुलक काम मात्रै गर्दै आएकोमा अब आन्तरिक राजस्व कार्यालयमा परिणत भएपछि करदाताको अडिट गर्ने, छापा मार्ने, ढण्ड जरिवाना गर्ने लगायतका कारबाहीका काम पनि गर्नेछन् ।

यसअघि कर कानुन कार्यान्वयनको लागि काठमाडौं उपत्यकामा १,२ र ३ गरी तीनवटा मात्रै कर कार्यालय थिए । यी कार्यालयको खारेजी गरी एमएलटीओ स्थापना र उपत्यकामा संचालित १३ वटा करदाता सेवा कार्यालयलाई आन्तरिक राजस्व कार्यालयमा परिणत गरिएपछि यस्तो कारवाही गर्ने कर कार्यालयको संख्या अब १३ पुगेको छ ।


क्लिकमान्डु