व्यवसायीलाई उद्योगमन्त्रीको चेतावनी- कसैको दबाबमा काम गर्दिन



काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले निजी क्षेत्रका व्यवसायीहरुलाई उत्पादनमा जोड गर्न आग्रह गरेका छन् । उनले गल्ती नगरी काम गर्न व्यवसायहरुलाई आग्रह गरे ।

नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल आर्थिक पत्रकार समाजले संयुक्त रुपमा आयोजना गरेको इको टक कार्यक्रममा उनले यस्तो कुरा बताएका हुन् ।

मन्त्री यादवले केही समस्या भए छलफल गर्न आउन व्यवसायीहरुलाई आग्रह गरे । उनले भने–गल्ती गरेर प्रेसर दिन आए भने चाही म टेर्दिन ।

‘म कसैको दबाबमा काम गर्ने मान्छे हैन, सरकारले तोकेको सीमा अनुसार नाफा गर्नुस्, त्यहा समस्या हुन्छ भने म फुकाउछुँ,’ मन्त्री यादवले भने ।

मन्त्री यादव सकारात्मक नभएको भन्दै केही समय यता उद्योगी व्यवसायीहरु आफ्नो समस्याहरु लिएर सिधै प्रधानमन्त्री कहाँ जाने गरेका छन् । यही सन्दर्भलाई संकेत गर्दै उद्योगी व्यवसायीहरु माझ उनले अगाडि भने– म माथिबाट आउने दबाबमा काम गर्दिन ।

मन्त्री यादवले देश बनाउने जिम्मा उद्योगी-व्यवसायीको भएको समेत बताए । तर उनले कर्मचारी, उद्योगी, व्यवसायी कसैमा विश्वास नभएको उल्लेख गरे ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले सरकारले ३ लाख व्यक्तिलाई हरेक वर्ष रोजगार दिने भनेको छ, जसका लागि निजी क्षेत्रको सहभागिता नभएसम्म यो सपना पूरा हुन नसक्ने बताए ।

उनले सरकार मर्यादित नभएसम्म निजी क्षेत्रलाई मर्यादित बनाउनु सम्भव नभएकोमा जोड दिए । चालु आर्थिक वर्षको बजेटले उद्योगीव्यवसायीले पाउँदै आएको सुविधापनि गुमाएको उल्लेख गरे । साथै उपभोक्ता संरक्षण सम्बन्धी कानूनलाई संसोधन गर्नु पर्ने कुरामा उनले जोड दिएका थिए ।

यसैगरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले गुणस्तरीय वस्तु मात्र उत्पादन गर्नेतर्फ उद्योगी व्यवसायी केन्द्रित हुनु पर्नेमा जोड दिए ।

कार्यक्रम नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष भवानी राणाको अध्यक्षतामा भएको थियो ।


क्लिकमान्डु