४० अर्बको लगानीमा मुक्तिनाथ मन्दिर जान ८२.६५ किलोमिटर लामो केबलकार बन्ने



काठमाडौं । मुक्तिनाथ मन्दिर जानको लागि केबलकारको निर्माण हुने भएको छ ।

लगानी बोर्ड र मुक्तिनाथ केबलकार सिस्टमबीच ८२.६५ किलोमिटर दुरीको केबलकार बनाउने सम्बन्धमा सम्झौता भएको हो ।

सम्झौतामा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र मुक्तिनाथ केबलकार सिस्टमका अध्यक्ष अरुणकुमार सुवेदीले हस्ताक्षर गरे ।

परियोजनाको लागि ३५ करोड अमेरिकी डलर रहेको छ । यो भनेको आजको विनिमयदरमा ४० अर्ब रुपैयाभन्दा बढी रकम हो ।

बिरेठाटीदेखि घोरेपानी,घोरेपानीदेखि तातोपानी, तातोपानीदेखि लेते मार्फा,ट्रान्जिटदेखि जोमसोम,जोमसोमदेखि कागवेनी र कागवेनीदेखि मुक्तिनाथ गरेर ६ वटा स्टेशन केबलकारमा हुने छन् ।

कम्पनीले सम्झौता भएको १८ महिनाभित्रमा विस्तृत परियोजना अध्ययन प्रतिवेदन दिनुपर्ने छ । यो केबलकार निर्माण भएमा नेपालको सबैभन्दा लामो केबलकार हुने छ ।

यो केवलकार व्यवसायिक र प्राविधिक दृष्टिकोणले संभाव्य भएमा लगानीको कुनैपनि समस्या नभएको कम्पनीका अध्यक्ष अरुण सुवेदीले जानकारी दिए ।

‘डीपीआर गरेपछि मात्रै यो आयोजना संभाव्य छ कि छैन भन्ने टुंगो लाग्छ, हामी २५/३० करोड रुपैयाँ खर्च गरेर डीपीआर तयार पार्छौं,’ सुवेदीले क्किमाण्डूसँग भने, ‘आयोजना संभाव्य देखिएमा लगानीका लागि कुनै पनि समस्या हुँदैन ।’

यो आयोजनामा विदेशी लगानी रहने उनले जानकारी दिए ।


क्लिकमान्डु