डेरावाललाई निकालेपछि ३ महिनासम्म कसैलाई भाडामा राख्न नपाइने, यस्ता छन् अरू ब्यवस्था
काठमाण्डौ । अब घरधनीले घर बहालमा दिंदा उपलब्ध भएसम्म पानी तथा विजुलीको आपूर्ति र ढल निकास तथा सरसफाईको व्यवस्था गर्नु पर्ने भएको छ ।
सरकारले यही भदौ १ गतेबाट लागू गर्न लागेको मुलुकी देवानी (संहिता) ऐन २०७४ ले यस्तो ब्यवस्था गरेको हो ।
नयाँ ऐन अनुसार बहालमा दिएको घरको कानून बमोजिम लाग्ने कर लगायत अन्य दस्तुर बुझाउनु पर्ने दायित्व घरधनीको हुनेछ । बहालमा दिएको घरको आवश्यक मर्मत सम्भार गर्ने दायित्व भने बहालमा लिने व्यक्तिको हुनेछ ।
घर धनी आफैँलाई घर आवश्यक भएमा वा घरबाट मानिस हटाई घरको मर्मत सम्भार गर्नु परेमा घरधनीले वाहालवालालाई हटाउन सक्ने ब्यवस्था ऐनमा छ । तर यसरी घरधनीले बहालमा लिएको व्यक्तिलाई हटाएमा त्यस्ता घर आफूले प्रयोग नगरी ३ महिनासम्म अन्य व्यक्तिलाई बहालमा दिन भने पाउने छैन ।
घर बहालको अवधि पाँच वर्षमा नबढाई सम्झौतामा उल्लेख गरे बमोजिम हुनेछ । तर, व्यापारिक प्रयोजनका लागि घर बहाल दिएमा सम्झौतामा उल्लेख भए बमोजिम हुने ऐनमा उल्लेख छ ।
घर लिने कुनै व्यक्ति बिना सूचना तीन महिना वा सोभन्दा बढी अवधिसम्म बहाल रकम नबुझाई बेपत्ता भएमा र त्यस्तो ब्यक्तिलाई सार्वजनिक रूपमा सूचना गर्दा वा निजको ठेगानामा पत्राचार गर्दा पनि फेला नपरेमा वा फेला परेपनि निज वा निजका कुनै हकवाला वा प्रतिनिधि उपस्थित नभएमा घरधनीले स्थानीय तहको सम्बन्धित वडा कार्यालयमा त्यस्तो व्यहोराको निवेदन दिएर घर खाली गर्न सक्नेछ ।
घर बहालमा दिंदा वा लिंदा के–के गर्न पाइन्छ वा पाइदैन, नयाँ व्यवस्थाको पूर्ण पाठ यसप्रकार छ:
मुलुकी देवानी (संहिता) ऐन, २०७४
परिच्छेद–९
घर बहाल सम्बन्धी व्यवस्था
३८३. बहालमा दिएको मानिनेः कसैले आफ्नो हक, भोग वा स्वामित्वमा रहेको घर रकम लिने गरी निश्चित समयको लागि कुनै व्यक्तिलाई उपयोग गर्न दिएकोमा बहालमा दिएको मानिनेछ । स्पष्टीकरण ः यस परिच्छेदको प्रयोजनको लागि “घर” भन्नाले कुनै घर, घरको तल्ला, एकाई, कोठा वा त्यस्तो घरले चर्चेको जग्गा वा लगापात समेत सम्झनु पर्छ ।
३८४. असुरक्षित घर बहालमा दिन, लिन नहुनेः (१) कसैले पनि मानव बसोबास गर्नको लागि स्वास्थ्य तथा सुरक्षाको दृष्टिले बसोबास गर्न उपयुक्त नदेखिएको घर बहालमा दिन वा लिन हुँदैन । (२) गोदाम, पशुपालन, भण्डार, शीत भण्डार जस्ता गैरआवासीय प्रयोजनको घरको गुणस्तर घर बहाल सम्झौतामा उल्लेख गरे बमोजिम हुनेछ ।
३८५. घर बहालको अवधिः (१) घर बहालको अवधि पाँच वर्षमा नबढाई सम्झौतामा उल्लेख गरे बमोजिम हुनेछ । तर व्यापारिक प्रयोजनका लागि घर बहाल दिएकोमा सम्झौतामा उल्लेख भए बमोजिम हुनेछ । (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि घर बहालको अवधि समाप्त भएपछि घर बहालमा लिने दिने व्यक्तिहरूको सहमतिमा त्यस्तो अवधि पटक पटक थप गर्न सकिनेछ ।
३८६. बहालमा दिँदा सम्झौता गर्नु पर्नेः (१) कुनै व्यक्तिले घर बहालमा दिँदा देहायका कुराहरू खुलाई बहालमा लिने व्यक्तिसँग लिखित सम्झौता गर्नु पर्नेछ:–
(क) घर बहाल लिने र दिने व्यक्तिको पूरा नाम र ठेगाना, नागरिकता नम्बर र विदेशी भए राहदानी वा परिचय खुल्ने प्रमाणपत्र,
(ख) घर रहेको ठाउँ र जग्गाको कित्ता नम्बर,
(ग) बहालमा लिने प्रयोजन,
(घ) बहाल शुरु हुने मिति,
(ङ) बहाल कायम रहने अवधि,
(च) मासिक बहाल रकम,
(छ) बहाल बुझाउने समय र प्रक्रिया,
(ज) घरमा प्रयोग भएका विजुली, खानेपानी, टेलिफोन आदिको महसुल बुझाउने दायित्व,
(झ) घर बहाल कर भुक्तानी गर्ने कुरा,
(ञ) बहालमा लिएको घरको बीमा गर्नु पर्ने भए सो सम्बन्धी कुरा,
(ट) बहालमा लिएको घर छाड्ने तथा बहालमा बसेको व्यक्तिलाई हटाउने सम्बन्धी कुरा बहालमा लिएको घर अन्य व्यक्तिलाई बहालमा दिन पाउने वा नपाउने कुरा,
(ड) अन्य आवश्यक कुराहरू ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि मासिक बीस हजार रूपैयाँसम्मको घर बहालमा लिन दिन बहाल लिने व्यक्तिसँग लिखित सम्झौता गर्नु पर्ने छैन ।
(३) उपदफा (१) बमोजिमको सम्झौताको लिखतमा बहाल बस्ने व्यक्तिको फोटो समेत टाँस गर्नु पर्नेछ ।
(४) उपदफा (१) बमोजिमको सम्झौताको लिखतमा बहालमा लिने दिने व्यक्ति र दुवै पक्षका कम्तीमा दुई जना साक्षीको सहीछाप गरी त्यस्तो लिखतको एक एक प्रति बहालमा लिने दिने व्यक्तिले लिनु पर्नेछ ।
(५) उपदफा (४) बमोजिमको प्रक्रिया पूरा गरेपछि बहाल सम्बन्धमा घरधनी र बहालमा लिने व्यक्तिबीच सम्झौता भएको मानिनेछ ।
३८७. घरको विवरण दिनु पर्नेः कसैले कुनै घर बहालमा दिँदा त्यस्तो घरको बनौट सम्बन्धमा कुनै कमजोरी वा त्रुटि भए त्यसको विवरण घर बहालमा लिने व्यक्तिलाई सम्झौता गर्दाका बखत दिनु पर्नेछ ।
३८८. मालसामान वा वस्तुको विवरण तयार गर्नु पर्नेः (१) घर धनीले आफ्नो घर बहालमा दिनु अघि बहालमा दिने घरमा रहे भएका मालसामान वा वस्तुको विवरण तयार गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम तयार गरिएको विवरणमा उल्लिखित मालसामान वा वस्तु बहालमा लिने व्यक्तिले प्रयोग गर्ने भएमा त्यस्तो मालसामान वा वस्तु बुझी त्यसको भरपाई घरधनीलाई दिनु पर्नेछ ।
३८९. घरधनीको दायित्वः घर बहालमा दिने घरधनीको दायित्व देहाय बमोजिम हुनेछ ः– (क) बहालमा बस्ने व्यक्तिलाई सम्झौता बमोजिम घर उपयोग गर्न दिनु पर्ने,
(ख) सम्झौतामा अन्यथा उल्लेख भएकोमा बाहेक बहालमा दिएको घरमा उपलब्ध भएसम्म पानी तथा विजुलीको आपूर्ति र ढल निकास तथा सरसफाइको व्यवस्था गर्नु पर्ने,
(ग) बहालमा बस्ने व्यक्तिलाई त्यस्तो घरमा बस्ने अन्य व्यक्तिबाट असुरक्षा, हैरानी वा अशान्ति हुनबाट रोक्ने,
(घ) सम्झौतामा उल्लिखित अन्य कुराहरू पालना गर्ने ।
३९०. बहालमा लिने व्यक्तिको दायित्वः बहालमा लिने व्यक्तिको दायित्व देहाय बमोजिम हुनेछ ः– (क) निर्धारित समयमा घरधनीलाई बहालको रकम भुक्तानी गर्नु पर्ने,
(ख) बहालमा लिएको घर आफ्नो घर सरह मानी सरसफाइ, उचित र मनासिब तवरले हेरचाह, संरक्षण तथा सुरक्षा गर्नु पर्ने,
(ग) आफू बहालमा रहेको घरका अन्य व्यक्ति वा छिमेकीलाई अशान्ति, हैरानी वा असुरक्षा हुने जस्ता कुनै काम गर्न नहुने,
(घ) सम्झौतामा उल्लिखित अन्य कुराहरू पालन गर्ने ।
३९१. बहाल बुझाउने तरिका र प्रक्रियाः (१) बहालमा लिने व्यक्तिले सम्झौतामा लेखिएको तरिका र प्रक्रिया बमोजिम घरधनीलाई बहाल बुझाउनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम बहाल बुझाउने सम्बन्धमा सम्झौतामा कुनै तरिका र प्रक्रिया उल्लेख नभएकोमा बहालमा लिने व्यक्तिले प्रत्येक महिना भुक्तान भएको सात दिनभित्र घरधनीलाई बहाल बुझाउनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम बहाल बुझाउँदा चेक वा नगदै रूपमा बुझाउन सकिनेछ ।
(४) यस दफा बमोजिम घरधनीले नगदै बहाल बुझेकोमा त्यसको भरपाई गरी बहाल बुझाउने व्यक्तिलाई दिनु पर्नेछ ।
३९२. कर तथा अन्य दस्तुर बुझाउने दायित्वः (१) सम्झौतामा अन्यथा उल्लेख भएकोमा बाहेक बहालमा दिएको घरको कानून बमोजिम लाग्ने कर लगायत अन्य दस्तुर बुझाउनु पर्ने दायित्व घरधनीको हुनेछ ।
(२) उपदफा (१) बमोजिम घरधनीको कर वा दस्तुर बुझाउने दायित्व भएमा र निजले समयमा कर वा दस्तुर नबुझाएमा बहालमा लिने व्यक्तिले त्यस्तो कर वा दस्तुर आफैँले बुझाउन सक्नेछ ।
(३) उपदफा (२) बमोजिम बहालमा लिने व्यक्तिले कर वा दस्तुरको रकम बुझाएकोमा निजले घरधनीसँग त्यस्तो रकम बहाल दिँदा कटाउन पाउनेछ ।
३९३. घरको बीमा गराउनु पर्नेः (१) औद्योगिक वा व्यावसायिक प्रयोजनको लागि घर बहालमा लिने व्यक्तिले त्यस्तो घरको सुरक्षाको लागि घरको बीमा गराउनु पर्नेछ ।
स्पष्टीकरणः यस परिच्छेदको प्रयोजनको लागि “औद्योगिक वा व्यावसायिक प्रयोजन” भन्नाले कुनै उद्योग सञ्चालन गर्ने वा डिपार्टमेन्टल स्टोर वा एक वा एकभन्दा बढी पसल राखी व्यापार वा व्यवसाय गर्ने कार्य सम्झनु पर्छ ।
(२) उपदफा (१) बमोजिम बीमा गराउनु पर्ने दायित्व भएको व्यक्तिले घरको बीमा नगराएमा र सो घर विपद्, अशान्ति, हुलदङ्गा, आगजनी जस्ता कारणबाट क्षति हुन गएमा त्यसको जिम्मेवारी घर बहालमा लिने व्यक्तिले व्यहोर्नु पर्नेछ ।
३९४. बहालमा लिएको घरको मर्मत तथा सम्भारः (१) सम्झौतामा अन्यथा उल्लेख भएकोमा बाहेक बहालमा दिएको घरको आवश्यक मर्मत सम्भार गर्ने दायित्व बहालमा लिने व्यक्तिको हुनेछ ।
(२) सम्झौतामा बहालमा लिएको घरको मर्मत सम्भार घरधनीले गर्ने कुरा उल्लेख भएमा र बहालमा लिएको कुनै घरको मर्मत सम्भार गर्नु पर्ने भएमा बहालमा लिने व्यक्तिले समयमा नै घरधनीलाई लिखित सूचना गर्नु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम सूचना गर्दा पनि घरधनीले बहालमा दिएको घरको मर्मत सम्भार नगरेमा बहालमा बसेको व्यक्तिले त्यस्तो घरको आफैँले मर्मत सम्भार गर्न सक्नेछ ।
(४) उपदफा (३) बमोजिम घरको मर्मत सम्भार गर्दा लागेको बिल बमोजिमको रकम बहालमा बस्ने व्यक्तिले घर धनीलाई दिनु पर्ने बहाल रकमबाट कटाई लिन पाउनेछ ।
(५) उपदफा (३) बमोजिम घरको मर्मत, सम्भार गर्दा घरधनी र बहालमा बस्ने व्यक्तिबीच त्यस सम्बन्धमा छुट्टै सहमति भएकोमा बाहेक मर्मत सम्भार गर्नु अघि बहालमा लिने व्यक्तिले मर्मत, सम्भारको लागत अनुमान तयार गरी घरधनीलाई पन्ध्र दिन अघि नै लिखित जानकारी गराउनु पर्नेछ ।
३९५. बहालमा लिएको घर अर्को व्यक्तिलाई बहालमा दिन सक्नेः (१) घरधनीसँग सम्झौता हुँदा आफूले बहालमा लिएको घर वा त्यसको कुनै अंश अन्य व्यक्तिलाई पुनः बहालमा दिन सक्ने कुरा उल्लेख भएकोमा बहालमा लिने व्यक्तिले त्यस्तो घर वा त्यसको कुनै अंश अन्य व्यक्तिलाई सम्झौताको अधीनमा रही बहालमा दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम बहालमा लिने व्यक्तिले घर वा त्यसको कुनै अंश अन्य व्यक्तिलाई बहालमा दिएकोमा त्यसरी बहालमा लिने व्यक्तिको नाम र ठेगाना १५ दिनभित्र घरधनीलाई लिखित रूपमा दिनु पर्नेछ ।
(३) उपदफा (१) बमोजिम घर बहालमा लिने व्यक्तिले आफूले लिएको घर वा त्यसको कुनै अंशको बहाल त्यसरी बहालमा राख्ने व्यक्तिलाई बुझाउनु पर्नेछ ।
(४) उपदफा (१) बमोजिम बहालमा लिएको व्यक्तिले बहालमा बस्दा यस परिच्छेद बमोजिम बहालवालाले पालना गर्नु पर्ने सबै शर्त र व्यवस्था पालन गर्नु पर्नेछ ।
(५) उपदफा (१) बमोजिम बहालमा लिएको व्यक्तिले बहालमा बस्दा शर्त बमोजिम काम नगरेमा, निजले बहालमा लिएको घरको सरसफाई, संरक्षण वा सुरक्षा नगरेमा वा निजले बहालमा बस्ने अन्य व्यक्ति वा छिमेकीलाई हैरानी, दुःख वा अशान्ति हुने कुनै काम गरेमा बहालमा दिने व्यक्तिले निजलाई जुनसुकै बखत घरबाट हटाउन सक्नेछ ।
३९६ स्वीकृति बिना संरचना हेरफेर गर्न नहुनेः (१) सम्झौतामा अन्यथा उल्लेख भएकोमा बाहेक घर बहालमा लिने व्यक्तिले घर धनीको लिखित स्वीकृति बिना बहालमा लिएको घरको कुनै संरचना भत्काउन, हटाउन, बिगार्न वा घरमा कुनै भाग थप गर्न वा अन्य कुनै किसिमले हेरफेर गर्न पाउने छैन ।
(२) उपदफा (१) विपरीत कुनै काम गरी बहालमा लिएको व्यक्तिले घरधनीलाई कुनै नोक्सानी पु¥याएमा घरधनीले बहालमा बस्ने व्यक्तिबाट आफूलाई परेको नोक्सानीको क्षतिपूर्ति भराई लिन पाउनेछ ।
३९७. सम्झौता विपरीत घर प्रयोग गर्न नहुनेः बहालमा लिने व्यक्तिले घरधनीको पूर्वस्वीकृति विना जुन प्रयोजनको लागि घर बहालमा लिएको हो त्यस्तो प्रयोजन बाहेक अन्य कामको लागि घर प्रयोग गर्न पाउने छैन ।
३९८. सम्झौता हेरफेर गर्न सक्नेः बहालमा लिने दिने व्यक्तिले आपसी समझदारीमा घर बहाल सम्झौतालाई आवश्यक हेरफेर गर्न सक्नेछन् । तर त्यस्तो सम्झौता यस ऐन बमोजिम रजिष्ट्रेशन पारित भएको रहेछ भने सम्बन्धित निकायमा निवेदन दिई हेरफेर गर्नु पर्नेछ ।
३९९. निरीक्षण गर्न सक्नेः (१) घरधनीले बहालमा लिने व्यक्तिलाई अग्रिम जानकारी दिई बहालमा दिएको घरको समय समयमा निरीक्षण गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम घरधनीले बहालमा दिएको घर निरीक्षण गर्न चाहेमा निजलाई निरीक्षण गर्न दिनु बहालमा लिने व्यक्तिको कर्तव्य हुनेछ ।
४००. बहालमा लिएको घर छाड्न सक्नेः (१) बहालमा लिने व्यक्तिले देहायका कुनै अवस्थामा घर बहालको अवधि समाप्त नहुँदै बहालमा लिएको घर छाड्न सक्नेछ:–
(क) घरधनीले दफा ३८९ बमोजिम आफ्नो दायित्व पूरा नगरेमा,
(ख) जुन प्रयोजनको लागि घर बहालमा लिएको हो त्यस्तो कामको लागि निजलाई घर नचाहिने भएमा,
(ग) घरधनीले सम्झौता वा यस परिच्छेद विपरीत कुनै काम गरेमा ।
(२) उपदफा (१) को खण्ड (ख) बमोजिमको अवस्थामा बहालमा लिने व्यक्तिले घर छाड्नु परेमा सम्झौतामा अन्यथा उल्लेख भएकोमा बाहेक कम्तीमा ३५ दिन अगावै घरधनीलाई लिखित रूपमा सूचना दिनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम सूचना नदिई बहालमा लिने व्यक्तिले घर छाडेमा घरधनीले त्यस्तो समयको घरको बहालको रकम बहालमा बस्नेले अग्रिम दिएको भए त्यसबाट कट्टा गर्न र नदिएको भए निजबाट भराई लिन पाउनेछ ।
४०१. बहालमा लिने व्यक्तिलाई हटाउन सक्नेः (१) देहायका कुनै अवस्थामा घरधनीले बहालमा लिने व्यक्तिलाई घरबाट हटाउन सक्नेछ:– (क) बहालमा बस्ने व्यक्तिले दफा ३९० बमोजिम आफ्नो दायित्व पूरा नगरेमा,
(ख) बहालमा बस्ने व्यक्तिले बहालमा लिएको घरभित्र कानूनले निषेध गरेको कसूरजन्य कुनै क्रियाकलाप गरेमा,
(ग) घर धनी आफैँलाई घर आवश्यक भएमा,
(घ) घरबाट मानिस हटाई घरको मर्मत सम्भार गर्नु परेमा,
(ङ) प्राविधिक तथा स्वास्थ्यका दृष्टिले बहालमा दिएको घरमा मानिस बसोबास गर्न उपयुक्त नदेखिएमा,
(च) घर बहालको अवधि समाप्त भएमा,
(छ) बहालमा बस्ने व्यक्तिले सम्झौता वा यस परिच्छेद विपरीत कुनै काम गरेमा,
(ज) दफा ३९५ को उपदफा (५) को अवस्था कायम भएमा ।
(२) उपदफा (१) को खण्ड (ग) बमोजिमको अवस्थामा बहालमा लिएको व्यक्तिलाई घरबाट हटाउनु परेमा घरधनीले कम्तीमा ३५ दिनको अग्रिम लिखित सूचना दिनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम घरधनीले बहालमा लिएको व्यक्तिलाई हटाएकोमा त्यस्ता घर आफूले प्रयोग नगरी तीन महिनासम्म अन्य व्यक्तिलाई बहालमा दिन पाउने छैन ।
(४) उपदफा (३) बमोजिम घरधनीले त्यस्तो घर ३ महिनाभित्र अन्य व्यक्तिलाई बहालमा दिने भएमा र पहिला बहालमा लिने व्यक्तिले त्यस्तो घर बहालमा लिन चाहेमा निजले प्राथमिकता पाउनेछ ।
४०२. घर बहालको सम्झौता समाप्त भएको मानिनेः देहायको कुनै अवस्थामा दफा ३८६ बमोजिम गरेको घर बहालको सम्झौता समाप्त भएको मानिनेछ:–
(क) बहालमा लिने व्यक्तिले घर छाडेमा,
(ख) घरधनीले बहालमा बस्ने व्यक्तिलाई घरबाट हटाएमा,
(ग) बहालमा लिने, दिने व्यक्तिले आपसी सहमतिमा सम्झौता रद्द गरेमा,
(घ) घर बहालको अवधि समाप्त भएमा ।
४०३. मालसामान वा वस्तु दुरुस्त बुझाउनु पर्नेः (१) बहालमा लिने व्यक्तिले आफूले लिएको घर बहालबाट छाड्दा आफ्नो जिम्मामा रहेको मालसामान वा वस्तु गन्ती गरी तथा घर सफा वा रङ्गरोगन गर्नु पर्ने भए सो समेत गरी घरधनीलाई दुरुस्त बुझाउनु पर्नेछ ।
(२) घर बहालमा लिने व्यक्तिले आफ्नो जिम्माको कुनै मालसामान वा वस्तु हराएमा वा हानि, नोक्सानी गरेमा त्यस्तो मालसामान वा वस्तु वा सो मालसामान वा वस्तुको प्रचलित मूल्य बमोजिमको रकम बहालमा लिने व्यक्तिले घरधनीलाई दिनु पर्नेछ ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि दैनिक प्रयोग गर्दा खिइने वा नष्ट हुने मालसामान वा वस्तुको शोधभर्ना गर्न वा त्यस्तो मालसामान वा वस्तुको रकम दिन बहालमा लिने व्यक्ति बाध्य हुने छैन ।
४०४. घर खाली गराउन सक्नेः (१) यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि घर लिने कुनै व्यक्ति बिना सूचना ३ महिना वा सोभन्दा बढी अवधिसम्म बहाल रकम नबुझाई बेपत्ता भएमा र निजलाई सार्वजनिक रूपमा सूचना गर्दा वा निजको ठेगानामा पत्राचार गर्दा पनि फेला नपरेमा वा फेला परे पनि निज वा निजका कुनै हकवाला वा प्रतिनिधि उपस्थित नभएमा घरधनीले स्थानीय तहको सम्बन्धित वडा कार्यालयमा त्यस्तो व्यहोराको निवेदन दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम निवेदन परेमा सम्बन्धित वडा कार्यालयले १५ दिनको सूचना दिई बहालवालालाई उपस्थित हुन सार्वजनिक सूचना गर्नेछ ।
(३) उपदफा (२) बमोजिमको सूचना प्रकाशन भएकोमा बहालवाला व्यक्ति त्यस्तो अवधिभित्र उपस्थित हुनु पर्नेछ ।
(४) उपदफा (३) बमोजिमको अवधिभित्र त्यस्तो व्यक्ति उपस्थित नभएमा सम्बन्धित वडा कार्यालयले बहालमा रहेको घर खोली मालसामान आफ्नो वा कुनै मानिसको जिम्मा रहने गरी घर खाली गराउन सक्नेछ ।
(५) उपदफा (१) बमोजिम बेपत्ता भएको मानिस ६ महिनाभित्र फर्की आएमा वा आफ्नो कुनै प्रतिनिधि पठाएमा सम्बन्धित वडा कार्यालयले बहाल वापतको बाँकी रकम लिई मालसामान निजलाई फिर्ता दिनु पर्नेछ ।
(६) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि स्थानीय तहको सम्बन्धित वडा कार्यालयमा निवेदन परेको १ महिनाभित्र पनि त्यस्तो कार्यालयले कुनै कारबाही नगरेमा सम्बन्धित घरधनी आफैँले सम्वन्धित वडा कार्यालय र नजिकको प्रहरी कार्यालयमा निवेदन दिई प्रहरी कर्मचारी र कम्तीमा दुईजना स्थानीय व्यक्तिलाई साक्षी राखी लिखत खडा गरीे घर खोली निजको मालसामान प्रहरीको जिम्मा दिनु पर्नेछ ।
४०५. हदम्यादः यस परिच्छेद बमोजिम भए गरेको काम कारबाहीबाट मर्का पर्ने व्यक्तिले त्यस्तो काम कारबाही भए गरेको मितिले छ महिनाभित्र नालिस गर्न सक्नेछ ।