उपत्यकाको हाउजिङ बजार कस्तो छ ? अध्ययन प्रतिबेदन यस्तो आयो



काठमाडौं । नेपाली रियल इस्टेट क्षेत्रमा विगत १ दशकदेखि सक्रिय कम्पनी बृहत ग्रूपले काठमाडौं उपत्यकाको हाउजिङ बजार सम्बन्धमा  विस्तृत अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरेको छ । बृहतले यसअघि पनि सन् २०१२ मार्च र सन् २०१५ अप्रिलमा उपत्यकाको हाउजिङ बजार सम्बन्धी यस्तै अध्ययन प्रतिवेदन सार्वजनिक गरेको थियो ।

रियल इस्टेट क्षेत्र सम्बन्धी विभिन्न किसिमका अध्ययन–अनुसन्धानमा ख्याति कमाएका अन्तर्राष्ट्रिय रियल इस्टेट विज्ञ डा. सोपोन पोर्न चोक्चाईको नेतृत्वमा बृहत ग्रूपले यो अनुसन्धान गरी प्रतिवेदन तयार पारेको हो ।

‘आउटलुक अफहाउजिङ मार्केट अफ काठमाडौं २०१८–२०१९’ नाम दिइएको सो अध्ययन प्रतिवेदन काठमाडौंको सांग्रिला होटलमा एक कार्यक्रम आयोजना गरी सार्वजनिक गरिएको हो ।

कार्यक्रममा डा. सोपोन सहित विकास तथा भवन निर्माण विभागकी उप–महानिर्देशक सरिता श्रेष्ठ मास्के, बैंकर्स संघका पूर्वअध्यक्ष तथा सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारी, सहरी विकास मन्त्रालयका पूर्व सहसचिव ओम धर्मानन्द राजोपाध्य लगायतले प्रतिवेदनमाथि टिप्पणी गर्नु भएको थियो ।

प्रतिवेदको सारांस
काठमाडौं । हाउजिको बजार अवस्था सम्बन्धी यो अनुसन्धान सन् २०१८ को मार्च १७ देखि २३ सम्म गरिएको हो । सो अवधिमा हाउजिङ कम्पनी तथा परियोजनाहरु, सम्बन्धित सरकारी निकायहरु अन्य सरोकारवाला संघसंस्था तथा व्यक्तिहरु, उपभोक्ता इत्यादि लगायतसँग अध्ययन टोलीले प्रत्यक्ष भेटेर प्रश्नावली तथा विभिन्न सर्वेका विधिहरुको प्रयोग गरी सूचना तथा जानकारी, तथ्य इत्यादि संकलन गरी सोलाई विभिन्न टुल्स तथा प्रणालीहरुको प्रयोग मार्फत विश्लेषण गरेर प्रतिवेदनलाई स्वरुप दिइएको हो ।

अध्ययनमा काठमाडौं उपत्यका भित्र रहेका मध्ये ४३ आवास (हाउजिङ तथा अपार्टमेन्ट) परियोजनाहरुलाई समेटिएको थियो । जसमा २०७२ बैशाखको भूकम्पअघि आएका २३ र भूकम्पपछि बनेका २० आवास परियोजनाहरुबाट रिसर्चको स्याम्पलिङ गरिएको हो ।

यसबाट आवास विकासकर्ता कम्पनीहरु मार्फत कुल ५४१९ आवास इकाइहरु निर्माण भएको देखिएको छ । यी आवास इकाईको कूल मूल्य ८ खर्ब २८ अर्ब रुपैयाँ बराबर रहेको छ । हाल १०९० इकाई मात्र विक्री हुन बाँकी देखिएको छ । यसमध्ये ५४१ इकाइ छुट्टाछुट्टै घर हुन् भने बाँकी अपार्टमेन्ट । सरदर महिनामा कूल इकाइको ३.१ प्रतिशत इकाइ बिक्री भएको अध्ययनबाट देखिएको छ । यस दृष्टिले अब कुनै नयाँ आवास परियोजना नआए बाँकी आवास इकाई अबको ६ देखि ७ महिनाका लागि मात्र पुग्ने देखिन्छ ।

उपत्यकामा व्यवस्थित रुपमा विकास गरिएका यस्ता आवास परियोेजनामा विक्री हुन बाँकी सबैभन्दा बढी (४० प्रतिशत) आवास इकाइ एकदेखि डेढ करोड मूल्यका छन् ।

हाउजिङ तथा अपार्टमेन्टमा गरेको लगानीको औसत वार्षिक प्रतिफल करिब साढे १२ प्रतिशत देखिन्छ । जसमा रेन्टल आयऔसत ३.२ प्रतिशत र प्रोपर्टीको मुल्यमा ९.५ प्रतिशतको वृद्धि भएको अध्ययनबाट देखिएको छ । अपार्टमेन्ट भन्दाहोचा घरहरुको मूल्य वृद्धि (प्राइस एप्रिसिएशन) अधिक हुने गरेको देखिएको छ । भूकम्पअघि घरको भन्दा अपार्टमेन्टहरुको मुल्य वृद्धि उत्साहजनकथियो भने भूकम्पपछि छुट्टै घरहरुको मुल्यमा राम्रो सुधार आएको छ ।

अध्येता डा. सोपोनको सुझाव
अध्येता डा. सोपोनले काठमाडौंका अधिकांश आवास परियोजनाहरु उच्च–मध्यम तथा उच्च आयवर्गका लागि विकास भएका औंल्याएका छन् । केही परियोजनाहरु मात्र निम्न मध्यम वर्गलाई सुहाउँदोे रहेकाले सहरीकरण अव्यवस्थित रुपमा यत्रतत्र छरिएको उनले प्रतिवेदनको निश्कर्षमा उल्लेख गरेका छन् ।

आवासलाई व्यवस्थित र अफोर्डेबल बनाउन सरकारले अवलम्बन गर्नुपर्ने केही नीतिगत सुझाव दिएका छन् । जस्तैः खेतीयोग्य जमिनलाई सहरी प्रयोजनमा बदलेर प्रयोग गर्दा उच्च कर लगाउनु पर्ने, सहरी क्षेत्रमा खाली राखिने वा राखिएका जग्गामा अधिक कर लगाउनु पर्ने लगायत उनका सुझाव रहेका छन् ।


क्लिकमान्डु