‘मुहान सफा गर्ने’ अर्थमन्त्री घोषणाको साइड इफेक्टः भन्सारमा लाग्यो मुद्दाको चाङ
काठमाडौं । विश्व ब्यापार संगठन र नेपालको विद्यमान ऐन विपरित करदातालाई पेलेर ल्याइएको भन्सारमा सन्दर्भ मूल्य कार्यान्वयन गर्ने नीतिले करदाता र कर प्रशासनबीच तीब्र विवाद बढाएको छ ।
डा. युवराज खतिवडा गत फागुनको दोस्रो साता अर्थमन्त्रीमा नियुक्त भएका थिए । उनी अर्थमन्त्री बन्ने वित्तिकै भन्सार विन्दुहरुमा सन्दर्भ मूल्यलाई कडाइका साथ कार्यान्वयन गर्ने निर्णय भयो । भन्सार विन्दुमा सन्दर्भ मूल्यलाई कडाइका साथ कार्यान्वयन गर्ने निर्णय विश्व ब्यापार संगठन र भन्सार ऐनको मर्म विपरित छ ।
तर, अर्थमन्त्री डा. खतिवडाले ‘करको मुहानै सफा गर्ने’ भन्दै भन्सारमा सन्दर्भ मूल्यलाई कडाईका साथ कार्यान्वयन गर्न भन्सार प्रशासनलाई निर्देशन दिएका छन् ।
संगठनको मर्म भन्सार विन्दुमा कारोबार मूल्यलाई आधार मानिने भन्ने छ भने नेपालले बनाएको भन्सार ऐन २०६४ मा पनि सोही ब्यवस्था छ । तर, भन्सार विभागले आन्तरिक प्रयोजनको लागि सन्दर्भ मूल्य पुस्तिका बनाएर कार्यान्वयन गर्ने गरेको थियो । अर्थमन्त्री डा. खतिवडाले सोही सन्दर्भ मूल्य पुस्तिकालाई नै आधार मानेर भन्सार महसुल निर्धारण गर्न निर्देशन दिएका हुन् ।
अर्थमन्त्रीको यस्तो निर्देशनले भन्सार विभागमा उजुरीको चाङ लागेको छ । उनी अर्थमन्त्री नियुक्त भएको महिना गत फागुनमा भन्सार विभागमा ४ वटा उजुरी परेका छन् । यस्तै फागुनमा ४९ वटा र बैशाख ९ गतेसम्ममा ३६ वटा उजुरी परिसेको विभागले जानकारी दिएको छ ।
यस्तो उजुरी भन्सार प्रशासनले तय गरेको भन्सार महसुलप्रति चित्त नबुझाएर आयातकर्ताहरुले गरेको हो । भन्सार ऐनमा भन्सार प्रशासनले तय गरेको महसुल चित्त नबुझे आयातकर्ताले विवादित रकम धरौटी राखेर भन्सार विभाग अन्तरगत रहेको भन्सार महसुल पुनराबलोकन समिति समक्ष निवेदन दिन सक्ने ब्यवस्था छ । अर्थात कुनै बस्तुको मूल्य आयातकर्ताले १५ रुपैयाँ हो भन्यो र भन्सार प्रशासनले २५ रुपैयाँ भन्यो भने आयातकर्ताले १५ रुपैयाँ भन्सार महसुल तिर्ने र बाँकी १० रुपैयाँ धरौटी राखेर पुनराबलोकनमा जान सकिने ब्यवस्था ऐनमा छ ।
ऐनको सोही ब्यवस्थामा टेकेर आयातकर्ताले समितिमा निवेदन दिएका हुन् । यस्तो निवेदन उपर भन्सार प्रशासनले न्यायिक निर्णय दिने ब्यवस्था ऐनमै छ । तर, भन्सार अधिकृतले बढी भन्सार महसुल लिए भनेर आयातकर्ताले दिएको उजुरीको पक्षमा भन्सार विभागका उच्च कर्मचारी सम्मिलित समितिले निर्णय दिने गरेका उदाहरण निकै कम भएका आयातकर्ताहरु बताउँछन् ।
पछिल्लो समयमा भन्सारमा उजुरी बढेको भन्सार विभाग स्रोतले जानकारी दियो ।
‘अरु सामान्य अबस्थामा महिनाको ८ देखि १० वटा निवेदन आउँथे, तर चैत महिनामा नै ४९ वटा निवेदन आए भने बैशाख ९ गतेसम्ममा नै ३६ वटा आइसकेका छन्, सामान्य अबस्थको तथ्यांक हेर्दा यो संख्या असाध्यै धेरै हो,’ विभाग स्रोतले भन्यो ।
विभागको पुनराबलोकन समितिले गरेको निर्णय चित्त बुझेन भने आयातकर्ताहरु राजस्व न्यायाधिकरण जान पाउने कानुनी ब्यवस्था छ । विभागमा परेका धेरै उजुरीमाथि निर्णय नभएको र उजुरी आउने क्रम छोटो समयमा नै ह्वात्तै बढेकोले विभागको समितिले धेरैै उजुरीको फैसला गर्न भ्याएको छैन । डा. युवराज खतिवडा अर्थमन्त्रीमा नियुक्त भएपछि लागू गरिएको सन्दर्भ मूल्यको विषयलाई लिएर कुनै पनि आयातकर्ता न्यायाधिकरण समक्ष पुग्ने समय भएको छैन ।
नेपालले विश्व ब्यापार संगठनको सदस्यता लिइसकेको छ । संगठनले आफ्ना सदस्य देशहरुका भन्सार विन्दुमा कारोबार मूल्यलाई प्राथमिकताका साथ कार्यान्वयन गर्ने गराउने भनेको छ । तर, नेपालले अहिले कारोबार मूल्यको साटो सन्दर्भ मूल्यलाई नै पहिलो प्राथमिकतामा राखेर कार्यान्वयन गरिरहेको छ ।
भन्सार ऐन २०६४ ले पनि सन्दर्भ मूल्यलाई असाध्यै कम प्राथमिकता दिएको छ । ऐनको दफा १३ (१) ले पैठारी हुने मालवस्तुको भन्सार मूल्य निर्धारण गर्दा विश्व व्यापार सङ्गठनको भन्सार महसुल तथा व्यापार सम्बन्धी सामान्य सम्झौता (जनरल एग्रिमेन्ट अन टेरिफ्स एण्ड टे«ड) १९९४ को धारा ७ कार्यान्वयन गर्नको लागि सम्पन्न भएको सम्झौतामा उल्लिखित भन्सार मूल्याङ्कन सम्बन्धी नियमहरु, अनुसूची र व्याख्या अवलम्बन गरिनेछ भनेको छ ।
ऐनको ब्यवस्था जस्ताको तस्तै
परिच्छेद–५
भन्सार मूल्य निर्धारण सम्बन्धी व्यवस्थाः १३. पैठारी हुने मालवस्तुको भन्सार मूल्य निर्धारण गर्ने आधार मालवस्तुको भन्सार मूल्य निर्धारण गर्ने आधार:
(१) पैठारी हुने मालवस्तुको भन्सार मूल्य निर्धारण गर्दा विश्व व्यापार सङ्गठनको भन्सार महसुल तथा व्यापार सम्बन्धी सामान्य सम्झौता (जनरल एग्रिमेन्ट अन टेरिफ्स एण्ड टे«ड) १९९४ को धारा ७ कार्यान्वयन गर्नको लागि सम्पन्न भएको सम्झौतामा उल्लिखित भन्सार मूल्याङ्कन सम्बन्धी नियमहरु, अनुसूची र व्याख्या अवलम्बन गरिनेछ ।
(२) पैठारी गरिने मालवस्तुको भन्सार मूल्य उपदफा (१) को अधीनमा रही त्यस्तो मालवस्तुको कारोबार मूल्यको आधारमा निर्धारण गरिनेछ ।
(३) पैठारीकर्ताले आपूmले पैठारी गरेको मालवस्तुको मूल्य प्रमाणित गर्ने विवरण तथा कागजात संलग्न गरी कारोबार मूल्य घोषणा गर्नु पर्नेछ ।
(४) पैठारीकर्ताले उपदफा (३) बमोजिम घोषणा गरेको कारोबार मूल्य उपदफा (१) अनुरुपको भएमा भन्सार अधिकृतले त्यस्तो कारोबार मूल्यको आधारमा मालवस्तुको भन्सार मूल्य निर्धारण गर्नेछ । त्यस्तो कारोबार मूल्यमा भाडा, बीमा तथा अन्य सम्वद्ध खर्च समावेश भएको नदेखिएमा भन्सार अधिकृतले सोका लागि लाग्न सक्ने अनुमानित रकम जोडी कारोबार मूल्य निर्धारण गर्नेछ ।
(५) उपदफा (४) बमोजिमको अनुमानित रकम कायम गर्ने आधार महानिर्देशकले तोक्न सक्नेछ ।
(६) पैठारीकर्ताले उपदफा (३) बमोजिम घोषणा गरेको मूल्य शङ्कास्पद छ भन्ने विश्वास गर्नु पर्ने मनासिब कारण भएमा भन्सार अधिकृतले निजसँग त्यस्तो मूल्य वास्तविक कारोबार मूल्य हो भनी प्रमाणित गर्ने थप कागजात वा प्रमाण लिखित रुपमा माग गर्न सक्नेछ । त्यसरी माग भएका कागजात उपलब्ध गराउने जिम्मेवारी त्यस्तो पैठारीकर्ताको हुनेछ ।
(७) पैठारीकर्ताले उपदफा (३) बमोजिम घोषणा गरेको कारोबार मूल्य वा पेश गरेको बील, बीजक र कागजातका आधारमा कुनै मालवस्तुको भन्सार मूल्य निर्धारण हुन नसकेमा त्यसको कारण सहितको सूचना भन्सार अधिकृतले सम्बन्धित पैठारीकर्तालाई दिनु पर्नेछ ।
(८) उपदफा (२) बमोजिम कारोबार मूल्यका आधारमा भन्सार मूल्य निर्धारण गर्न नसकिएमा त्यस्तो मालवस्तुको भन्सार मूल्य त्यस्तो मालवस्तु पैठारी हुनुभन्दा पहिले नेपालमा पैठारी भइसकेको समरुपको मालवस्तु (आइडेण्टिकल गुड्स) को कारोबार मूल्यको आधारमा निर्धारण गरिनेछ ।
स्पष्टीकरण : यस दफाको प्रयोजनको लागि “समरुपका मालवस्तु (आइडेण्टिकल गुड्स)” भन्नाले बनौट, गुण, प्रकृति र विशेषता लगायत सम्पूर्ण कुरा एकै किसिमको भएको मालवस्तु सम्झनु पर्छ ।
(९) उपदफा (८) बमोजिम समरुपको मालवस्तुको कारोबार मूल्यको आधारमा भन्सार मूल्य निर्धारण गर्न नसकिएमा त्यस्तो मालवस्तुको भन्सार मूल्य नेपालमा पहिले पैठारी भएको मिल्दोजुल्दो मालवस्तु (सिमिलर गुड्स) को कारोबार मूल्यको आधारमा निर्धारण गरिनेछ । स्पष्टीकरण : यस दफाको प्रयोजनको लागि “मिल्दोजुल्दो मालवस्तु (सिमिलर गुड्स)” भन्नाले सबै कुरामा उस्तै नभएका तर उस्तै बनौट सामग्रीको अंश र उस्तै उस्तै विशेषता भएको कारणले गर्दा उस्तै काम गर्न सक्ने र व्यापारिक रुपमा साटफेर हुन सक्ने मालवस्तु सम्झनु पर्छ ।
(१०) उपदफा (९) बमोजिम मिल्दोजुल्दो मालवस्तुको कारोबार मूल्यको आधारमा भन्सार मूल्य निर्धारण गर्न नसकिएमा त्यस्तो मालवस्तु अघि नै नेपालमा पैठारी भई बजारमा पैठारीकर्तासँग असम्बन्धित व्यक्तिलाई बिक्री भएको रहेछ भने त्यसरी बिक्री भएको अधिकतम इकाइको प्रति इकाई बिक्री मूल्यमा नेपालमा लागेको कर, महसुल, अन्य सम्वद्ध खर्च र मुनाफा कटाई (डिडक्टिभ भ्यालु मेथड अनुसार) त्यस्तो मालवस्तुको भन्सार मूल्य निर्धारण गरिनेछ ।
(११) उपदफा (१०) बमोजिम भन्सार मूल्य निर्धारण गर्न नसकिएमा त्यस्तो मालवस्तु उत्पादन वा निर्माण गर्न लागेको खर्च र सो मालवस्तु पैठारीकर्तालाई बिक्री गर्दा विक्रेताले लिएको वा लिन सक्ने मुनाफा समेत गणना गरी (कम्प्युटेड भ्यालु मेथड अनुसार) भन्सार मूल्य निर्धारण गरिनेछ ।
(१२) उपदफा (११) बमोजिम भन्सार मूल्य निर्धारण गर्न नसकिएमा भन्सार अधिकृतले उपदफा (२), (८), (९), (१०) र (११) विपरीत नह्ुने गरी मनासिब आधारमा त्यस्तो मालवस्तुको भन्सार मूल्य निर्धारण गर्नेछ ।
(१३) उपदफा (१०) र (११) मा जुनसुकै कुरा लेखिएको भए तापनि पैठारीकर्ताले उपदफा (१०) भन्दा पहिले उपदफा (११) को प्रक्रिया अवलम्बन गरी भन्सार मूल्य निर्धारण गरिदिनका लागि अनुरोध गरेमा भन्सार अधिकृतले उपदफा (११) बमोजिम भन्सार मूल्य निर्धारण गर्न सक्नेछ ।
(१४) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि व्यक्तिगत प्रयोजनको लागि गुण्टा, झिटी, भारी आदेश अन्तर्गत पैठारी भएको मालवस्तु वा विदेशी मुलुकबाट उपहार वा नमूना स्वरुप प्राप्त गरी पैठारी भएको मालवस्तुको कारोबार मूल्य खुलाउन नसक्ने कारण जनाई सो मालवस्तुका धनीले मूल्याङ्कन गरिदिन निवेदन दिएमा र सो व्यहोरा भन्सार अधिकृतलाई उपयुक्त लागेमा निजले त्यस्तो मालवस्तुको मनासिब भन्सार मूल्य निर्धारण गर्न सक्नेछ ।
(१५) पैठारीकर्ताले उपदफा (३) बमोजिम घोषणा गरेको मूल्य यस दफा बमोजिम भन्सार अधिकृतले निर्धारण गरेको भन्सार मूल्यभन्दा घटी भएमा भन्सार अधिकृतले त्यस्तो मालवस्तुका सम्बन्धमा देहाय बमोजिम गर्न सक्नेछ :-
(क) त्यसरी घटी भएको जति मूल्यमा पचास प्रतिशत थप भन्सार महसुल असूल गरी त्यस्तो मालवस्तु जाँचपास गर्ने, वा
(ख) महानिर्देशकको पूर्व स्वीकृति लिई, त्यसरी घोषित मूल्यमा पाँच प्रतिशत रकम थप गर्दा हुन आउने रकम पैठारीकर्तालाई भुक्तानी दिने गरी त्यस्तो मालवस्तु खरीद गर्ने गराउने ।
(१६) यस दफा बमोजिम मालवस्तुको भन्सार मूल्य कायम गर्दा सामान्यतः विदेशी मुद्रामा गरिने छ । पैठारीको अवस्थामा महसुल बुझाउनु पर्ने मालवस्तुको मूल्याङ्कन विदेशी मुद्रामा भएकोमा सोको नेपाली रुपैयाँमा परिवर्तन गर्दा मालवस्तु जाँचपास हुँदाका दिन नेपाल राष्ट्र बैङ्कबाट तोकिएको विदेशी मुद्राको बिक्रीदरको आधारमा गरिने छ । नेपाल राष्ट्र बैङ्कबाट विनिमय दर नतोकिएको विदेशी मुद्राको हकमा सो विदेशी मुद्रालाई अमेरिकी डलरमा परिवर्तन गर्दा हुने अमेरिकी डलरको बिक्री दरको आधारमा गरिनेछ । तर कूटनीतिक सुविधा, महसुल सुविधा वा पूर्ण वा आंशिक महसुल छुटमा पहिले पैठारी भई पछि महसुल बुझाउने मालवस्तुको भन्सार मूल्यलाई नेपाली रुपैयाँमा परिवर्तन गर्दा बाँकी महसुल बुझाउने दिनमा नेपाल राष्ट्र बैङ्कबाट तोकिएको विदेशी मुद्राको बिक्रीदरको आधारमा गरिनेछ ।