
एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले साउदी अरब र यमनका हुती विद्रोहीबीच जारी लडाइँका बारेमा वाशिङटनको अडान स्पष्ट पार्दै अमेरिका अहिले यसमा संलग्न नरहेको बताएका छन् ।
सोमबार पत्रकारहरूसँग कुरा गर्दै उनले हालका लागि अमेरिका यस युद्धबाट टाढा रहेको बताए पनि भविष्यमा कुनै समस्या आएमा हस्तक्षेपको ढोका भने खुला रहेको संकेत दिएका छन् ।
एयर फोर्स वान विमानमा सञ्चारकर्मीहरूसँग बोल्दै ट्रम्पले अमेरिका र साउदी अरबबीच हाल नागरिक आणविक सम्झौताका विषयमा वार्ता भइरहेकाले वाशिङटन साउदीसँग सम्पर्क र समन्वयमा रहेको उल्लेख गरे । उनले द्वन्द्वका सन्दर्भमा थपे, ‘तर, तपाईंलाई थाहै छ, कुनै समस्या आयो भने हामीले हस्तक्षेप गर्न सक्छौं ।’
ट्रम्पले साउदी अरबलाई अब्राहम सम्झौतामा हस्ताक्षर गर्नुपर्ने शर्त राखेका छन् । साउदीले उक्त सम्झौतामा हस्ताक्षर गर्ने कुनै संकेत दिएको छ कि छैन भन्ने प्रश्नमा उनले भने, ‘हामीले अहिले नै त्यस विषयमा कुरा गरिसकेका छैनौं ।’
यसअघि गत शुक्रबार ट्रम्पले दुई देशबीचको नागरिक आणविक सम्झौतालाई अन्तिम रूप दिन साउदी अरब अब्राहम सम्झौतामा सहभागी हुनैपर्ने अडान दोहोर्याएका थिए । उनले अब यस क्षेत्रमा इरानको दबदबा र खतरा पहिले जस्तो नरहेकाले साउदी अरब यो सम्झौतामा सामेल हुन डराउनु नपर्ने दाबी गरे ।
अब्राहम सम्झौता सन् २०२० मा अमेरिकाको मध्यस्थतामा इजरायल र धेरै अरब राष्ट्रहरू (संयुक्त अरब अमिरात, बहराइन, मोरक्को र सुडान) बीच राजनीतिक, आर्थिक र सुरक्षा सम्बन्ध स्थापित गर्न गरिएको एक ऐतिहासिक कूटनीतिक पहल हो । ट्रम्पले इजरायलसँगको सम्बन्ध सामान्यीकरण गर्नु मध्यपूर्वको भविष्यका लागि अत्यन्तै महत्त्वपूर्ण भएको बताए ।
अमेरिकी आणविक नवप्रवर्तनका विषयमा सम्बोधन गर्दै ट्रम्पले भने, ‘आणविक साझेदारी अघि बढाउन साउदी अरब अब्राहम सम्झौताको सदस्य बन्नुपर्छ । अब उनीहरूले यो गर्ने बेला आएको छ । यसअघि इरानका कारण उनीहरू र अन्य देश डराएका थिए, तर अब त्यो समस्या छैन । इरान अब पहिले जस्तो शक्तिशाली छैन र उसले मध्यपूर्वमा अब गुन्डागर्दी गर्न सक्ने छैन ।’
उनले ढिलोचाँडो साउदी अरब यो सम्झौतामा जोडिने विश्वास व्यक्त गरे ।
ट्रम्पको यो बयान यस्तो समयमा आएको हो जब यमनका हुती विद्रोहीहरूले साउदी अरबको संवेदनशील कच्चा तेल आपूर्ति र ढुवानी पूर्वाधारमा ड्रोन आक्रमण गरेको दाबी गरेका छन् । साउदी अरबका ड्रोनहरू यमनको हवाई क्षेत्रमा प्रवेश गरेकाले त्यसको जवाफमा आफूहरूले साउदीको तेल पूर्वाधारलाई लक्षित गरेको हुतीहरूको भनाइ छ ।
हुती सैन्य प्रवक्ता ब्रिगेडियर जनरल याह्या सारीले टेलिग्राममार्फत एक विज्ञप्ति जारी गर्दै पूर्वी साउदी अरबबाट लाल सागरको शहर यान्बुसम्म कच्चा तेल ओसारपसार गर्ने सुविधाहरूमा ड्रोन प्रहार गरिएको पुष्टि गरे । उनले यसलाई साउदीको शत्रुतापूर्ण कदम विरुद्धको कारबाही भएको बताएका छन् ।
हुती विद्रोहीहरूले यसअघि जुलाई २६ मा यमनको अल–जौफ प्रान्तमा साउदी अरबको बायराक्तार अकिन्सी ड्रोन खसालेको दाबी समेत गरेका छन् । उनीहरूका अनुसार, उक्त ड्रोन यमनको आकाशमा शत्रुतापूर्ण गतिविधिमा संलग्न रहेका बेला खसालिएको थियो र यसको भिडियो फुटेज समेत सार्वजनिक गरिएको छ ।





प्रतिक्रिया