यांगो राइड र बजाज अटोबीच साझेदारी

77
Shares

काठमाडौं । विश्वव्यापी प्रविधि कम्पनी यांगो ग्रुपअन्तर्गतको राइड–हेलिङ सेवा यांगो राइडले आफ्ना चालक साझेदारहरूलाई मोटरसाइकल खरिद गर्न सहज बनाउने उद्देश्यले बजाज नेपालसँग रणनीतिक साझेदारी गरेको घोषणा गरेको छ ।

यस साझेदारी अन्तर्गत, योग्य यांगो प्रो चालक साझेदारहरूले चयन गरिएका बजाज मोटरसाइकलहरू २४ महिनासम्म ०% ब्याज (मार्कअप), ४०% डाउन पेमेन्ट तथा एक्सचेन्ज सुविधा सहित खरिद गर्न सक्नेछन् । यसले चालकहरूलाई आफ्नै मोटरसाइकलमा लगानी गर्न र आम्दानी बढाउने अवसर प्रदान गर्नेछ ।

यस साझेदारीको अवसरमा यांगोले ‘इनभाइट रश’ अभियान पनि सञ्चालन गरेको छ, जसअन्तर्गत चालक साझेदारहरूले नयाँ बजाज मोटरसाइकल जित्ने मौका पाउनेछन् । अभियानको अन्त्यमा उत्कृष्ट चार जना यांगो चालक साझेदारलाई बजाज मोटरसाइकल पुरस्कारस्वरूप प्रदान गरिनेछ ।

यो अभियान आगामी जुलाई ३१ सम्म सञ्चालन हुनेछ । कम्पनीका अनुसार, अभियानमा सहभागी हुन हालका चालक साझेदारहरूले आफ्नो युनिक रेफरल कोड प्रयोग गरी नयाँ चालकहरूलाई यांगोमा आबद्ध गराउनुपर्नेछ । रेफर गरिएको चालकले सफलतापूर्वक दर्ता गरी प्लेटफर्ममा आबद्ध भएको १५ दिनभित्र १३० वटा राइड पूरा गरेपछि मात्र उक्त रेफरल मान्य हुनेछ ।

यस सहकार्यले चालक साझेदारहरूलाई आर्थिक रूपमा सशक्त बनाउन र सवारी साधन खरिदलाई सहज बनाउने यांगोको प्रतिबद्धतालाई अझ मजबुत बनाएको कम्पनीले जनाएको छ । यसबाट चालकहरूले आफ्नो व्यवसाय विस्तार गर्न सक्नेछन् भने नेपालमा बढ्दो राइड–हेलिङ सेवाको माग पूरा गर्न पनि सहयोग पुग्ने अपेक्षा गरिएको कम्पनीको भनाइ छ ।

यांगो राइड नेपालका कन्ट्री प्रमुख सन्तोष पाण्डेले भने,’हाम्रा चालक साझेदारहरू नै यांगोको सफलताको आधार हुन् । उनीहरूका लागि थप अवसर र सुविधा सिर्जना गर्न हामी निरन्तर प्रयासरत छौं । बजाजसँगको यो साझेदारीले मोटरसाइकल खरिदलाई अझ सहज बनाउनेछ भने ’इनभाइट रश’ अभियानमार्फत प्लेटफर्मको विस्तारमा योगदान गर्ने चालक साझेदारहरूलाई आकर्षक पुरस्कार पनि प्रदान गरिनेछ ।’