‘प्रि–आईपीओ’ का नाममा हुने अवैध कारोबारमाथि कारबाही हुन्छ: अध्यक्ष भट्ट


काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष डा. गोपालप्रसाद भट्टले ‘प्रि–आईपीओ’ का नाममा अवैध कारोबार गर्ने कम्पनीहरूमाथि कडा कारबाही गरिने बताएका छन् । बुधबार अर्थ समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो गतिविधिमा संलग्न जोकोहीलाई कानुनी दायरामा ल्याइने स्पष्ट पारेका हुन् ।

अध्यक्ष भट्टले राज्यले कुनै पनि प्रकारको अवैध कारोबारलाई वैधानिकता दिन नसक्ने उल्लेख गर्दै ‘प्रि–आईपीओ’ लाई पूर्ण रूपमा अवैध कार्य भएको बताए । उनले भने, ‘प्रि–आईपीओ अवैध चिज हो, यस्तो कार्य हुनुहुँदैन । कतै त्यस्तो गतिविधि भएको थाहा पाइयो भने हामी कारबाही गर्छौँ । त्यो हाम्रो वैधानिक पद्धतिअनुसार आएको पैसा होइन, कसैले चलखेल गर्दैमा राज्य चुप लागेर बस्नुहुन्न ।’

अध्यक्ष भट्टले योग्य कम्पनीहरूलाई पुँजी बजारमार्फत वित्तीय पहुँच विस्तार गर्न बोर्डले विभिन्न योजनाहरू अघि बढाएको जानकारी दिए । उनले स्टार्टअपदेखि साना तथा मध्यम वर्गका उद्योगहरूलाई पुँजी बजारमा प्रवेश गराउन छुट्टै प्लेटफर्म र संयन्त्र विकास भइरहेको बताए । ‘कुनै पनि कर्पोरेट क्षेत्रले पुँजी बजारबाट फन्डिङ पाओस् भन्ने उद्देश्यले हामीले स्टार्टअप र एसएमई प्लेटफर्मको योजना ल्याएका छौँ,’ उनले भने ।

सार्वजनिक निष्कासन (आईपीओ) मा आउने कम्पनीहरूले उच्च पारदर्शिता, कडा मापदण्ड र अन्तर्राष्ट्रिय अभ्यासअनुसारको सुशासन पूरा गर्नुपर्नेमा उनले जोड दिए । सर्वसाधारण लगानीकर्ताको हित संरक्षणका लागि सेयरको मूल्य निर्धारण प्रक्रियालाई प्रतिस्पर्धात्मक बनाइने उनले बताए । यसका लागि नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषजस्ता संस्थागत लगानीकर्ताहरूको सहभागिता बढाएर मूल्य निर्धारणलाई थप प्रभावकारी बनाउने तयारी बोर्डले गरेको छ ।

अध्यक्ष भट्टले नेपाली पुँजी बजारलाई केवल सेयर कारोबारमा मात्र सीमित नराखी उपकरणहरूको विविधीकरण गरिने जानकारी दिए । अबको बजारलाई सेयरमुखी मात्र नभई ऋणपत्रमुखी बनाउने प्रयास भइरहेको उनले बताए । यसका साथै, डेरिभेटिभ उपकरण तथा कमोडिटी फ्युचर्सतर्फ पनि बजार विस्तार गर्ने योजना रहेको उनले जानकारी दिए ।