
काठमाडौं । नेपाल धितोपत्र बोर्डले आगामी ३ महिनाभित्रै सेयर बजार घट्दा पनि लगानीकर्ताले नाफा कमाउने गरी ‘सर्ट सेलिङ’ प्रणालीका लागि आवश्यक तयारी गर्ने भएको छ ।
बुधबार अर्थ समितिमा भएको छलफलमा ३ महिनाभित्र बोर्डले सर्ट सेलिङका लागि आवश्यक नीतिगत र कानुनी संरचना तयार गर्ने र बजार सञ्चालन गर्ने नेप्सेमा पूर्वाधार तयार भएसँगै ‘सर्ट सेलिङ’ कार्यान्वयनमा आउने उनले बताए ।
मंगलबार बोर्डले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि सर्ट सेलिङ, इन्ट्राडे, सेक्युरिटी ल्यान्डिङ तथा बरोइङ जस्ता व्यवस्था कार्यान्वयनमा ल्याउने उल्लेख छ ।
‘बजारमा तरलता अभिवृद्धि गर्न बजार निर्माता, अधिकृत सहभागी, सेक्युरिटी ल्यान्डिङ तथा बरोइङ, इन्ट्राडे, सर्ट सेलिङ लगायतका अन्तर्राष्ट्रिय रूपमा स्वीकृत बजार संयन्त्रहरू चरणबद्ध रूपमा अध्ययन, परीक्षण तथा कार्यान्वयन गरिनेछ,’ बोर्डको नीति तथा कार्यक्रममा भनिएको छ ।
‘आगामी आर्थिक वर्षको बजेटमा नै घोषणा भएअनुसार कतिपय कार्यक्रम कार्यान्वयन गर्ने तयारी अगाडि बढाएका छौँ । कतिपय अध्ययन सुरु गर्दै छौँ,’ बोर्डका अध्यक्ष डा. गोपाल प्रसाद भट्ट भन्छन्, ‘अहिले सेयर बजार बढ्दा मात्रै नाफा कमाउने अवस्था छ । अब बजार घट्दा पनि लगानीकर्ताले नाफा कमाउन सक्ने सर्ट सेलिङ प्रणाली कार्यान्वयनमा ल्याउन काम गर्छौँ । यसले बजार एकोहोरो भन्दा पनि दोहोरो हुँदा लगानीकर्ताले बजार बढ्ने मात्र नभई घट्ने अपेक्षा गरेर लगानी गर्दा पनि नाफा कमाउने अवस्था आउँछ ।’
बोर्डको नीति तथा कार्यक्रममा धितोपत्रको दोस्रो बजारमा उपकरणको विविधीकरण गरी लगानीकर्ताहरूलाई जोखिम व्यवस्थापन तथा लिभरेज प्रदान गर्न सर्ट सेलिङ, सेक्युरिटी ल्यान्डिङ तथा बरोइङ, इन्ट्राडे, अक्सन मार्केट सञ्चालनमा ल्याउन संरचनागत र कानुनी व्यवस्था गर्ने उल्लेख छ ।
बोर्डले विशेष गरी सर्ट सेलिङ र डेरिभेटिभ मार्केटको विकासका लागि सेक्युरिटी ल्यान्डिङ र बरोइङको व्यवस्था गर्ने घोषणा गरेको छ । सेक्युरिटी ल्यान्डिङ र बरोइङका लागि नियमन फ्रेमवर्क, रिस्क म्यानेजमेन्ट र डिजिटल बरोइङ प्लेटफर्म लगायतका व्यवस्था गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।
यस्तै नेपालको पुँजी बजारको मेरुदण्ड मानिने नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई पूर्ण रूपमा पुनर्संरचना र आधुनिकीकरण गर्ने योजना नयाँ बोर्डले अगाडि सारेको छ ।
अहिले इक्विटी मार्केटको रूपमा मात्र रहेको नेपाली धितोपत्र बजारमा नयाँ उपकरणहरूको प्रवेश गराउने बोर्डको नीति तथा कार्यक्रममा उल्लेख छ । अब नेप्सेमा कर्पोरेट ऋणपत्र, सरकारी ऋणपत्र, नगर ऋणपत्र, हरित ऋणपत्र, पूर्वाधार ऋणपत्र, एक्सचेन्ज ट्रेडेड फण्ड, रियल इस्टेट इन्भेस्टमेन्ट ट्रस्ट र डेरिभेटिभ्स जस्ता वित्तीय उपकरणहरू क्रमशः भित्र्याउने घोषणा गरेको छ ।
नेप्सेमा बढ्दो कारोबार संख्यालाई सहज व्यवस्थापन गर्न उच्च क्षमतायुक्त र सुरक्षित अन्तर्राष्ट्रिय स्तरको प्रविधिमा आधारित पूर्वाधार विकास गर्ने बोर्डको नीति तथा कार्यक्रममा उल्लेख छ ।
कारोबार, निगरानी र जोखिम व्यवस्थापनलाई एकीकृत गरी ‘रियल टाइम’ (वास्तविक समय) मा बजार सञ्चालन र विश्लेषण गर्न सक्ने क्षमता विस्तार गर्ने, साइबर सुरक्षा र बिजनेस कन्टिन्युटी प्लानिङलाई थप मजबुत बनाउने धितोपत्र बोर्डको घोषणा छ ।
नेप्से सूचकाङ्कलाई अन्तर्राष्ट्रिय मापदण्डअनुरूप ‘फ्री फ्लोट’ सेयरका आधारमा गणना गर्ने, बजारमा नेप्से ३० र नेप्से हाई क्याप जस्ता नयाँ सूचकाङ्कहरू विकास गर्ने, उत्पादनमूलक, सूचना प्रविधि, कृषि, पर्यटन, ऊर्जा र स्वास्थ्य क्षेत्रका कम्पनीहरूलाई पुँजी बजारमा भित्र्याउन सूचीकरण नीतिलाई थप व्यावहारिक र पारदर्शी बनाउने जस्ता योजना बोर्डको नीति तथा कार्यक्रममा छन् ।
एसएमई प्लेटफर्म सञ्चालन र मोबाइल एपमार्फत कारोबारलाई थप सहज बनाउने लक्ष्यसहित नेप्सेलाई दक्षिण एसियाकै एक प्रतिस्पर्धी र आधुनिक वित्तीय पूर्वाधारको रूपमा स्थापित गर्ने घोषणा बोर्डको नीति तथा कार्यक्रमले गरेको छ ।






प्रतिक्रिया