
दाङ । दाङको दङ्गीशरण गाउँपालिका–६ स्थित बागरमा खानेपानीको समस्या भएको छ । गाउँको बीचमा दुई मुहान भए पनि त्यहाँ ट्यांकी नहुँदा खानेपानीको हाहाकार हुने गरेको छ । खानेपानीकै लागि आधा घण्टा हिँडेर मुहान पुग्नुपर्ने बाध्यता छ ।
त्यतिमात्रै नभई मुहानमा गएर पनि एक घण्टासम्म पालो कुनुपर्ने अवस्था रहेको स्थानीय सीता चौधरीले गुनासो गरिन् । ‘पानी ल्याउन पोखरीसम्म जानका लागि आधा घण्टा लाग्छ, मुहानमा गए पनि पालो पाउन मुस्किल छ’, उनले भने ।
त्यहाँ करिब डेढ सय घरपरिवार छन् । बागरको ठन्डीबजार, बनखल्यान, नयाँगाउँ, गोठीगाउँलगायत गाउँमा खानेपानीको निकै समस्या हुने गरेको छ । ती दुईवटा मुहानको पानीलाई ट्याङ्कीमा जम्मा गरेर वितरण गर्न सकेमा समस्या नहुने स्थानीय एमेशन चौधरीले बताए । ‘दुईवटा मुहानलाई एउटा ओभरहेड ट्याङ्की बनाएर जम्मा गरेमा सबै गाउँलाई सहजै पुग्थ्यो’, उनले भने, ‘घण्टौँ पालो कुर्नुपर्ने अवस्था आउने थिएन ।’
गाउँमा एउटा डिपबोरिङसमेत खनिएको छ । त्यो डिपबोरिङ खनेपछि घरघरमा धारा पनि जडान गरियो । केही समय त ती धारामा पनि पानी आयो । तर, अहिले ती धारा सुक्खा छन् । ‘ट्याङ्की नहुँदा पानी खेर जाने अवस्था भयो’, स्थानीय निमबहादुर खत्रीले भने, ‘त्यसले गर्दा पानीको सतह मोटरभन्दा मुनि गयो र धारामा पानी आउन छोड्यो ।’
खानेपानी समस्या समाधानका लागि सबै तहका सरकारलाई गुहार गरे पनि सुनुवाइ नभएको उहाँको गुनासो छ । चुनावका बेला पानीको माग पूरा गर्ने आश्वासन आए पनि त्यो समाधानका लागि पहल भएको छैन ।






प्रतिक्रिया