
मुस्ताङ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी-जोमसोम-कोरला) सडक आयोजनाको अनुगमन गरेका छन् ।
शुक्रबार बेनी(जोमसोम सडकमार्ग हुँदै मुस्ताङको थासाङ गाउँपालिका–३ लेते बास बस्नुभएका मन्त्री लम्सालसँग संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री खड्कराज पौडेल (गनेश), मन्त्रालय र विभिन्न विभागका प्रतिनिधिसमेत सहभागी छन् ।
कोरला सडकका आयोजना प्रमुख तेजस्वी शर्माका अनुसार कोरला सडकको निरीक्षण तथा पर्यटनलगायतका विषयमा जानकारी लिने उद्देश्यले उनीहरु त्यहाँ पुगेका हुन् ।
पूर्वप्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनको उपस्थितीमा जोमसोम—कोरला सडकमा आवश्यक पर्ने पूर्वाधार निर्माणलगायतका बिषयमा छलफल भएको छ ।
छलफलमा मन्त्री लम्सालले कोरला सडकखण्डमा पर्ने पाँच वटा सडक पुल निर्माणलाई ठेक्का प्रक्रियामा लैजान निर्देशन दिएका थिए ।
आयोजना प्रमुख तेजश्वी शर्माले जोमसोम–कोरला सडकअन्तर्गत जोमसोम–कागबेनी सडकको थप स्तरोन्नति तथा कागबेनी–छुसाङ सडक खण्डमा कालोपत्र निर्माणको प्रगतिबारे मन्त्री लम्साललाई जानकारी गराएका थिए ।
सरकारले कोरला सडकअन्तर्गत मुस्ताङको छुसाङदेखि घमीसम्मको ५० किलोमिटर सडक स्तरोन्नति तथा कालोपत्रेका लागि तीन अर्ब १५ करोड बजेट विनियोजन गरेको छ ।
कोरला नाकासम्मको सडकको प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन सम्पन्न भइसकेकाले नाकासम्मको सडक स्तरोन्नति तथा कालोपत्रको काम शीघ्र अघि बढाउनुपर्ने आवश्यकता रहेको विषयमा मन्त्री लम्सालको ध्यानाकर्षण गराइएको थियो ।
मन्त्री लम्सालसहितको टोलीले कोरला सडक आयोजना क्षेत्रका विभिन्न स्थानको स्थलगत अनुगमन तथा निरीक्षण गर्दै सडक, पुलपुलेसा र अन्य पूर्वाधारको अवस्थाबारे स्थानीयसँग जानकारी लिएको छ ।
स्थानीयले कालिगण्डकी नदीको कटान, बाढी र पहिरोका कारण कोरला सडक, पुलपुलेसा तथा अन्य संरचनामा बर्सेनि क्षति पुग्ने जोखिम रहेको जानकारी गराएका छन् ।






प्रतिक्रिया