स्वास्थ्य क्षेत्रमा सुधारको संकेत: मन्त्री मेहताले सार्वजनिक गरिन् १०० दिने प्रगति विवरण


काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले आफ्नो कार्यभार सम्हालेको १०० दिन पूरा भएको अवसरमा मन्त्रालयले हासिल गरेका उपलब्धिहरूको विवरण सार्वजनिक गरेकी छन्।

शनिबार आयोजित एक कार्यक्रममा उनले स्वास्थ्य सेवालाई नागरिकमैत्री, सुलभ र थप व्यवस्थित बनाउन चालिएका कदमहरू समेटिएको प्रगति विवरण सार्वजनिक गरेकी हुन्।

मन्त्री मेहताका अनुसार, यस अवधिमा नीतिगत सुधारदेखि प्रत्यक्ष सेवा प्रवाहसम्मका महत्त्वपूर्ण कार्यहरू सम्पन्न भएका छन्।

मन्त्रालयले नागरिकलाई अस्पतालका शय्या खोज्न सहज होस् भन्ने उद्देश्यले ‘निःशुल्क स्वास्थ्य पोर्टल’ सञ्चालनमा ल्याएको छ। यस पोर्टलमा हालसम्म २१७ वटा अस्पताल आबद्ध भइसकेका छन् भने ३ हजार २५५ शय्या निःशुल्क उपलब्ध गराइएको छ।

यस्तै, बिरामीको स्वास्थ्य रिपोर्ट र अभिलेख एक अस्पतालबाट अर्कोमा सहजै साटासाट गर्न सकिने गरी ‘राष्ट्रिय एकीकृत स्वास्थ्य सूचना प्रणाली मापदण्ड’ स्वीकृत भएको छ।

अस्पतालहरूको आन्तरिक व्यवस्थापन सुदृढ गर्न ‘अस्पताल सेवा सुधार कार्यविधि, २०८२’ र बिरामी प्रेषणलाई व्यवस्थित बनाउन ‘बिरामी प्रेषण राष्ट्रिय निर्देशिका, २०८१’ कार्यान्वयनमा ल्याइएको छ। मन्त्रालयले जलन उपचारलाई प्राथमिकता दिँदै १४ वटा सङ्घीय अस्पतालमा उपचार युनिट स्थापना गरेको छ भने २० करोड रुपैयाँको ‘जलन उपचार कोष’ खडा गरेको छ।

साथै, आपतकालीन उद्धारका लागि ११ वटा हेलिकप्टर कम्पनीहरूसँग सहुलियत दरमा सेवा उपलब्ध गराउने सम्झौता भएको छ।

स्वास्थ्य बिमा अन्तर्गत अस्पतालहरूलाई २०८२ मङ्सिरसम्मको दाबी बापत १८ अर्ब ५८ करोड ९१ लाख रुपैयाँ भुक्तानी गरिएको छ। सरकारी अस्पतालमा औषधि वितरणलाई प्रभावकारी बनाउन ‘सुलभ फार्मेसी सेवा मापदण्ड’ कार्यान्वयनमा ल्याइएको छ भने नेपाल औषधि लिमिटेडसँग सोझै औषधि खरिद गर्ने प्रक्रिया अघि बढाइएको छ।

लामो समयदेखि थाती रहेको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण सम्पन्न गरी ९७७ नयाँ सङ्घीय दरबन्दी थप गरिएको छ। नर्सिङ तथा स्वास्थ्यकर्मीहरूको मनोबल उच्च बनाउन न्यूनतम तलब र रात्रिकालीन भत्तामा वृद्धि गरिएको छ।

मानसिक स्वास्थ्यतर्फ सरकारी अस्पतालहरूबाट मनोपरामर्श सेवा सुरु गरिएको छ भने ‘११६६’ हटलाइनमार्फत सेवा प्रवाह भइरहेको छ।

मन्त्रालयले उपभोक्ताको हितलाई ध्यानमा राख्दै मोबाइल प्रयोगशालामार्फत १५ हजारभन्दा बढी नमुनाको विषादी परीक्षण गरेको छ। दुर्गम र हिमाली क्षेत्रमा ‘हाई अल्टिच्युड क्लिनिक’ स्थापनाका लागि बजेट विनियोजन गरिएको छ। यस्तै, ७९औँ विश्व स्वास्थ्य सभामा नेपालले उपाध्यक्षको भूमिका निर्वाह गर्दै स्वास्थ्य कूटनीतिमा महत्त्वपूर्ण सफलता प्राप्त गरेको प्रगति विवरणमा उल्लेख छ।

मन्त्री मेहताले यी उपलब्धिहरूले स्वास्थ्य क्षेत्रमा दीर्घकालीन सुधारको जग बसालेको र आगामी दिनमा सेवालाई अझ बढी प्रविधिमैत्री र जनउत्तरदायी बनाइने प्रतिबद्धता व्यक्त गरेकी छन्।