नारायणघाट–बुटवल सडक विस्तार: पूर्वी खण्डमा मुख्य सडकको कालोपत्रे र ढलान सम्पन्न


नवलपरासी । वर्षौदेखि प्रतिक्षामा रहेको नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य सडक निर्माणको कामले पूर्णता पाएको छ।

गैँडाकोटदेखि दाउन्नेसम्मको ६५ किलोमिटर खण्डमा मुख्य सडकको सम्पूर्ण कालोपत्रे र ढलान (कङ्क्रिट पेभमेन्ट) को काम शुक्रबार सम्पन्न भएको हो।

नारायणघाट–बुटवल सडक आयोजना (पूर्वी खण्ड) का सूचना अधिकारी एवं इन्जिनियर शिव खनालका अनुसार मुख्य सडकमा भर्नुपर्ने अन्तिम तह (वेयरिङ कोर्स), बाइन्डर कोर्स र ढलान सडकको काम सकिएको छ। यो उपलब्धिसँगै पूर्वी खण्डको समष्टिगत भौतिक प्रगति ९२.३८ प्रतिशत पुगेको छ।

‘मुख्य सडकको कालोपत्रे र ढलानका सबै काम सकिएका छन्,’ इन्जिनियर खनालले भने, ‘अब सडक सुरक्षाका पूर्वाधार, ट्राफिक संकेत र सौन्दर्यीकरणका कामहरू मात्र बाँकी छन्। ती कामहरू पनि क्रमशः सम्पन्न गर्दै आयोजना पूर्ण रूपमा हस्तान्तरण गर्ने तयारीमा छौँ।’

निर्माण सम्पन्न भएका अधिकांश खण्डमा अहिले सवारी आवागमन सुचारु भइसकेको छ। विगतमा खाल्डाखुल्डी र धुलोका कारण निकै सास्ती खेप्नुपरेको यो सडकमा अहिले यात्रा सहज बन्दै गएको छ। मुख्य सडकसँगै जोडिएका सहायक संरचना र नाला निर्माणका काम पनि अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ।

एसियाली विकास बैंक (एडीबी) को सहुलियतपूर्ण ऋण सहयोगमा सन् २०१९ देखि यस सडकको विस्तार कार्य सुरु भएको थियो। चिनियाँ कम्पनी ‘चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन’ले निर्माण जिम्मा पाएको यो आयोजना ११३ किलोमिटर लामो छ।

यसलाई पूर्वी खण्ड (गैँडाकोट–दाउन्ने ६५ किमी) र पश्चिमी खण्ड (दाउन्ने–बुटवल ४८ किमी) गरी दुई भागमा विभाजन गरेर काम भइरहेको छ।

सुरुवाती चरणमा कोभिड–१९ को महामारी, रुख कटानमा भएको ढिलाइ, विद्युत्का पोल र खानेपानीका पाइप स्थानान्तरणमा आएको समस्या तथा निर्माण सामग्रीको अभावका कारण आयोजनाको काम निकै सुस्त भएको थियो। तर, पछिल्ला महिनाहरूमा निर्माण कार्यले गति लिएपछि पूर्वी खण्डले लक्ष्य अनुरूपको उपलब्धि हासिल गरेको हो।

पूर्व–पश्चिम राजमार्गको यो महत्वपूर्ण खण्ड विस्तार भएपछि नारायणघाटदेखि बुटवलसम्मको यात्रा सुरक्षित, सहज र छोटो हुनेछ। यसले गण्डकी, लुम्बिनी र बागमती प्रदेशबीचको सिधा सम्पर्कलाई बलियो बनाउनुका साथै व्यापारिक गतिविधि र पर्यटन प्रवर्द्धनमा समेत ठूलो योगदान पुग्ने अपेक्षा गरिएको छ।