नासा सेक्युरिटिजले ९ महिनामा गर्‍यो ५६ करोड आम्दानी, खुद नाफा ३१ करोड रुपैयाँ

126
Shares

काठमाडौं । ब्रोकर नं. ५८ नासा सेक्युरिटिजले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा ५६ करोड ७० लाख रुपैयाँको कारोबार गरेको छ । कम्पनीले गत आवमा ८३ करोड ४० लाख रुपैयाँ र सन् २०२४ मा ३२ करोड ३० लाख रुपैयाँको कारोबार गरेको थियो ।

कम्पनीले गरेको आम्दानीमध्ये ९७ प्रतिशत ब्रोकर कमिसनबाट गरेको छ । गत आवमा कम्पनीको कारोबार १९८ प्रतिशतले वृद्धि भएको छ । जसमा कम्पनीले गत आवमा २ खर्ब ६० अर्ब ४२ करोड रुपैयाँ कारोबार गरेको छ । जसले गर्दा कम्पनीको आम्दानी बढेको उल्लेख छ ।

कम्पनीले गत आवमा ३१ करोड २० लाख रुपैयाँ खुद नाफा गरेको छ भने ३३ करोड ८० लाख रुपैयाँ कुल नगद सञ्चय गरेको छ । कम्पनीले विगतका वर्षहरुमा सहज पुँजी संरचना कायम राखेको छ ।

गत आवमा अन्त्यसम्ममा कम्पनीको कुल नेटवर्थ ८५ करोड ७० लाख रुपैयाँ तथा कुल ऋण ७५ करोड ७० लाख रुपैयाँ रहेको थियो । कम्पनीको समग्र गियरिङ अनुपात ०.८८ गुणा पुगेको छ । सन् २०२४ मा ०.८३ गुणा थियो ।

कम्पनीको पुँजी संरचना अझै पनि सहज अवस्थामा रहेको छ । कम्पनीको मार्जिन ट्रेडिङ सुविधा तथा ब्रोकिङ व्यवसायको आगामी विस्तारलाई समर्थन गर्न पर्याप्त क्षमता रहेको छ ।

कम्पनीअनुसार चालु आवको ९ महिनाको अवधिमा ३४ करोड ६० लाख रुपैयाँ लाभांश भुक्तानीको घोषणाका कारण कम्पनीको नेटवर्थमा कमी आएको छ ।

सेबोनले गत फेब्रअरी १३ मा मार्जिन ट्रेडिङ सुविधा निर्देशिका, २०८२ लागू गरेको छ । कम्पनीले आफ्ना ग्राहकहरूलाई उक्त सेवा प्रदान सुरु गरिसकेको छ ।

चालु आवको ९ महिनाको अवधिमा एमएफटी सम्बन्धी मार्जिन ऋण लिएको छ । जसमा कम्पनीको गैर–कोषमा आधारित सुविधासहित कम्पनीको समग्र गियरिङ अनुपात बढेर १.४८ गुणा पुगेको छ ।

कम्पनी नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमतिप्राप्त ब्रोकर तथा निक्षेप सदस्य हो । सन् २००७ मा स्थापना भएको कम्पनीले व्यवसाय सेयर बजारमा धितोपत्रको खरिद–बिक्री सहज बनाउने तथा त्यसबाट कमिसन आम्दानी गर्दै आएको छ । कम्पनीले करिब शतप्रतिशत नै स्टकब्रोकिङबाट आम्दानी गर्दै आएको छ ।

कम्पनी नेपाल स्टक एक्स्चेन्जको ट्रेडिङ सदस्य हो । कम्पनीको सदस्यता प्रमाणपत्र नम्बर ५८ रहेको छ । कम्पनीमा वीरगञ्ज, पोखरा र जनकपुरमा गरी ३ वटा शाखा कार्यालय छन् । कम्पनीले सीडीएस एन्ड क्लियरिङ लिमिटेडबाट निक्षेप सदस्यको सदस्यता पनि प्राप्त गरेको छ ।

साथै, कम्पनीले सन् २०२२ को सेप्टेम्बरमा स्टक एक्स्चेञ्जबाट मार्जिन ऋण सुविधा सञ्चालन गर्न स्वीकृति पनि प्राप्त गरेको छ । कम्पनीले ब्राकिङ उद्योगको ६ प्रतिशत बजार हिस्सा ओगटको छ । चालु आवको ९ महिनाको अवधिमा उक्त बजार हिस्सा बढेर ६.५० प्रतिशत पुगेको छ ।

मदन पौडेल अध्यक्ष रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ३ अर्ब रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १ करोड १० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि २ अर्ब ९८ करोड ९० लाख रुपैयाँको रेटिङ गराएको हो ।