सीआईबी र ब्यूरो प्रमुखको नाममा ठगी गर्ने ‘फेक इमेल’बाट जोगिन आग्रह

0
Shares

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आफ्नो नाम र ब्यूरो प्रमुखको पद दुरुपयोग गरी सर्वसाधारणलाई ठगी गर्ने नियतले पठाइएका भ्रामक इमेलहरूबाट सचेत रहन आग्रह गरेको छ ।

पछिल्लो समय अज्ञात समूहले सीआईबी र ब्यूरो प्रमुखको नाम प्रयोग गरी अनधिकृत इमेलहरू पठाउने गरेको पाइएको बताइएको छ ।

ती इमेलहरूमा ‘मुद्दाको गम्भीरताका कारण तपाईंसँग व्यक्तिगत रूपमा सम्पर्क गरिएको हो, तुरुन्त जवाफ नदिए सीआईबीले अदालतमा मुद्दा दायर गर्नेछ’ भन्ने आशयका धम्कीपूर्ण सन्देशहरू पठाएर सर्वसाधारणलाई त्रसित बनाउने गरिएको ब्युरोले जनाएको छ ।

ब्यूरोले एक विज्ञप्ति जारी गर्दै यस्ता कुनै पनि इमेल वा पत्राचार सीआईबी तथा ब्यूरो प्रमुखबाट नगरिएको स्पष्ट पारेको छ । ‘यस ब्यूरो तथा ब्यूरो प्रमुखज्यूको नाम दुरुपयोग गरी ठगी गर्ने अभिप्रायले भ्रामक सन्देशहरू पठाइएकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्ता अफवाहयुक्त इमेलहरूको विश्वास नगर्न सरोकारवाला सबैमा अनुरोध गर्दछौं ।’

यस सम्बन्धमा नेपाल प्रहरीको साइबर ब्यूरोले प्राविधिक अनुसन्धान सुरु गरिसकेको बताइएको छ । सीआईबीको नाम दुरुपयोग गरी साइबर अपराधमा संलग्न व्यक्तिहरूलाई पहिचान गरी कडा कानुनी कारबाही गरिने ब्यूरोले चेतावनी दिएको छ ।