
एजेन्सी । भारतीय सेनाले चिनियाँ जनमुक्ति सेना अरुणाचल प्रदेशमा घुसपैठ गरेको र भारतीय भूमिभित्र सैन्य शिविरहरू स्थापना गरेको भन्ने प्रतिवेदनहरूलाई गलत र आधारहीन भन्दै अस्वीकार गरेको छ ।
अरुणाचल प्रदेशको एउटा सामुदायिक संस्थाले बुझाएको ज्ञापनपत्रलाई उद्धृत गर्दै सञ्चारमाध्यमहरूमा आएका रिपोर्टहरूमा चिनियाँ सेनाले विगत केही वर्षदेखि राज्यको दुर्गम सीमावर्ती क्षेत्रहरूमा बिस्तारै आफ्नो उपस्थिति विस्तार गरेको दाबी गरिएपछि सेनाको यस्तो खण्डन आएको हो ।
‘हामीले चिनियाँ जनमुक्ति सेनाले हालै अरुणाचल प्रदेशमा घुसपैठ गरेको र शिविरहरू खडा गरेको आरोप लगाइएका केही मिडिया रिपोर्टहरू देखेका छौं । यी रिपोर्टहरू गलत र कुनै आधार बिनाका हुन्,’ भारतीय सेनाले भन्यो ।
इन्डिया टुडे नर्थ इस्टका अनुसार, अरुणाचल प्रदेशको अपर सुबानसिरी जिल्लाको टाक्सिङस्थित सामुदायिक संस्था नह वेलफेयर सोसाइटीले उप–आयुक्तलाई एउटा ज्ञापनपत्र बुझाउँदै भारत–चीन सीमा नजिक भारतीय भूमिभित्र जनमुक्ति सेनाले शिविरहरू स्थापना गरेको आरोप लगाएको छ ।
२६ जुनको पत्रमा उक्त संस्थाले चिनियाँ सेनाले विगत १० देखि १५ वर्षमा टाक्सिङ सर्कलको सीमावर्ती क्षेत्रहरू कब्जा गरेर आफ्नो उपस्थिति निरन्तर विस्तार गरेको दाबी गरेको छ ।
ज्ञापनपत्रमा स्थानीय बासिन्दाहरूले परम्परागत रूपमा शिकार खेल्न, गाईवस्तु चराउन र वन पैदावार संकलन गर्न प्रयोग गर्ने स्थानहरूमा सडक, पुल र सैन्य शिविरहरू निर्माण गरिएको आरोप लगाइएको छ ।
एनडब्ल्यूएसले पाँचवटा स्थानहरू ओइङ, चुजार्ता क्षेत्रको पनियार, मर्पान (मर्नाफे), पोट्राङ ताल र टिन्डिङटाङको पहिचान गरेको छ । त्यो सन् २०२० देखि चिनियाँ कब्जामा परेको दाबी गरिएको छ । उक्त संस्थाले केही स्थानहरू टाक्सिङ मुख्यालय नजिकै रहेको र स्थानीय समुदायका लागि सांस्कृतिक र धार्मिक महत्त्वका रहेको पनि आरोप लगाएको छ ।
सामुदायिक समूहले सीमा क्षेत्रमा थप चिनियाँ गतिविधिहरू रोक्नका लागि अरुणाचल प्रदेश सरकार र केन्द्र दुवैलाई तत्काल हस्तक्षेप गर्न आग्रह गरेको छ । सीमा सुरक्षाका लागि भारतीय सेनाको प्रतिबद्धताप्रति विश्वास व्यक्त गर्दै ज्ञापनपत्रमा भारतीय भनिएको भूमिको रक्षाका लागि अझ कडा कदम चाल्नुपर्ने तर्क गरिएको छ ।
पत्रमा जिल्ला प्रशासनलाई यसबारे उचित निकायसँग कुरा गर्न अनुरोध गरिएको छ र संस्थाले आफ्ना दाबीहरूलाई पुष्टि गर्ने तस्बिरहरू पनि समावेश गरेको छ ।
भारतीय सेनाको विज्ञप्तिले ज्ञापनपत्रमा लगाइएका आरोपहरूलाई विशेष रूपमा सम्बोधन गरेको छैन तर अरुणाचल प्रदेशमा हालै भएको चिनियाँ घुसपैठ र जनमुक्ति सेनाको शिविर स्थापनाको रिपोर्टलाई स्पष्ट रूपमा अस्वीकार गरेको छ ।
भारत र चीनबीच बेइजिङमा भारत–चीन सीमा मामिला सम्बन्धी परामर्श र समन्वयको कार्य संयन्त्रको ३५औं बैठक सम्पन्न भएको केही हप्तापछि यी आरोपहरू सार्वजनिक भएका हुन् ।
बैठकपछि भारतको विदेश मन्त्रालयले छलफल रचनात्मक र भविष्योन्मुख रहेको बताएको थियो ।
मन्त्रालयका अनुसार, दुवै पक्षले भारत–चीन सीमा क्षेत्रको अवस्थाको समीक्षा गरे र शान्ति तथा अमनचयन कायम राख्न भएको प्रगतिमा सन्तुष्टि व्यक्त गरे । त्यसले द्विपक्षीय सम्बन्धलाई बिस्तारै सामान्य बनाउन मद्दत पुर्याएको थियो ।
दुई देशले सीमा व्यवस्थापन, सीमांकन, विश्वास अभिवृद्धि गर्ने संयन्त्र र सीमापार सहयोगका बारेमा पनि छलफल गरे । भारतले थप रूपमा सीमापार नदीहरूसम्बन्धी विज्ञ स्तरको संयन्त्रको बैठक छिट्टै बस्नुपर्ने आवश्यकतामा जोड दिएको थियो ।






प्रतिक्रिया