अर्थतन्त्रका सूचक सुध्रिए पनि लगानी बढेन: उद्योगी


विराटनगर । मुलुकको वैदेशिक मुद्रा सञ्चिति, बैंकिङ प्रणालीको तरलता र ब्याजदरजस्ता अर्थतन्त्रका बाह्य सूचकहरू सुधारोन्मुख देखिए पनि लगानी र उत्पादनको क्षेत्रमा अझै उत्साह फर्कन सकेको छैन ।

विराटनगरका उद्योगीहरूले अहिलेको मुख्य चुनौती वित्तीय तरलता मात्र नभई सरकार र निजी क्षेत्रबीचको ‘विश्वासको संकट’ भएको औंल्याएका छन् ।

उद्योग संगठन मोरङको ५३औँ वार्षिक साधारण सभाका अवसरमा उद्योगीहरूले राज्य र निजी क्षेत्रबीचको सहकार्यबाट मात्रै लगानीको नयाँ वातावरण निर्माण हुन सक्नेमा जोड दिएका हुन् ।

कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले अन्तर्राष्ट्रिय परिस्थितिका कारण आपूर्ति श्रृंखला र उत्पादन लागतमा दबाब परेको बताए ।

उनले निजी क्षेत्र रोजगारी र आर्थिक गतिविधिलाई निरन्तरता दिन प्रतिबद्ध रहेको उल्लेख गर्दै भने, ‘अहिलेको स्थितिमा सरकारले निजी क्षेत्रको मनोबल बढाउन ठोस कदम चाल्नुपर्छ र सहकार्यको नयाँ ढाँचा तयार गर्नुपर्छ ।’

कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विदुर कुमार लिङ्थेपले निजी क्षेत्रलाई प्रदेश समृद्धिको मेरुदण्ड मान्दै सरकार उद्योगमैत्री नीति कार्यान्वयन गर्न तयार रहेको बताए ।

उनले उद्योगीको मनोबल उच्च राख्न र औद्योगिक पूर्वाधार विकासमा सरकारले सघाउने प्रतिबद्धता व्यक्त गरे ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिलसुन्दर श्रेष्ठले नीतिगत स्थिरता र लगानीमैत्री वातावरण भए मात्र नेपालको आर्थिक समृद्धिले गति लिने बताए ।

यस्तै, महासंघका कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउतले उत्पादन लागत घटाउनु र निजी क्षेत्रका सुझावलाई नीति निर्माणमा समेट्नु अहिलेको आवश्यकता भएको उल्लेख गरे ।

नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष पवन सारडाले उद्योगी व्यवसायीका साझा समस्या समाधानका लागि सबै संस्थाहरूबीच एकता र समन्वय हुनुपर्नेमा जोड दिए ।

पूर्व अध्यक्ष सुयश प्याकुरेलले नीति निर्माणमा संगठनले निर्वाह गरेको नेतृत्वदायी भूमिकाको प्रशंसा गरे भने वरिष्ठ उपाध्यक्ष भोलश्वर दुलालले आयात प्रतिस्थापन र युवा उद्यमशीलतामा ध्यान दिनुपर्ने बताए ।

साधारण सभाको अवसरमा कोशी प्रदेशमा उत्कृष्ट योगदान पुर्‍याउने विभिन्न उद्योगहरूलाई सम्मान गरिएको थियो ।

जसअनुसार उच्च निर्यात योगदानतर्फ पशुपति खाद्य तेल उद्योग प्रालि, उदीयमान निर्यात उद्योगतर्फ जय श्री पियुटेक, आत्मनिर्भरता कदरतर्फ एलेक्सा लाइफ साइन्सेस प्रालि, उच्च रोजगार योगदानतर्फ अरिहन्त मल्टिफाइबर्स लिमिटेड, उद्योग–शैक्षिक सहकार्यतर्फ जानकी पोलिट्याङ्क प्रालि, उदीयमान स्टार्टअपतर्फ आरा टेक्नोलोजी प्रालि र सीप विकास योगदानतर्फ दुहबी नगरपालिका र श्री इन्स्योर परियोजनालाई सम्मान गरिएको थियो ।