विराटनगरका विवादास्पद गिरी पक्राउ


काठमाडौं । प्रहरीले विवादास्पद छवि भएका अभिषेक गिरीलाई बिराटनगरबाट पक्राउ गरेको छ ।

शनिबार बिहान गिरीको विराटनगर मधुमारास्थित घरमा छापा मारेको प्रहरीले घरबाटै उनलाई नियन्त्रणमा लिएको हो ।

घरमा अवैध हतियार लुकाएर राखेको आशंकामा पुगेको प्रहरीले जिल्ला कारागार मोरङका कैदीबन्दीसँग रकम असुल गरेको आरोपमा गिरीलाई पक्राउ गरेको हो ।

कारगारलाई आफ्नो नियन्त्रणमा लिएर कैदीबन्दीमाथि असुली धन्दा चलाइरहेका थिए । पैसा बुझाउन नसक्नेलाई कारागारभित्रै चरम यातना दिने गरिएको थियो ।

अपहरण तथा शरीर बन्धक मुद्दामा मोरङ कारागारमा रहँदा गिरी चौकीदार थिए । कैद भुक्तान गरी छुटे पनि उनीमाथि मोरङ कारागारको आन्तरिक व्यवस्थापनमा सक्रिय भएको आरोप लाग्दै आएको थियो ।

मोरङका प्रहरी प्रमुख एसपी कवित कटवालले कैदीबन्दीको भत्ता दुरुपयोग आरोपमा गिरीलाई पक्राउ गरिएको बताए । ‘कारागारका कैदीबन्दीलाई प्राप्त हुने पैसा उनले लगेको आरोप छ,’ उनले भने, ‘थप अनुसन्धान जारी छ ।’

गिरी पछिल्लो दुई वर्षयता नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छन् ।