
कैलाली । धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि रु दुई अर्ब ६४ करोड ६४ लाख बजेट ल्याएको छ । आज आयोजित नगरसभाको १५औँ अधिवेशनमा उपप्रमुख कन्दकला कुमारी रानाले बजेट सार्वजनिक गरेका हुन् ।
उनका अनुसार आगामी आवका लागि चालुतर्फ एक अर्ब ४३ करोड ६३ लाख रुपैयाँ र पुँजीगततर्फ एक अर्ब २३ करोड ७६ लाख रुपैयाँ विनियोजन गरेको छ । बजेटका स्रोतका रुपमा आन्तरिक आयबाट ५५ करोड १० लाख रुपैयाँ, राजस्व बाँडफाँटबाट ६० करोड ४५ लाख ३६ हजार रुपैयाँ, नेपाल सरकारबाट वित्तीय हस्तान्तरणतर्फ एक अर्ब ६ करोड ७९ लाख रुपैयाँ प्राप्त हुने जनाएको छ ।
त्यस्तै, सुदूरपश्चिम प्रदेश सरकारबाट रु १४ करोड २२ लाख तथा चालु आर्थिक वर्षको बचतबाट ४२ करोड ३० लाख २१ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । चालु आवको दुई अर्ब ५६ करोड ४ लाख रुपैयाँ बजेटमध्ये जेठ मसान्तसम्म एक अर्ब ७७ करोड ४९ लाख ५१ हजार रुपैयाँ प्राप्त भएकामा एक अर्ब १९ करोड ९४ लाख रुपैयाँ खर्च भएको उपप्रमुख रानाले जानकारी दिइन् ।
उपमहानगरले आगामी आवको बजेटमा पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना तथा लोककल्याणकारी कार्यलाई प्राथमिकता दिएको छ । उपमहानगरले आगामी वर्ष नगर गौरवका आयोजना सञ्चालन तथा वडा स्वास्थ्य क्लिनिकलाई थप सुदृढीकरण गर्ने जनाइएको छ ।
विकास आयोजनाको प्रभावकारी सञ्चालनका लागि आयोजना बैंक स्थापना गर्ने र त्यसमा समावेशन आयोजना क्रमशः कार्यान्वयन गर्दै लगिने र सीप सिकाएर युवालाई स्वरोजगार बाउन सीप तथा रोजगार मेला सञ्चालनलाई उपमहानगरले आगामी वर्ष निरन्तरता दिने भएको छ ।








प्रतिक्रिया