युरोपमा गर्मी बढेपछि मदिरामा प्रतिबन्ध, संगीत उत्सवहरू रद्द


एजेन्सी । युरोपको धेरैजसो भागमा छाएको अत्यधिक तातो लहरका कारण फ्रान्समा आंशिक मदिरा प्रतिबन्ध, जर्मनीमा देशव्यापी चेतावनी र स्पेनमा फुटबल फ्यान जोन बन्द गरिएको छ । त्यहाँ तापक्रम कीर्तिमानी स्तरमा पुग्न लागेको छ ।

फ्रान्सका ९६ विभाग वा क्षेत्रहरूमध्ये ३५ वटामा आइतबार रेड हिटवेभ अलर्ट जारी हुने अपेक्षा गरिएको छ । दक्षिण–पश्चिमदेखि पेरिस क्षेत्र हुँदै बरगन्डीसम्म ३९ देखि ४० डिग्री सेल्सियससम्म तापक्रम पुग्ने अनुमान गरिएको छ भने केही क्षेत्रमा तापक्रम ४१ डिग्री सेल्सियससम्म पुग्न सक्नेछ ।

एक संकटकालीन बैठकपछि, प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले ती ३५ क्षेत्रमा आइतबार हुने वार्षिक फेट डे ला म्युजिक संगीत उत्सव र अन्य सार्वजनिक कार्यक्रमहरूमा मदिरा सेवनमा पूर्व–सतर्कताका रूपमा प्रतिबन्ध लगाएका छन् । पेरिसका अधिकारीहरूले पार्कहरू चौबीसै घण्टा खुला राख्न निर्देशन दिएका छन् ।

जर्मनीको अधिकांश भागमा पनि गर्मीको चेतावनी जारी गरिएको छ । त्यहाँ तापक्रम ३८ डिग्री सेल्सियसको नजिक पुगेको छ । त्यहाँको डि–डब्लु–डी मौसम सेवाले गर्मी र आर्द्रताको मिश्रणले भीषण गर्जनसहितको वर्षा गराउन सक्ने चेतावनी दिएको छ ।
आल्प्स पर्वत शृंखलापारि ३६–३७ डिग्री सेल्सियससम्म पुग्ने अपेक्षा गरिएको तापक्रमले इटलीका केही शहरहरूको दैनिक जनजीवन र पर्यटनलाई प्रभावित बनाइरहेको छ ।

रोमको गर्मीले पर्यटकीय स्थलहरूको भ्रमणलाई सहनशीलताको परीक्षामा परिणत गरेपछि आगन्तुकहरू कोलोसियम बाहिर चर्को घाममा लाइन लागेका थिए । कतिपयले टेम्पल अफ क्लाउडियसका आधा पुरिएका अवशेषहरू मुनिका चिसो भूमिगत ठाउँहरूमा राहत खोजेका थिए ।

उत्तरी सहर बोलोन्यामा मानिसहरूले १६औं शताब्दीको फाउन्टेन अफ नेप्च्युनमा आफ्नो अनुहारमा पानी छ्यापेर र पोर्टिको (स्तम्भयुक्त छहारी) को ओत लागेर गर्मी छल्ने प्रयास गरिरहेका छन् ।

तर स्पेनमा फुटबल महासंघले मड्रिडको प्लाजा डे कोलोन स्क्वेयरमा ठूला स्क्रिनहरूसहित स्थापना गरेको फ्यान जोन बन्द गर्ने निर्णय गरेको छ जसको अर्थ समर्थकहरूले साउदी अरब विरुद्धको स्पेनको विश्वकप खेल अन्यत्रै हेर्नुपर्नेछ ।

विडम्बनाको कुरा त के छ भने खेलाडीहरू आफैंले भने एटलान्टाको वातानुकूलित रंगशालामा खेल्ने सुविधा पाउनेछन् । त्यो आंशिक रूपमा सौर्य प्यानलबाट सञ्चालित छ ।

वैज्ञानिकहरूका अनुसार, जलवायु परिवर्तनले युरोपभरि तातो लहरलाई अझ बारम्बार र तीव्र बनाउँदै लगेको छ । त्यसले गर्मी महिनाहरूमा स्वास्थ्य संकट र आर्थिक अवरोधको जोखिम बढाएको छ ।

अत्यधिक गर्मीले पुर्याउने आर्थिक क्षतिको विषयले पनि ध्यान आकर्षित गरिरहेको छ । बैंक अफ फ्रान्सका गभर्नर इमानुएल मुलिनले आर्थिक वृद्धिमा यसको अल्पकालीन प्रभाव केही हदसम्म अस्पष्ट रहेको बताएका छन् ।

उनले घटेको उत्पादकत्व र बढेको ऊर्जा खपतलाई उद्धृत गर्दै मध्यम अवधिमा तातो लहरले आर्थिक गतिविधिमा नकारात्मक असर पार्ने चेतावनी दिएका छन् ।