
एजेन्सी । इरानले विश्वकपको समयमा आफ्नो टोलीले अमेरिकामा भोग्नुपरेको यात्रा प्रतिबन्धका बारेमा फुटबलको विश्व नियामक निकाय फिफामा उजुरी दिने योजना बनाएको छ ।
भिसाको अनिश्चितता र अमेरिकासँगको द्वन्द्वका कारण इरानी टोली अमेरिकामा हुने आफ्ना तीनवटा समूह चरणका खेलहरूका लागि सह–आयोजक मेक्सिकोमा रहेको आफ्नो प्रतियोगिता आधार स्थलबाट आउने–जाने गरिरहेको छ ।
अमेरिकी अधिकारीहरूले उनीहरूलाई खेलको २४ घण्टाभित्र प्रवेश गर्न र खेलकै दिन फर्कन अनिवार्य गरेका छन् । यसले गर्दा टोलीका प्रशिक्षक अमिर गालेनोईले इरान प्रतियोगिताकै सबैभन्दा उत्पीडित टोली भएको बताएका छन् ।
‘यी प्रतिबन्धहरू सहभागी टोलीहरूलाई समान अवस्था प्रदान गर्ने सिद्धान्तहरूसँग असंगत छन् र यसले उनीहरूको प्राविधिक तयारीलाई असर गर्न सक्छ भन्ने इरानी फुटबल महासंघको विश्वास छ,’ महासंघले शुक्रबार फिफासमक्ष आफ्नो विरोध घोषणा गर्दै जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।
ह्वाइट हाउस विश्वकप कार्यदलका निर्देशक एन्ड्रयू जुलियानीले बेलायती अखबार द टेलिग्राफलाई इरानको अमेरिका प्रवेशका शर्तहरूमा पुनः वार्ता गर्न आफू तयार रहेको बताए । वाशिङटनले इरानलाई खेलको समयमा थप समय बस्न दिने विषयमा विचार गर्न सक्ने उनले बताए ।
‘हेर्नुहोस्, सबै कुरा गतिशील हुन्छन् । यसमा छलफल गर्न सकिन्छ र हामी निश्चित रूपमा मैदानमा प्रतिस्पर्धात्मक निष्पक्षता सिर्जना गर्न चाहन्छौं । त्यसैले टोलीका प्रत्येक प्रशिक्षकले भिसा पाएका छन् र आउने अवसर पाएका छन्,’ उनले सियाटलमा अमेरिका र अस्ट्रेलियाबीचको खेलअघि भने ।
‘राष्ट्रपति यस प्रतियोगिताले प्रतिस्पर्धात्मक सन्तुलन कायम गरोस् भन्ने चाहनुहुन्छ र साथै खराब तत्त्वहरू देशमा प्रवेश नगर्ने कुरा सुनिश्चित गर्न चाहनुहुन्छ । हामीले एक महिना बाँकी रहँदै त्यो गरेका छौं ।’
प्रशिक्षक गालेनोईले यस अवरोधले न्युजिल्यान्डसँगको २–२ को बराबरी खेलमा आफ्नो टोलीलाई असर गरेको बताए ।
‘कोचिङ स्टाफको योजना अनुसार टोलीलाई प्राविधिक र शारीरिक रूपमा उत्कृष्ट अवस्थामा राख्न प्रत्येक खेलको दुई दिनअघि आयोजक शहरमा यात्रा गर्न र खेलको भोलिपल्ट आफ्नो आधार स्थलमा फर्कन आवश्यक थियो,’ महासंघले भन्यो, ‘तर, न्युजिल्यान्ड विरुद्धको पहिलो खेलका लागि यो अनुरोध स्वीकृत भएन ।’
अमेरिकाको आन्तरिक सुरक्षा विभागले यी उपायहरू इरानसँगको सहमतिमा गरिएको सुरक्षा सावधानी भएको बताएको छ । इरानले जुन २१ मा लस एन्जलसमा बेल्जियमको सामना गर्नेछ र जुन २७ मा सियाटलमा इजिप्ट विरुद्धको खेलसँगै समूह जी का आफ्ना खेलहरू टुंग्याउनेछ ।
‘टोलीलाई म्याच डे माइनस वान अर्थात् खेल हुनुभन्दा एक दिनअगाडि आउन अनुमति दिइनेछ । उनीहरूलाई खेल सकिएकै दिन अर्थात् खेलको साँझ नै फर्कन भनिनेछ,’ विभागका प्रवक्ताले रोयटर्सको ईमेल सोधपुछको जवाफमा भने ।
‘फेरि पनि राष्ट्रपति मैदानमा वास्तवमा के हुन्छ भन्ने कुरामा केन्द्रित हुन चाहनुहुन्छ । यसको मुख्य उद्देश्य भनेको रंगशाला वरपर मात्र नभई बेस क्याम्प र प्रशिक्षण स्थलहरू वरपर पनि सबै कुरा सुरक्षित रहेको सुनिश्चित गर्नु हो ।’






प्रतिक्रिया