
काठमाडौं । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता प्रकाश सपुत नियुक्त भएका छन् ।
आइएमई लिमिटेडले एक कार्यक्रमका बीच सपुतलाई आफ्नो सांगीतिक एम्बास्डरका रूपमा सार्वजनिक गरेको हो ।
रेमिट्यान्स सेवालाई थप प्रभावकारी बनाउँदै ग्राहकहरूसँगको सम्बन्धलाई अझ बलियो बनाउने उद्देश्यले सपुतलाई आबद्ध गरिएको कम्पनीले जनाएको छ ।
आफ्ना मौलिक लोक सिर्जना र सामाजिक चेतनामूलक गीतहरूका कारण सपुत नेपाली समाजमा निकै लोकप्रिय छन् । गाउँदेखि सहरसम्म र दूरदराजदेखि विदेशमा रहेका नेपालीहरूमाझ उनका गीतहरू उत्तिकै रुचाइएका छन् ।
रोजगारीका लागि विश्व श्रम बजारमा पुगेका आम नेपालीहरूको भावनालाई प्रकाश सपुतले आफ्ना गीत संगीत मार्फत बोल्दै आएका छन् । देशको अर्थतन्त्र र समाजलाई समृद्ध बनाउन रेमिट्यान्सले खेलेको भूमिकालाई आम मानिससम्म बुझाउन सपुतको आगमनले थप मद्दत पुग्ने विश्वास रहेको आइएमईले जनाएको छ ।
सम्झौता कार्यक्रममा बोल्दै आइएमई लिमिटेडका महाप्रबन्धक बद्री कटवालले भने,’ उहाँका सिर्जनाले समाजको यथार्थ बोल्ने र नेपालीको मन छुने भएकाले यो सहकार्यले हाम्रो अभियानमा एउटा छुट्टै आफ्नोपन थप्नेछ।’
त्यस्तै, गायक सपुतले आइएमई जस्तो प्रतिष्ठित संस्थासँग जोडिन पाउँदा आफू निकै उत्साहित भएको बताए । उनले विश्वभर छरिएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई संगीतको माध्यमबाट आफ्नो माटोसँग जोडीराख्ने प्रतिबद्धता जनाए ।






प्रतिक्रिया