
काठमाडौं । मुलुकमा वैदेशिक लगानीकर्ताको आकर्षण मुख्यतः साना उद्योगतर्फ केन्द्रित हुँदै गएको तथ्याङ्कले देखाएको छ ।
उद्योग विभागका अनुसार चालु आर्थिक २०८२/८३ को ११ महिनामा दर्ता भएका ९१४ उद्योगमध्ये ८९४ साना उद्योग रहेका छन् ।
साना उद्योगमा कम लगानी पर्ने भएकाले पनि दर्ता हुनेमा सबैभन्दा धेरै साना उद्योग रहेका छन् । ११ महिनामा ११ वटा मझौला र नौ वटा मात्र ठुला उद्योग दर्ता भएका छन् । ११ महिनामा सबैभन्दा धेरै ५७७ सूचना प्रविधिमूलक परियोजना दर्ता भएका छन् ।
विभागका विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विभाग प्रमुख प्रशान्त बोहोराले सूचना मुलुक उद्योगमा सीमा नभएकाले धेरै सङ्ख्यामा लगानी प्रतिबद्धता आएको जानकारी दिए ।
सूचना प्रविधिमा आधारित उद्योगमा लगानीकर्ताले सानो सानो रकम पनि लगानी गर्न सक्ने भएकाले धेरै सङ्ख्यामा दर्ता भएको उनको भनाइ छ । चीन र युरोपियन मुलुकबाट सूचना प्रविधिमूलक परियोजनामा लगानी प्रतिबद्धता आएको उनले बताए ।
चालु आवको ११ महिनामा ४७ अर्ब ६२ करोड रुपियाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ । विभागका अनुसार साउनदेखि जेठ मसान्तसम्म विदेशी लगानीकर्ताले ९१४ वटा उद्योगमा सो रकम लगानी गर्ने प्रतिबद्धता जनाएका हुन् ।
विभागको तथ्याङ्क अनुसार सो अवधिमा सबैभन्दा धेरै लगानी प्रतिबद्धता कृषि तथा वनपैदावारमा आधारित उद्योगमा आएको छ । यस क्षेत्रका १६ उद्योगमा मात्रै २२ अर्ब आठ करोड रुपियाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको छ । जुन कुल प्रतिबद्धताको सबैभन्दा ठुलो हिस्सा हो । सिन्धुलीको मासु प्रशोधन उद्योगमा सो लगानी प्रतिबद्धता आएको हो ।
पर्यटन क्षेत्रका २०२ उद्योगमा १२ अर्ब ९९ करोड ७४ लाख रुपियाँ बराबरको लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ ।
यस्तै उत्पादनमूलक ५२ उद्योगमा तीन अर्ब ५७ करोड १० लाख रुपियाँ लगानी प्रतिबद्धता आएको छ । सूचना प्रविधिमा आधारित ५७७ वटा परियोजनाका लागि दुई अर्ब ३६ करोड ५८ लाख रुपियाँ लगानी गर्ने प्रतिबद्धता आएको छ ।
पूर्वाधारमूलक एउटा उद्योगमा एक अर्ब ६५ करोड ४४ लाख रुपियाँ, दुई वटा ऊर्जामूलक उद्योगमा २३ करोड, ४२ लाख ५० हजार र दुई खनिज उद्योगमा ११ करोड ५० लाख रुपियाँ लगानी प्रतिबद्धता आएको विभागको तथ्याङ्क छ ।
विभागका अनुसार जेठमा मात्रै दुई अर्ब २९ करोड ५३ लाख रुपियाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको विभागले जनाएको छ । सो अवधिमा १८६ वटा नयाँ परियोजना दर्ता भएका छन्स जसबाट एक हजार २२१ जनाले रोजगारी पाउने अपेक्षा गरिएको छ ।






प्रतिक्रिया