आकृती कोलोनीको २८ युनिटमध्ये १२ युनिट बिक्री, कतिको गर्‍यो कारोबार ?


काठमाडौं । बुढानीलकण्ठको हेपाली हाइटमा निर्माण गरिएको आकृती कोलोनीको २८ वटा युनिटमध्ये १२ वटा बिक्री भएको छ । सीडी इन्नोभेटिभ डिजाइन एन्ड कन्स्ट्रक्सन प्रालिले चालु आवको ९ महिनासम्ममा २८ युनिटमध्ये १२ वटा बिक्री गरेका छन् ।

कम्पनीले गत आवमा ७ युनिट बिक्री गरेको थियो । कम्पनीले उक्त हाउजिङ बिक्री गरेबापत २७ करोड ८० लाख रुपैयाँ रकम संकलन गरेको थियो ।

चालु आवको ९ महिनाको अवधिमा ५ वटा बिक्री गरेका छन् । त्यस्तै कम्पनीले चालु आवको अन्त्यसम्ममा अझै तीन वटा बिक्री गर्ने जनाएको छ । साथै, कम्पनीले ८ युनिट हाउजिङको बुकिङको अग्रिम भुक्तानीवापत ३२ करोड रुपैयाँ प्राप्त भइसकेको जनाएको छ ।

कम्पनीले गत आवमा ५३ करोड १० लाख रुपैयाँको कारोबार गरेको छ । कम्पनीले सन् २०२४ मा १० करोड १० लाख रुपैयाँ र सन् २०२३ मा ८ करोड १० लाख रुपैयाँको कारोबार गरेको थियो ।

सन् २०१५ मा स्थापना भएको कम्पनीले आवासीय र व्यवसायिक हाउजिङ निर्माण गरी बिक्री वितरण गर्दै आएको छ ।

कम्पनीले बुढानीलकण्ठको हेपाली हाइटमा ७ हजार ५ सय २५.६२ स्क्वायर मिटर क्षेत्रफलमा २८ वटा युनिट हाउजिङ निर्माण गरेका छन् । कम्पनीअनुसार गत आवमा कारोबार ४३ प्रतिशतले वृद्धि भएको छ ।

कम्पनीको पुँजी संरचना ऋणमा आधारित छ । ऋणको स्तरमा केही कमी आइको कम्पनीको भनाइ छ । कम्पनीको गत आवमा समग्र गियरिङ अनुपात ३.१६ गुणा रहेको छ । सन् २०२४ मा २.९२ गुणा थियो ।

कम्पनीका ऋणसम्बन्धी सूचकहरु अझै पनि दबाबयुक्त अवस्था छ । कम्पनीको क्रमिक रुपमा ऋणभार घट्दै गएको छ ।

सञ्चालनमा रहेको रियल इस्टेट परियोजनाबाट प्राप्त ग्राहक अग्रीम रकम, मौज्दात सम्पत्तिको बिक्री तथा निर्माणसम्बन्धी गतिविधिबाट प्राप्त नगद प्रवाहले सहयोग पुर्‍याएको छ ।

कम्पनीको ब्याज कभरेज अनुपात गत आवमा घटेर १.१६ गुणामा सीमित भएको छ । सन् २०२४ मा २५.४७ गुणा थियो ।

दिपक कुँवर अध्यक्ष रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ६५ करोड ४७ लाख रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीले दीर्घकालीन कर्जाका लागि १६ करोड रुपैयाँ र अल्पकालीन कर्जाका लागि ४९ करोड ४७ लाख रुपैयाँको रेटिङ गराएको हो ।