
एजेन्सी । एप्पलले आफ्ना उत्पादनहरूको मूल्य बढाउने योजना बनाएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत टिम कुकले मेमोरी चिपको लागतमा भएको भारी वृद्धिका कारण मूल्य बढाउनुपरेको बताएका हुन् । वाल स्ट्रिट जर्नलसँग कुरा गर्दै एप्पलका बिदाइ हुन लागेका सीईओ कुकले मेमोरी चिपको वर्तमान स्थिति असहज बनेको र मूल्य वृद्धि अपरिहार्य रहेको उल्लेख गरे ।
उनले मूल्य कहिलेदेखि बढ्नेछ वा कुन–कुन उत्पादनमा यसको प्रभाव पर्नेछ भन्नेबारे भने स्पष्ट पारेका छैनन् । आगामी सेप्टेम्बरमा सार्वजनिक हुने भनिएको आईफोन १८ मा यो मूल्यवृद्धि लागू हुने वा नहुने भन्ने कुरा पनि अझै अनिश्चित छ ।
मोबाइल फोन जस्ता स्मार्ट उपकरणहरूका लागि मेमोरी चिप्स अत्यावश्यक मानिन्छन् । तर, पछिल्लो समय कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग र मागमा आएको उछालले गर्दा यस्ता चिपको मूल्य आकाशिएको छ ।
यसैबीच, अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले एप्पलले अमेरिकामै चिप निर्माण गर्नका लागि चिप निर्माता कम्पनी इन्टेलसँग सहकार्य गर्न सहमति जनाएको बताएका छन् । उनले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा एक पोस्ट गर्दै अमेरिकाभित्रै आफ्नै चिपहरू डिजाइन र निर्माण गर्न आवश्यक भएकाले आफूले इन्टेललाई सहयोग गर्ने निर्णय गरेको उल्लेख गरे ।
संघीय सरकारले इन्टेलमा १० प्रतिशत हिस्सा लिने गत वर्षको अगस्टमा ट्रम्प प्रशासनले घोषणा गरेको थियो । बिहीबार अमेरिकी सेयर बजार खुल्दा इन्टेलको सेयर मूल्य १० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।
एप्पलका प्रमुख कुकले आफूहरूले ग्राहकहरूलाई मूल्यवृद्धिको मारबाट बचाउने प्रयास गरे पनि अहिलेको अवस्था धान्न नसकिने मोडमा पुगेको बताए । झन्डै १५ वर्ष एप्पलको नेतृत्व सम्हालेका कुक आगामी सेप्टेम्बरदेखि बिदा हुँदैछन् र उनको ठाउँ जोन टर्नसले लिनेछन् ।
कुकका अनुसार, उपभोक्ताको माग बढिरहेका बेला चिपको आपूर्ति कम हुनु र उत्पादकहरूले अत्यधिक मूल्य बढाउनु नै मुख्य समस्या हो ।
कम्प्युटरको सस्तो पाटपुर्जा मानिने र्यामको मूल्य सन् २०२५ अक्टोबरदेखि हालसम्म दोब्बरभन्दा बढी भइसकेको छ ।
आईको बढ्दो मागका साथै इरानमा भइरहेको युद्धले सेमीकन्डक्टर बनाउन प्रयोग हुने हिलियम ग्यासको विश्वव्यापी आपूर्तिमा अवरोध पुर्याएको छ । त्यसले गर्दा चिपको लागत थप बढेको छ । अनुसन्धान संस्था ओम्डियाका अनुसार, सन् २०२६ मा विश्वभर स्मार्टफोनको औसत बिक्री मूल्य २० प्रतिशतले बढेर अहिलेसम्मकै उच्च विन्दुमा पुग्ने अनुमान गरिएको छ ।ओम्डियाका
विश्लेषक चिव ले सुआनले बीबीसीलाई बताएअनुसार, नयाँ एआई फिचरहरू सपोर्ट गर्नका लागि स्पेसिफिकेशन अपग्रेड गर्नुपर्ने भएकाले एप्पलका नयाँ फोनहरूको मूल्य आइफोन १७ को तुलनामा १५० डलरसम्म महँगो हुन सक्छ ।
धेरैजसो स्मार्टफोन ब्रान्डहरूले आफ्नो नाफा जोगाउन मूल्य बढाइसकेका छन् वा केही सुविधाहरू कटौती गरेका छन् ।
एप्पल बाहेक अन्य प्रविधि दिग्गजहरूले पनि चिप उद्योगमा दबाब महसुस गरिरहेका छन् । विश्वको सबैभन्दा ठूलो चिप निर्माता टीएसएमसीले पनि मुद्रास्फीतिका कारण मूल्य बढाउन सक्ने संकेत दिएको छ ।
सामसङले पनि मेमोरी चिपको अभावले इलेक्ट्रोनिक उपकरणहरू महँगो हुने चेतावनी दिएको छ । यसैगरी सोनीले प्लेस्टेशन ५ को मूल्य बढाइसकेको छ भने निन्टेन्डोले पनि बजारको बदलिँदो परिस्थितिका कारण आफ्नो स्विच २ को मूल्य बढाउने घोषणा गरेको छ ।
गत सेप्टेम्बरमा सार्वजनिक भएको आइफोन १७ सिरिज निकै लोकप्रिय रहेको छ । चीनमा देखिएको उच्च मागका कारण सन् २०२६ को पहिलो तीन महिनामा एप्पलका उपकरणहरूको बिक्री १७ प्रतिशतले बढेको छ ।
तर, एप्पलले यस वर्षको सुरुवातमै आफ्नो म्याक मिनीको सुरुवाती मूल्य करिब २०० डलरले बढाएको थियो ।






प्रतिक्रिया