तरलता व्यवस्थापन गर्न ६० अर्बको निक्षेप संकलन उपकरण जारी गर्दै राष्ट्र बैंक

35
Shares

काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न बुधबार ६० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्दैछ ।

केन्द्रीय बैंकको मौद्रिक व्यवस्थापन विभागले २३ दिनको अवधिका लागि यो निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निष्कासन गर्न लागेको हो ।

निक्षेप संकलन बोलकबोल निष्कासन प्रक्रियामा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाहरूले बुधबार दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयर मार्फत आफ्नो बोलकबोल पेश गरिसक्नुपर्नेछ।

राष्ट्र बैंकले आह्वान गरेको निक्षेप संकलनमा वाणिज्य बैंक, विकास बैंक, र फाइनान्स कम्पनीहरुले मात्रै भाग लिन पाउनेछन्। बोलकबोल गर्दा ब्याजदरलाई आधार मान्नुपर्ने र सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थाहरूलाई प्राथमिकता दिएर रकम बाँडफाँड गरिने राष्ट्र बैंकले जनाएको छ। यसरी संकलन गरिने निक्षेपको सावाँ तथा ब्याज भुक्तानी आगामी असार १९ गते हुनेछ।

सहभागी संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग जाँदा बाँकी नरहने गरी कुल आह्वान गरिएको रकमसम्मका लागि आवेदन दिन सक्नेछन् ।

यस उपकरणमा लगानी गरिएको रकमलाई बैंकहरूले अनिवार्य नगद मौज्दातमा गणना गर्न पाउने छैनन् । तर, वैधानिक तरलता अनुपात र तरलता अनुपातमा भने गणना गर्न पाउने सुविधा दिइएको छ ।

यो निक्षेपको भुक्तानी अवधि अगावै ‘प्रि–म्योचर’ भुक्तानी नहुने र बोलपत्र स्वीकृत भएका संस्थाहरूको खातामा पर्याप्त रकम नभएमा उनीहरूलाई कालोसूचीमा राखी आगामी बोलकबोलमा प्रतिबन्ध लगाइने समेत राष्ट्र बैंकको सुचनमा उल्लेख छ ।