
काठमाडौं । नबिल बैंकले नेपाल–भारत–नेपाल क्रस-बोर्डर पर्सन-टु-पर्सन (पी२पी) रेमिटेन्स सेवा सुरू गरेको छ । यस सेवामार्फत ग्राहकहरूले नेपाल र भारतबीच सुरक्षित डिजिटल माध्यमबाट तत्काल पैसा पठाउन र प्राप्त गर्न सक्नेछन् ।
यस सेवाअन्तर्गत नबिल बैंकमा खाता भएका भारतीय नागरिकहरूले अब आफ्नो मोबाइल बैंकिङ एप ‘एनबैंक’ प्रयोग गरी भारतमा रहेका आफ्ना परिवार तथा साथीभाइलाई तत्काल पैसा पठाउन सक्नेछन् । त्यस्तै, नेपाली तथा भारतीय दुवै नागरिकहरूले नेपालमा रहेका नबिल बैंक प्रयोगकर्ताहरुलाई सजिलै र छिटो रकम पठाउन सक्ने व्यवस्था गरिएको छ ।
बैंकका अनुसार यो सेवा दुवै देशका ग्राहकका लागि सीमापार भुक्तानीलाई सरल, सुरक्षित र सहज बनाउन डिजाइन गरिएको हो । ‘यो सेवा सीमापार भुक्तानीलाई छिटो र सहज बनाउने दिशामा महत्वपूर्ण कदम हो । यसले नेपाल र भारत दुवै देशमा डिजिटल बैंकिङ सेवा सुधार गर्ने तथा ग्राहक सुविधालाई विस्तार गर्ने हाम्रो प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ,’ नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले बताए ।
बैंकले सेवाको प्रयोगमा नियामकीय व्यवस्था र सहजता दुवैलाई ध्यानमा राख्दै सीमा तोकिएको छ । नेपालबाट भारततर्फ रकम पठाउँदा ग्राहकले दैनिक अधिकतम भा.रु १५ हजार र मासिक अधिकतम भा.रु १ लाख सम्म पठाउन सक्नेछन् । त्यस्तै, भारतबाट नेपालतर्फ दैनिक अधिकतम भा.रु २ लाखसम्म रकम पठाउन सकिनेछ भने मासिक सीमा लागू हुने छैन ।
यो सेवा नेपालमा नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र भारतमा युनिफाइड पेमेन्ट्स इन्टरफेस (युपीआई) को सहकार्यमा सञ्चालन गरिएको हो, जसले दुई देशबीच सुरक्षित तथा सहज डिजिटल लेनदेन सुनिश्चित गर्नेछ ।
नबिल बैंकले देशभर २६६ शाखा सञ्जालसहित ३१८ एटिएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ ।
बैंकले २५ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको तथा आफ्ना सबै सरोकारवालासँग सहकार्य गर्दै अघि बढ्ने विश्वास राखेको छ । चार दशकदेखि गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले पछिल्लो समयमा दिगो बैंकिङको अवधारणालाई आत्मसात् गर्दै डिजिटल बैंकिङका लागि एनबैंक सञ्चालनमा ल्याएको छ ।









प्रतिक्रिया