
काठमाडौँ । आइएमई खल्ती लिमिटेड (खल्ती) ले नेपालका डिजिटल सामग्री उत्पादक (कन्टेन्ट क्रिएटर) हरूलाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले देशकै पहिलो राष्ट्रिय सम्मान मञ्च ‘आईएमई प्रेजेन्ट्स खल्ती इन्फ्लुएन्सर अवार्ड’ को घोषणा गरेको छ ।
डिजिटल इकोनोमीलाई संस्थागत गर्न र सिर्जनशीलतालाई पहिचान दिन यो अवार्ड सुरू गरिएको कम्पनीले जनाएको छ।
यस अवार्डमार्फत दुई सयभन्दा बढी प्रभावशाली व्यक्तित्वहरूलाई राष्ट्रिय पहिचान, ब्रान्ड साझेदारीका अवसर र नयाँ प्रतिभाहरूको प्रवर्द्धनका लागि मञ्च प्रदान गरिनेछ ।
अवार्डले स्थापित क्रिएटरहरूको सम्मान गर्ने, उदयमान प्रतिभाहरूलाई अवसर दिने र सामाजिक सन्देश प्रवाह गर्ने गरी तीन मुख्य विशेषताहरूलाई समेटेको छ । आगामी साउन १६ मा काठमाडौँमा एक भव्य ‘ग्रान्ड फिनाले’ मार्फत विजेताहरूको घोषणा गरिने प्रेस विज्ञप्तिमा उल्लेख छ ।
अवार्ड प्रक्रिया विभिन्न चार चरणमा सम्पन्न हुनेछ । पहिलो चरण अन्तर्गत वैशाख १ देखि असार १ गतेसम्म इच्छुक क्रिएटरहरूले खल्ती एपमार्फत निःशुल्क आवेदन दिन सक्नेछन् ।
यसमा मनोरञ्जन, जीवनशैली, खाना, खेलकुद, प्रविधि, यात्रा, फिटनेस, फेसन, शिक्षा र वित्त लगायतका विभिन्न श्रेणीहरूमा सहभागिता जनाउन सकिने व्यवस्था गरिएको छ । दोस्रो चरणमा असार १ देखि १० गतेसम्म विशेष जुरी टोलीले प्राप्त आवेदनहरूको मूल्याङ्कन गरी ‘शीर्ष १००’ क्रिएटरहरूको घोषणा गर्नेछ ।
असार ११ देखि साउन १६ गतेसम्म चल्ने तेस्रो चरणमा छनोट भएका क्रिएटरहरूले भोटिङ र कन्टेन्ट च्यालेन्जमा प्रतिस्पर्धा गर्नेछन् । यसमा क्रिएटरको योग्यता, जुरीको मूल्याङ्कन र दर्शकको सहभागितालाई ध्यानमा राखी विजेता छनोट गरिनेछ ।
अन्तिम चरणमा साउन १६ गते भव्य समापन समारोहका बीच सबै श्रेणीका विजेताहरूलाई सम्मान गरिनेछ । विजेताहरूले नगद पुरस्कारका साथै राष्ट्रिय पहिचान, मेन्टरसिप र अग्रणी ब्रान्डहरूसँग साझेदारीको अवसर प्राप्त गर्नेछन् ।
खल्तीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीका अनुसार इन्फ्लुएन्स अब केवल पहुँचको कुरा नभएर एक जिम्मेवारी पनि हो । उनले भने, ‘नेपालभरि एउटा स्मार्टफोन र एउटा कथा बोकेका युवा क्रिएटरहरूले हाम्रो समाजलाई नयाँ आकार दिइरहेका छन् । २०० फलोअर हुन् वा २० लाख, उनीहरूले सबैभन्दा ठुला नामहरूले पाउने जस्तै मञ्च पाउनुपर्छ भन्ने हाम्रो मान्यता हो ।’
सहभागी हुन चाहने क्रिएटरहरूले खल्ती एपमार्फत सिधै दर्ता गर्न सक्नेछन् । कार्यक्रमको विस्तृत विवरण र समयरेखाका बारेमा खल्तीको आधिकारिक इभेन्ट पेजबाट थप जानकारी लिन सकिने कम्पनीले जनाएको छ ।





प्रतिक्रिया