
काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेका बैंकिङ, गैरबैंकिङ तथा धितो सुरक्षणमा रहेका सम्पत्तिहरूको लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी प्रदान गर्ने उद्देश्यले एक विशेष अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ ।
पोर्टल मार्फत बैंकले लिलाम गर्ने सम्पत्तिहरूको सम्पूर्ण विवरणहरू ग्राहकले सहजै प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
बैंकले जारी गरेको प्रेस विज्ञप्ति अनुसार, इच्छुक ग्राहक महानुभावहरूले लिलाम बिक्री सम्बन्धी प्रकाशित सूचनामा रहेको क्युआर कोड स्क्यान गरेर वा सिधै ‘https://auctionassistance.nicasiabank.com’ लिंक मार्फत पोर्टलमा प्रवेश गर्न सक्नेछन् ।
यस पोर्टलमा लिलाममा रहेका सम्पत्तिहरूको कित्ता नम्बर, क्षेत्रफल, फोटो र नक्साका साथै उक्त सम्पत्तिको वास्तविक स्थान (लोकेशन) पहिचान गर्न गुगल म्याप समेत समावेश गरिएको छ । यसले गर्दा ग्राहकलाई सम्पत्तिको वस्तुस्थिति बुझ्न थप सहज हुने बैंकको विश्वास छ ।
ग्राहकहरूको जिज्ञासालाई सम्बोधन गर्न बैंकले पोर्टलमै सञ्चारको सुविधा पनि उपलब्ध गराएको छ । यदि कसैलाई कुनै सम्पत्तिको बारेमा थप जानकारी आवश्यक परेमा पोर्टलमा रहेको म्यासेज बक्समा आफ्नो नाम, इमेल, मोबाइल नम्बर र ठेगाना राखी म्यासेज पठाउन सकिने व्यवस्था मिलाइएको छ । यसरी प्राप्त सन्देशका आधारमा बैंकले सम्बन्धित ग्राहकलाई थप स्पष्ट पार्नेछ ।
बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत एवं प्रमुख सूचना अधिकारी जयन्द्र रावलका अनुसार, यस अनलाइन पोर्टलमा नियमित रूपमा लिलाम बिक्रीमा रहेका विभिन्न सम्पत्तिहरू र सो सम्बन्धी नयाँ सूचनाहरू अद्यावधिक गरिनेछ। बैंकले यस आधुनिक प्रविधिको प्रयोगबाट लिलाम बिक्री प्रक्रिया अझ पारदर्शी र ग्राहक मैत्री हुने अपेक्षा राखेको छ। इच्छुक खरिदकर्ताहरूले पोर्टलको प्रयोग गरी विस्तृत जानकारी लिई लाभ उठाउन सक्ने बैंकले जनाएको छ।









प्रतिक्रिया