
काठमाडौं । ब्रिटिस काउन्सिलले विद्यार्थी (शिक्षार्थी) को भाषिक यथार्थलाई प्रतिबिम्वित गर्ने तथा थप समावेशी, समानतामूलक र प्रभावकारी शिक्षालाई प्रवद्र्धन गर्ने उद्देश्य राखेर भाषाप्रति उत्तरदायी शिक्षा प्रणालीसम्बन्धी नयाँ विश्वव्यापी अवधारणापत्र सार्वजनिक गरेको छ ।
अवधारणापत्रले शिक्षामा भाषिक नीति तथा अभ्यासबारे संस्थाको दृष्टिकोण प्रस्तुत गर्दै विश्वव्यापी रुपमा अंग्रेजी भाषाको बदलिँदो आयाम र यसका जटिलतालाई स्वीकार गरी भाषिक विविधता तथा समयानूकुल र सन्दर्भ अनुसारको निर्णय प्रक्रियाको महत्वलाई जोड दिएको छ ।
विश्वका विभिन्न देशमा थुप्रै शिक्षा प्रणाली अनुसार विद्यार्थीले बहुभाषिक वातावरणमा अध्ययन गरिरहेका छन् तर विद्यालयमा प्रयोग हुने भाषा उनीहरुको घर परिवारमा बोलिने भाषाभन्दा फरक हुन सक्ने अवस्था छ ।
अहिलेको विश्वव्यापी परिवेशमाा अंग्रेजी भाषाले शिक्षा, अन्तर्राष्ट्रिय आवागमन र आप्रवासन तथा अवसरका क्षेत्रमा निकै महत्वपूर्ण भूमिका खेलेको भएपनि ब्रिटिस काउन्सिलले सबै देशका लागि शिक्षा प्रणालीमाा एउटै प्रकृतिको भाषिक मोडेल उपयुक्त हुँदैन भन्ने ठानेको छ ।
यस्तो अवस्थामा ब्रिटिस काउन्सिलले समय र सन्दर्भ अनुकूल तथा प्रमाणमा आधारित अवधारणालाई ध्यान दिएको छ । जसबाट स्थानीय नीति निर्माता र शिक्षासँग सम्वन्धित सरोकारवालाले आफ्नो ऐतिहासिक, आर्थिक, राजनीतिक र सामाजिक यथार्थलाई ध्यानमा राखेर शिक्षण तथा सिकाइका लागि भाषासम्बन्धी निर्णय गर्न सक्दछन् ।
अवधारणापत्र सार्वजनिक गर्दै ब्रिटिस काउन्सिलका अंग्रेजी तथा विद्यालय शिक्षासम्बन्धी निर्देशक माइकल कोनोलीले भने,‘भाषा कुनै पनि सिकाइको मुख्य पक्ष हो, जब कुनै पनि शिक्षा प्रणालीले विद्यार्थीको भाषिक यथार्थलाई स्वीकार गर्दै काम गर्दछ, त्यसपछि मात्र कक्षाकोठाहरु थप समावेशी बन्छन् भने सिकाइका लागि समेत उपयुक्त वातावरण तयार गर्न सक्दछन् । हाम्रो अवधारणाले प्रमाणमा आधारित निर्णय प्रक्रिया र प्रणालीगत योजनाको महत्व दर्शाएको छ, यसबाट भाषिक नीतिले विद्यार्थीको सफलतामा अवरोध नभई सहयोग पुर्याउन सक्दछ ।’
सिकाइ उपलव्धि सुधार गर्न तथा सबै विद्यार्थीका लागि अवसर दिलाउन सक्ने शिक्षा नीति र अभ्यास लागू गर्न सहयोग पुर्याउने उद्देश्यसहित ब्रिटिस काउन्सिलले भाषाप्रति उत्तरदायी अवधारणाका लागि नीति निर्माता र शिक्षा क्षेत्रका सबै सरोकारवालालाई प्रोत्साहित गर्ने लक्ष्य राखेको छ ।









प्रतिक्रिया