सम्पर्कमा नआएपछि अफिसमै पुगेर प्रहरीले ठेकेदारलाई उठाएर सिंहदरबारको बैठकमा पुर्‍याएपछि…

1k
Shares

काठमाडौं । निर्माण व्यवसायी रमेश शर्मा सोमवार बिहान १० बजे काठमाडौँको सीतापाइलास्थित आफ्नै कार्यालयमा थिए ।

निर्माण कम्पनी–शर्मा एण्ड कम्पनीका सञ्चालक रहेका उनलाई त्यही बेला उपत्यका अपराध अनुसन्धान कार्यालयबाट प्रहरी निरीक्षकको नेतृत्वमा तीन जना प्रहरीको टोली लिन आयो र भन्यो, ‘तपाईंलाई लिएर आउनू भन्ने मन्त्रीको आदेश छ । शहरी विकास मन्त्रालयमा जानुपर्‍यो ।’

शर्माले प्रहरीको आग्रह मान्दै सिंहदरबार गए ।

कार्यालयमै प्रहरी पुगेर शर्मा पक्राउ परेको खबर एकएक फैलियो । जसकारण निर्माण व्यवसायी वृत्तमा एकाएक तरंग फैलियो।

शर्मा र अर्का निर्माण व्यवसायी पीताम्बर बडूलाई ‘पक्राउ गरिएको’ समाचार बाहिरिए ।

घटनाबारे प्रतिक्रिया दिँदै निर्माण व्यवसायी रमेश शर्माले आफूलाई पक्राउको शैलीमा नभई ‘मिटिङका लागि’ मन्त्रालय लगिएको दाबी गरे ।

उनकाअनुसार केही फोनको जवाफ नदिएको भन्दै प्रहरी टोली कार्यालय पुगेको थियो ।

‘मलाई केही फोनहरू आउँदा रेस्पोन्स हुन सकेनछ । त्यसपछि ‘मिटिङमा लिन आएको’ भनेर लगियो र शहरी विकास मन्त्रालयमा ह्यान्डओभर गरियो,’ शर्माले भने ।

उनले प्रहरी टोलीले सभ्य व्यवहार गरेको दाबी गरे पनि कार्यालयमै प्रहरी पुगेर व्यवसायीलाई मन्त्रालय लैजानु अस्वाभाविक भएको बताए ।

‘पहिला मैले पुर्जी–सुर्जी के छ भनेर सोधेँ । उहाँहरूले ‘मन्त्रालयमा ह्यान्डओभर मात्रै हो’ भने,’ उनले भने ।

शर्माकाअनुसार उक्त दिनको मुख्य छलफल नौबिसे–मुग्लिन सडक आयोजनाबारे छलफल भयो । बैठकमा निर्माण सामग्रीको अभाव, डिजेल र बिटुमिनको मूल्यवृद्धि तथा नदीजन्य सामग्री उत्खननमा देखिएका समस्याबारे सरकारसँग छलफल भएको उनले बताए । हाल बिटुमिन आयातमा समस्या रहेको र मूल्य अत्यधिक बढेको शर्माले बताए ।

शर्माले निर्माण व्यवसायी महासंघले सरकारसँग संयुक्त रूपमा समाधान खोज्न आग्रह गरेको बताउँदा सरकारले नसुनेको बताउँदै प्रहरी लगाएर व्यवसायी उठाएर लैजानु गलत भएको बताए । उनका अनुसार सरकारले पनि विकास निर्माणको काम छिटो अघि बढाउन व्यवसायीहरूसँग सहकार्य चाहेको सोमबारको छलफलमा सन्देश दिएको थियो ।

सरकारको ढुकढुकी पूर्वाधार समयमा बनोस् भन्ने रहेको आफूले पाएको बताउँदै शर्माले त्यसमा होस्टेमा हैंसे गर्न तयार रहेको बताए ।