बजेट सुझाव: तस्करी रोक्न चिनीमा भन्सार महसुल घटाउन पूर्वका उद्योगीको माग


विराटनगर । तस्करी हुने प्रमुख उपभोग्य वस्तुमध्येमा पर्छ चिनी । विगतका हरेक सरकारले बजेटमार्फत चिनीको भन्सार महसुल तलमाथि गरेर भारतीय बजारको तुलनामा ठूलो मूल्य अन्तर कायम गर्दा यसको चोरी-तस्करी अत्यधिक हुँदै आएको छ।

भन्सार महसुल र भ्याटका कारण सीमावर्ती बजारमा चिनीको मूल्य फरक हुँदा चिनीसँगै हरेक उपभोग्य वस्तुको तस्करी मौलाउँदै आएको उल्लेख गर्दै पूर्वका उद्योगी व्यवसायीले आगामी बजेटमा चिनीको भन्सार महसुल तलमाथि नगर्न मात्र नभई भारतीय मूल्यसँग समायोजन गर्न सरकार समक्ष आग्रह गरेका छन् ।

भारतीय बजार र नेपाली बजारमा चिनीको मूल्य समान भए चिनी र यससँग जोडिएका अन्य उपभोग्य वस्तुको तस्करी रोकिने उनीहरूको दाबी छ ।

अहिले पनि भारतीय बजारको तुलनामा नेपालमा चिनीको मूल्य प्रति किलो २० रुपैयाँले बढी छ । यही २० रुपैयाँको अन्तरका कारण चिनीसहित त्यसमा आधारित औद्योगिक उत्पादन तथा अन्य उपभोग्य वस्तुको तस्करी भइरहेको उल्लेख गर्दै मोरङ उद्योग व्यापार संघका पूर्वअध्यक्ष महेश जाजुले भने, ‘भारतीय र नेपाली बजारमा चिनीको मूल्य समान हुने हो भने चिनीको मात्र नभएर अधिकांश उपभोग्य वस्तुको तस्करी रोकिएर राज्यको राजस्व असुली पनि बढ्छ ।’

विगतका अर्थमन्त्रीहरूले चिनी उद्योगीसँगको प्रभावमा हरेक वर्ष चिनीको भन्सार महसुलमा चलखेल गर्दै आएको आरोप व्यवसायीहरूको छ । त्यसले चिनी र त्यससँग सम्बन्धित उपभोग्य वस्तुको अत्यधिक तस्करी बढाउँदै आएको उद्योगीहरूको दाबी छ ।

गुडलाइफ ब्रान्डको बिस्कुटका उत्पादक तथा एसियन बिस्कुटका निर्देशक महेश जाजुले भने, ‘चिनीको भन्सार महसुलमा तलमाथि गरे जुस, बिस्कुट र कन्फेक्सनरी उद्योग स्वतः प्रभावित हुने मात्र नभएर सर्वसाधारण उपभोक्ता पनि मारमा पर्ने निश्चित छ ।’

अहिलेका अर्थमन्त्री स्वर्णिम वाग्लेले तस्करी बढ्नुको कारण र मुलुकको अर्थतन्त्र बुझेकोले उनले आत्मनिर्भर नभएको चिनी लगायतका उपभोग्य वस्तुमा भन्सार महसुल समायोजन गर्लान् भन्ने विश्वास गरिएको व्यवसायीको भनाइ छ ।

‘चिनी उद्योगीहरू चिनीमा भन्सार महसुल बढाउन अर्थमन्त्रीलाई प्रभावमा पार्ने प्रयासमा लागेका छन् । चिनीलाई कच्चापदार्थका रूपमा प्रयोग गरेर बिस्कुट, जुस, कन्फेक्सनरी लगायतका वस्तु उत्पादन गर्ने उद्योगीहरू भन्सार महसुल सम्भव भए घटाउन नभए यथावत् राख्न लबिइङ गरिरहेका छन्,’ एक उद्योगीले भने, ‘अर्थमन्त्रीको नियतमा भर पर्ने स्थिति छ ।’

तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्षको बजेट सार्वजनिक गर्दा चिनीको भन्सार महसुल ३० बाट घटाएर १५ प्रतिशत बनाएका थिए । भन्सार महसुल ३० प्रतिशत हुँदा चिनीको तस्करी अत्यधिक भएको पौडेलले बुझेर भन्सार महसुल घटाएका थिए । अहिले १५ प्रतिशत कायम हुँदा पनि भारतीय बजारको तुलनामा नेपाली बजारमा चिनीको मूल्य प्रति किलो २० रुपैयाँ बढी हुँदा तस्करी कायमै रहेको ती उद्योगीको भनाइ छ ।

तर नेपाल सुगर मिल्स एसोसिएसनले महसुल घटाएपछि आयातित चिनी सस्तो भएर नेपालका उद्योगको प्रतिस्पर्धी क्षमता कमजोर हुने दाबी गर्दै आएका छन् । चिनी मिल सञ्चालकहरू नै भारतबाट चिनी तस्करी गरेर ल्याई आफ्नो उद्योगको बोरामा प्याकिङ गरेर बिक्री गर्नमा सक्रिय रहँदै आएको उद्योगी व्यवसायीहरूको दाबी छ । नेपालका प्रायः सबै चिनी मिल सीमा क्षेत्रमा छन् । ती मिलले नै पारिबाट चिनी तस्करी गरेर ल्याई आफ्नो बोरामा प्याक गरेर बढी मूल्यमा बिक्री गर्दै आएको उद्योगीको दाबी छ ।

गत वर्ष स्वदेशी चिनी उद्योगले १ लाख ९० हजार टन चिनी उत्पादन गरेका थिए । यसपालि पनि त्यसकै हाराहारीमा चिनी उत्पादन भएको छ । जबकि मुलुकमा चिनीको खपत ३ लाख टनभन्दा बढी छ । जाजुले भने, ‘बाँकी रहेको केही मात्रामा चिनी भन्सार तिरेर आयात भए पनि १५ प्रतिशत भन्सार महसुल र भ्याटका कारण नेपाली बजारमा पाइने भारतीय चिनी तस्करीबाटै भित्रिने गरेको पाइएको छ ।’

चालु आवको चैत मसान्तसम्ममा २ अर्ब ९२ करोड १० लाख मूल्यको ४३ हजार ४०२ टन चिनी आयात भएको छ । गत आवको सोही अवधिमा १ अर्ब ६४ करोड १ लाख मूल्यको २३ हजार १७५ टन चिनी आयात गरिएको थियो । त्यसबाहेक नेपालमा खपत हुने भारतीय चिनी तस्करीबाटै भित्रिने सम्बद्ध उद्योगीहरूको दाबी छ ।

गत वर्ष विराटनगर नाकाबाट ५४ करोड १० लाख ३२ हजार ९६९ रुपैयाँ बराबरको ८० लाख ४९ हजार ६ सय किलो चिनी आयात हुँदा राज्यले ४ करोड १३ लाख ५६ हजार ३५३ रुपैयाँ भन्सार महसुल र ४ करोड १२ लाख १८ हजार ५ सय रुपैयाँ भ्याट असुली गरेको थियो ।

चालु वर्ष जोगवनी नाकाबाट ३ करोड ९० लाख २४ हजार २०५ मूल्यको ६ लाख ५ हजार केजी चिनी आयात हुँदा ५८ लाख ६५ हजार ७०५ रुपैयाँ भन्सार महसुल र ५८ लाख ३५ हजार ६९१ रुपैयाँ भ्याट असुली भएको छ ।

भन्सारको आँकडाले पनि गत वर्षको तुलनामा यस वर्ष चिनी कम आएर तस्करी बढेको पुष्टि हुन्छ । ती उद्योगीले भने, ‘अहिलेको अवस्थामा चिनीको भन्सार महसुल वृद्धि गरिए तस्करी झन् बढ्ने पक्का छ ।’

पूर्वको एकमात्र चिनी उद्योग इस्टर्न सुगर मिलले गत वर्ष १८ लाख ५५ हजार क्विन्टल क्रसिङ गरेर १ लाख ४० हजार क्विन्टल चिनी उत्पादन गरेको थियो । यस वर्ष १ लाख ७३ हजार ८६८ क्विन्टल चिनी उत्पादन गरेको छ ।

३० प्रतिशतको उच्च महसुलका कारण आन्तरिक बजार मात्र भएका जुस, बिस्कुट र कन्फेक्सनरीका उद्योग भने मारमा थिए । चिनीको अभावले ती उद्योगले उत्पादन कटौती गरेर आधा क्षमतामा मात्र उद्योग सञ्चालन गरेका थिए ।

मुख्य कच्चापदार्थका रूपमा प्रयोग गर्ने जुस, बिस्कुट र कन्फेक्सनरी लगायतका उद्योगीले चिनीको आयात महसुल वृद्धि भएमा आफ्ना उद्योग भारतीय उत्पादनसित प्रतिस्पर्धा गर्न नसक्ने स्वदेशी उद्योगीको गुनासो छ ।

उद्योगी जाजुका अनुसार चिनीको भन्सार महसुल ३० बाट १५ प्रतिशतमा झारेपछि स्वदेशी उद्योगले सामान्य राहत पाएका छन् । चिनीको भन्सार महसुल बढाइए लागत महँगो हुने र भारतीय उत्पादनसित प्रतिस्पर्धा गर्न सक्ने स्थिति रहँदैन ।

चिनीको महसुल ३० प्रतिशत हुँदा नेपालका जुस, बिस्कुट, कन्फेक्सनरी लगायतका कतिपय उद्योगले आधा उत्पादन कटौती गरेका थिए । महसुल वृद्धि भएमा सस्ता भारतीय उत्पादनसित हामी प्रतिस्पर्धा गर्न सक्दैनौँ । जिएसटीको दर कम भएका कारण भारतीय उत्पादनको लागत हाम्रोभन्दा सस्तो छ । यस्तो अवस्थामा महसुल वृद्धि गर्नु उद्योगको भविष्य संकटमा पर्नु हो ।