बाँदर धपाउन लालीगुराँस नगरपालिकामा सार्वजनिक बिदा, ‘बाँदर खेद्ने अभियान’ चलाइँदै

812
Shares

तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिकाले बाँदरको आतंकबाट बालीनाली जोगाउन सार्वजनिक बिदा दिएरै बाँदर लखेट्ने अभियान चलाउने भएको छ ।

नगरपालिकाले बाँदर खेद्ने अभियानमा सबै नगरबासीलाई सहभागी गराउन आगामी जेठ १ गते शुक्रबार नगरपालिकाभर सार्वजनिक बिदा दिने घोषणा गरेको हो ।

नगरपालिकाले एक सूचना जारी गर्दै जेठ १ र २ गते ‘बाँदर लखेटी नगरपालिकाको सिमाना कटाउने’ कार्यक्रम तय गरेको जानकारी दिएको हो ।

बाँदरका कारण किसानले सास्ती खेप्नु परेको, उत्पादित कृषि उपज नष्ट भएको र बाली कुर्नकै लागि बालबालिकाहरू विद्यालय जानबाट वञ्चित हुनुपर्ने दुःखद अवस्था सिर्जना भएपछि यस्तो निर्णय लिइएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को स्वीकृत बजेटमा ‘कृषिमा बाँदरबाट परेको क्षति न्यूनीकरण’ शीर्षक अन्तर्गत बजेट विनियोजन गरी बाँदर हेरालुसमेत खटाएको छः ।

अहिले अस्थायी संरचनासहित वडा नं. ८ को मेघा पुच्छार, वडा नं. ६, ७ र ८ को संगमस्थल नागेश्वरी र वडा नं. ५ को सिद्धपा पुच्छारमा बाँदर रुँग्नका लागि मानिसहरू खटाइएको सूचनामा उल्लेख छ।

नगर प्रमुख अर्जुन माबोहाङद्वारा हस्ताक्षरित सूचनामा जेठ १ र २ गते सञ्चालन हुने ‘बाँदर खेद्ने’ विशेष अभियानमा सक्रियताका साथ सहभागी हुन सम्पूर्ण किसान, जनप्रतिनिधि, कर्मचारी तथा सर्वसाधारणलाई अनुरोध गरिएको छ।

बाँदर खेद्नका लागि ठूलो संख्यामा जनपरिचालन आवश्यक पर्ने भएकाले जेठ १ गते शुक्रबार अत्यावश्यक बाहेकका सबै सेवाहरू बन्द रहने गरी सार्वजनिक बिदा दिइएको नगरपालिकाले स्पष्ट पारेको छ।

बाँदरको समस्यालाई राष्ट्रिय समस्याको रूपमा चित्रण गर्दै नगरपालिकाले तत्कालका लागि स्थानीय स्तरबाटै यो प्रयास सुरू गरेको बताएको छ। ‘बाँदर समस्याले किसानलाई आर्थिक क्षति मात्र पुर्‍याएको छैन, यसले सामाजिक जनजीवनमै गम्भीर असर पारेको छ,’ सूचनामा भनिएको छ ।

यसअघि पनि नेपालका विभिन्न पहाडी जिल्लाका स्थानीय तहहरूले बाँदर नियन्त्रणका लागि विविध प्रयास गरे तापनि लालीगुराँस नगरपालिकाले नै औपचारिक रूपमा बिदा दिएरै अभियान चलाउन लागेको यो सम्भवतः पहिलो घटना हो ।