अटो मोबाइल्स एसोसिएसनमा चुनाबी सरगर्मी, सक्षम र अनुभबी नेतृत्व खोज्दै ब्यवसायी




काठमाडौं । नाडा अटो मोवाइल्स एसोसिएसन आफ नेपालमा चुनाबी सरगर्मी बढेको छ । चैत २६ गते हुने ४१ औं बार्षिक साधारणसभाले आगामी कार्यकालको लागि नयाँ नेतृत्व समेत चुन्ने भएकोले चुनाबी सरगर्मी बढेको हो ।

सो अधिवेशनले आगामी कार्यकालको लागि अध्यक्षको निर्वाचित गर्नेछ । अटो मोवाइल्स क्षेत्रमा चुनौति थपिएको भन्दै त्यसको सामना गर्नको लागि अबको नेतृत्व कस्तो छान्ने भन्ने बारेमा ब्यवसायीबीच गहन छलफल पनि सुरु भएको छ ।

अटो मोबाइल्स क्षेत्रमा चुनौति थपिएकोले त्यसको सामना गर्न सबल, सक्षम र अनुभवी नेतृत्व आवश्यक भएकोले त्यस्तै नेतृत्व खोजीको पहल भएको नाडाका वर्तमान अध्यक्ष अन्जन श्रेष्ठ बताउँछन् । उनले अध्यक्षको रुपमा प्रभावकारी भूमिका निर्वाह गरेको भन्दै ब्यवसायीहरुले उनलाई नै फेरि अध्यक्ष बनाउन दबाब दिइरहेका पनि श्रेष्ठको भनाइ छ ।

‘अटो मोवाइल्स क्षेत्रमा चुनौति बढिरहेका छन्, यस्तो चुनौतिको सामना गर्न अनुभवी र सवल नेतृत्व चाहिन्छ भन्ने ब्यवसायी साथीहरुको भनाइ छ, यसै कुरालाई मध्यनजर गर्दै एक कार्यकाल दोहोर्याउनु पर्छ भनेर दबाब आइरहेको छ,’ अध्यक्ष श्रेष्ठले क्लिकमाण्डूसँग भने ।

ब्यवसायीबाट एक कार्यकालको लागि पुन अध्यक्ष बन्न श्रेष्ठलाई दबाब आएको भएपनि आफूले यसै गर्ने भनेर निर्णय गरिनसकेको उनले बताए ।

‘साथीहरुबाट एक कार्यकाल दोहोर्याउनु पर्छ भन्ने दबाब आएको छ, विधानले पनि रोक्दैन, तर मैले के गर्ने भनेर निर्णय गरिसकेको छैन, परामर्शमै छु,’ श्रेष्ठले भने ।

एसोसिएसनका अन्य पदाधिकारीले पनि सर्बसम्म रुपमा सबल नेतृत्व चयन गर्ने पहल थालेका छन् ।

सरकारले अटो मोबाइल्स क्षेत्रलाई अनुत्पादक भन्दै यसमा जाने कर्जा कडाइ गर्न विभिन्न उपायहरु अपनाउँदै आएको छ । बैंकिङ क्षेत्रबाट प्रवाह हुने कर्जामा अटो मोबाइल्स क्षेत्रमा जाने कर्जालाई अनुत्पादक भन्दै बेलाबेलामा कर्जा सीमा घटाउने गरिएको छ ।

सरकारी अधिकारीहरुले अटो मोबाइल्स क्षेत्रलाई अनुत्पादक भने पनि यो क्षत्रलाई राजस्व संकलनको प्रभावकारी क्षेत्रको रुमपा लिने गरेका छन् । नयाँ नेतृत्वले सरकारसँगको यो सम्बन्धलाई सुमधुर बनाउने चुनौतिको सामना गर्नुपर्नेछ ।

यस्तै संघीय संरचनामा अटो मोबाइल्सको कर स्थानीय तहले लिने संबैधानिक ब्यवस्था छ । तर, स्थानीय तह तथा प्रादेशिक सरकारले अन्य कर थप गरेमा त्यसको ब्यवस्थापन कसरी गर्ने भन्ने चुनौति नयाँ नेतृन्व सामु खडा भएको छ ।

पछिल्लो समयमा भन्सार कार्यालयहरुले गाडी आयातमा पनि कारोबार मूल्यको अलावा सन्दर्भ मूल्यलाई आधार बनाउने गरेका छन् । यस्तो ब्यवस्थाले कतिपय पाटपूर्जामा कारोबार मूल्यभन्दा बढीको भन्सार तिर्नुपर्ने अबस्था सिर्जना भएको ब्यवसायीको गुनासो छ । नयाँ नेतृत्वले अर्थमन्त्रालयसँग समन्वय गरेको यो समस्या पनि समाधान गर्नुपर्ने छ ।

यस्तै पछिल्लो दिनहरुमा इलेक्ट्रिक सवारीको चर्चा ब्यापक रुपमा चल्न थालेको छ । यस्ता इलेक्ट्रिक सवारीको ब्यापक प्रयोगले ब्याट्री ब्यवस्थापन चुनौतिपूर्ण हुने वातावरणविदहरुको भनाइ छ । नाडाको नयाँ नेतृत्वले परिवर्तित सन्दर्भ अनुसार यस्ता चुनौतिको पनि उचित उपाय निकाल्नुपर्ने अबस्था छ ।

यस्तै चुनौति सामाना गर्नको लागि भन्दै ब्यवसायीहरुले अनुभबी र सक्षम नेतृत्व चयनको विकल्पमा गृहकार्य थालेका हुन् ।


क्लिकमान्डु