
काठमाडौं । महँगी दर लगातार बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को नौ महिनाको तथ्यांकअनुसार २०८२ चैत महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.४७ प्रतिशत पुगेको छ ।
गत आर्थिक वर्ष २०८१/८२ को चैतमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.३९ प्रतिशत मात्र रहेको थियो । पछिल्लो केही महिनायता वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति लगातार बढिरहेको छ ।
चैतमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.०१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.७२ प्रतिशत छ । गत आ.व. को चैतमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.४५ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९० प्रतिशत थियो ।
करिब साढे २ महिनायता मध्यपूर्वमा जारी तनावका कारण विशेषगरी दक्षिण एसियाली मुलुकमा इन्धनलगायतका वस्तुको सप्लाई चेनमा असर परेको छ भने महँगी बढ्दै गएको छ । जसले गर्दा पछिल्ला महिनाहरूमा महँगी दर बढेको छ ।
आर्थिक वर्षको सुरुआती महिनामा महँगी दर न्यून भएकाले चालू आर्थिक वर्षको नौ महिनाको औसत मुद्रास्फीति भने २.३९ प्रतिशत छ । गत आर्थिक वर्षको सोही अवधिको औसत मुद्रास्फीति ४.५७ प्रतिशत थियो ।
खाद्य समूहअन्तर्गत घिउ तथा तेल समूहको सूचकांक सबैभन्दा बढी १२.८७ प्रतिशतले वृद्धि भएको छ । यस्तै, फलफूल समूहको सूचकांक ११.६७ प्रतिशत र तरकारीको ९.१८ प्रतिशतले बढेको छ । अर्कोतर्फ दाल तथा गेडागुडी २.७८ प्रतिशत, खाद्यजन्य पदार्थ १.६८ प्रतिशत र मरमसला समूहको सूचकांक १.६४ प्रतिशतले घटेको छ ।
गैर–खाद्य समूहमा विविध वस्तु तथा सेवा समूहको सूचकांक १९.९४ प्रतिशतले बढेको छ भने यातायात समूहको सूचकांक १२.०३ प्रतिशत र शिक्षामा ७.४६ प्रतिशतको वृद्धि देखिएको छ । मदिराजन्य पेय पदार्थ समूहको सूचकांक ४.७७ प्रतिशत र कपडा तथा जुत्ताचप्पल ४.७३ प्रतिशतले महँगिएका छन् ।
चैतमा ग्रामीण क्षेत्रको महँगी ३.७१ प्रतिशत रहँदा सहरी क्षेत्रमा ४.७४ प्रतिशत पुगेको छ । प्रदेशगत रूपमा लुम्बिनी प्रदेशमा सबैभन्दा बढी ५.१५ प्रतिशत महँगी देखिएको छ भने सुदूरपश्चिम प्रदेशमा सबैभन्दा कम ३.३९ प्रतिशत रहेको छ ।
काठमाडौं उपत्यकामा महँगी ४.६९ प्रतिशत पुगेको छ । भौगोलिक आधारमा तराईमा ४.८३ प्रतिशत, पहाडमा ४.१८ प्रतिशत र हिमालमा ३.२० प्रतिशत मुद्रास्फीति रहेको छ ।
चैत महिनामा थोक मुद्रास्फीति ३.९२ प्रतिशत रहेको छ, जुन गत वर्षको सोही अवधिको ४.२० प्रतिशतभन्दा केही कम हो । यस्तै, निर्माण सामग्रीको थोक मूल्य १.९७ प्रतिशतले बढेको छ ।
नेपालको महँगी भारतको तुलनामा बढी देखिएको छ । सन् २०२६ मार्च (२०८२ चैत) मा नेपालको मुद्रास्फीति ४.४७ प्रतिशत रहँदा भारतमा यस्तो महँगी ३.४० प्रतिशत रहेको छ ।









प्रतिक्रिया