फ्रान्सले विश्वकप फुटबल जित्ने प्रशंसकहरूको अनुमान, तर अर्को टोलीले जित्ने एआईको आकलन

308
Shares

एजेन्सी । बैंक अफ अमेरिकाको एउटा सर्वेक्षण अनुसार, यस वर्ष उत्तर अमेरिकामा आयोजना हुन लागेको फिफा विश्वकपमा फ्रान्स धेरैको रोजाइमा परेको छ ।

तर, माइक्रोसफ्टको को–पाइलट नामक कृत्रिम बुद्धिमत्ता उपकरणले भने अर्कै टोलीलाई विजेताको रूपमा समर्थन गरेको छ ।
सर्वेक्षणमा सहभागी करिब ४० प्रतिशत फुटबल प्रेमीहरूले यसै गर्मीमा हुने विश्वकप फ्रान्सले जित्नेमा दाउ लगाएका छन् ।

त्यस्तै, फ्रान्स तथा रियल मड्रिडका स्ट्राइकर किलियन एम्बाप्पेले प्रतियोगिताकै धेरै गोल गर्ने खेलाडीका रूपमा गोल्डन बुट जित्ने धेरैको अपेक्षा छ ।

तर, एआईको विश्लेषण अनुसार स्पेनी टोली ला रोजाले पनि उपाधि उचाल्ने उत्तिकै सम्भावना छ ।

अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्न लागेको यसपटकको विश्वकप अहिलेसम्मकै ठूलो हुने अपेक्षा गरिएको छ । १६ वटा सहरमा हुने १०४ वटा खेलहरू हेर्न करिब ६५ लाख दर्शक रंगशाला पुग्ने अनुमान गरिएको छ ।

फिफा र विश्व व्यापार संगठनको एक अध्ययन अनुसार, यो विश्वव्यापी खेलकुद महोत्सवले ८० अर्ब डलरभन्दा बढीको आर्थिक गतिविधि सिर्जना गर्ने, विश्वको कुल गार्हस्थ्य उत्पादनमा करिब ४१ अर्ब डलर थप्ने र ८ लाखभन्दा बढी रोजगारीलाई टेवा दिने प्रक्षेपण गरिएको छ ।

जुन ११ देखि सुरु हुने यस प्रतियोगितामा ४८ वटा टोलीहरू सहभागी हुनेछन् । यसपटक केप भर्डे, कुरासाओ, जोर्डन र उज्वेकिस्तान जस्ता देशहरूले पहिलोपटक विश्वकपमा भाग लिँदैछन् ।

सहभागी टोलीहरूले कुल ८७ करोड १० लाख डलर पुरस्कार रकम बाँड्नेछन् । फिफाले गत हप्ता घोषणा गरेअनुसार प्रत्येक टोलीले कम्तीमा १ करोड २५ लाख डलर पाउनेछन् ।

यसपटक साना टोलीहरूलाई यात्रा र प्रशिक्षण जस्ता खर्चहरू धान्न सजिलो होस् भनेर तयारी र छनोट शुल्कमा वृद्धि गरिएको छ जसको फाइदा उनीहरूलाई बढी पुग्नेछ ।

तयारीका लागि दिइने रकम सन् २०२२ को विश्वकपमा १५ लाख डलर रहेकोमा अहिले बढाएर २५ लाख डलर पुर्याइएको छ भने छनोट शुल्क ९० लाखबाट बढाएर १ करोड डलर बनाइएको छ ।

यति हुँदै गर्दा फिफाको नयाँ डाइनामिक (माग अनुसार परिवर्तन हुने) टिकट मूल्य प्रणालीलाई लिएर विवाद पनि सुरु भएको छ ।

सीएनबीसीका अनुसार, फिलाडेल्फियामा हुने कुरासाओ र आइभोरी कोस्टबीचको खेलका लागि ३८० डलरदेखि लस एन्जलसमा हुने अमेरिका र पाराग्वेबीचको खेलका लागि ४१ सय ५ डलरसम्म टिकटको मूल्य तोकिएको छ ।

फिफाको आधिकारिक टिकट पुनः बिक्री गर्ने प्लेटफर्ममा त एउटा टिकटको मूल्य १ करोड १५ लाख डलरसम्म पनि सूचीकृत गरिएको पाइएको छ ।

फिफा अध्यक्ष जियानी इन्फान्टिनोले उपलब्ध ७० लाख टिकटका लागि करिब ५० करोड ८० लाख अनुरोध प्राप्त भएको बताएका छन् ।

खेलकुद परामर्शदाता संस्था फोर्ट कन्सल्टिङका संस्थापक रिकार्डो फोर्टका अनुसार, यति ठूला प्रतियोगिताहरूमा टिकटको मूल्य सधैं संवेदनशील विषय बन्ने गर्छ । उनका अनुसार, कतिपय समर्थकहरूलाई खास गरी महत्त्वपूर्ण खेलहरूको टिकट आफ्नो पहुँचभन्दा बाहिर पुगेको महसुस हुने गर्छ ।