वायुसेवा निगम सञ्चालक सदस्य

महाप्रबन्धक बन्न खोजेका १० मध्ये ६ जनाले दिए सञ्चालकमा आवेदन, कार्यकारी छाडेर सदस्यमा मरिहत्ते

896
Shares

काठमाडौं । नेपाल वायुसेवा निगमको महाप्रबन्धक बन्ने दौडमा रहेका १० जनामध्ये ६ जनाले निगमको सञ्चालक समिति सदस्यमा आवेदन दिएका छन् । राष्ट्रिय ध्वजाबाहकको महाप्रबन्धक बन्न प्रस्तुतीकरणसहित अन्तर्वार्ता दिएर नतिजाको पर्खाइमा बसेका उम्मेदवारहरूले निगम सञ्चालक समिति सदस्य बन्न रुचि देखाएका हुन् ।

वायुसेवा निगमको महाप्रबन्धक बन्न आवेदन दिने १६ जनामध्येबाट पर्यटन मन्त्रालयले १० जनाको संक्षिप्त सूची सार्वजनिक गरेर उनीहरूको २०८२ माघ १४ गते अन्तर्वार्ता समेत लिइसकेको छ ।

महाप्रबन्धक बन्न ६५ वर्षे उमेरहद तोकिएका कारण उम्मेदवार बन्न नपाएका अच्युतराज पहाडीले ‘विज्ञलाई छेक्न नहुने’ भन्दै सर्वोच्चमा दिएको रिट, संक्षिप्त सूचीमा नपरेकाहरूले दिएको रिट र २१ फागुनदेखि लागू भएको निर्वाचन आचारसंहिताका कारण रोकिएको महाप्रबन्धक नियुक्ति अझै हुन सकेको छैन ।

अदालतमा विचाराधीन मुद्दाको टुङ्गो नलागेका कारण रोकिएको महाप्रबन्धक नियुक्ति प्रक्रियालाई थाती राखेरै निगमको सञ्चालक समितिमा रिक्त सदस्य पदपूर्ति गर्न पर्यटन मन्त्रालयले वैशाख १२ गते सार्वजनिक सूचना निकालेको थियो ।

सरकारले ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी गरी वैशाख १९ गते राजपत्रमा सूचना समेत प्रकाशन गरेपछि, सदस्य संख्या थप गरी कुल ५ जनाका लागि आवेदन मागिएको थियो। निगमको ५ सदस्य नियुक्तिका लागि २७ जनाले आवेदन दिएका छन् ।

आवेदन दिनेहरूमध्ये महाप्रबन्धकको नतिजा पर्खेर बसेका ६ जनाले निगम सदस्यका लागि पनि आवेदन दिएका हुन् । उपेन्द्रबहादुर कार्की, डा. दीपकप्रसाद बास्तोला, डा. भीमबहादुर चन्द, योगराज कँडेल शर्मा, विष्णुबाबु मिश्र र वेदप्रसाद उप्रेतीले निगमको सञ्चालक समिति सदस्य बन्न आवेदन दिएका छन् ।

पर्यटन मन्त्रालयका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायका अनुसार आवेदन दिएका सदस्यहरूको मूल्याङ्कन गर्ने काम भइरहेको छ । एक–दुई दिनमा संक्षिप्त सूची (सर्टलिस्ट) सार्वजनिक गरिने उनले बताए । उनका अनुसार निगम सदस्य बन्न आवेदन दिएकाहरूमध्ये योग्य व्यक्तिहरूबाट ५ जना नियुक्त हुनेछन् ।

किन दिए महाप्रबन्धक बन्न चाहेकाहरूले सदस्यमा आवेदन ?

नेपाल वायुसेवा निगमको कार्यकारी प्रमुखलाई सरकारले सञ्चालक समिति सदस्यहरूमध्येबाटै नियुक्त गर्न सक्ने व्यवस्था छ । नेपाल वायुसेवा निगम ऐन, २०१९ अनुसार सञ्चालकहरूमध्येबाट अध्यक्ष र उपाध्यक्ष नियुक्त गर्न सकिन्छ ।

सरकारले निगमको सञ्चालक समितिको अध्यक्ष, उपाध्यक्ष वा कुनै सञ्चालकलाई महाप्रबन्धकको जिम्मेवारी दिन सक्ने व्यवस्था छ । निगम ऐनको यही व्यवस्था अनुसार निगमको कार्यकारी अध्यक्ष, कार्यकारी उपाध्यक्ष वा महाप्रबन्धकले कार्यकारी सञ्चालकका रूपमा नियुक्ति पाउन सक्छन् ।

निगम ऐन अनुसार नियुक्त सञ्चालकहरूमध्येबाटै बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले कार्यकारी प्रमुखको जिम्मेवारी दिन सक्ने सम्भावना रहेकाले पनि महाप्रबन्धकमा आवेदन दिएकाहरूले नै सञ्चालक सदस्यमा रुचि देखाएका हुन् ।

Skip This