फाइभजी सञ्चालन गर्न फोरजीको प्रभावकारिता हुनुपर्ने

112
Shares

काठमाडौं । नेपालमा मोबाइल इन्टरनेटको पाँचौँ पुस्ता (फाइभजी) सेवा प्रभावकारी रूपमा सञ्चालन गर्न विद्यमान फोरजी पूर्वाधारको विस्तार र सुदृढीकरण अनिवार्य रहेको विज्ञहरूले औँल्याएका छन् । प्रविधि पत्रकार मञ्च (टीजेएफ) र हुवावे नेपालले बिहीबार आयोजना गरेको ‘टेक फर्वार्डस् मिडिया डायलग २०२६’ मा सहभागी विज्ञहरूले नेपालका लागि तत्काल ‘नन-स्ट्यान्ड अलोन’ फाइभजी प्रविधि नै उपयुक्त विकल्प हुने बताएका हुन् ।

हुवावे टावरमा आयोजित कार्यक्रममा विज्ञहरूले नेपालको भौगोलिक जटिलता र लगानीको चुनौतीका कारण छुट्टै नयाँ पूर्वाधार (स्ट्यान्ड-अलोन) भन्दा पनि हालको फोरजी एलटीई कोर नेटवर्कलाई नै आधार मानेर फाइभजी सेवा विस्तार गर्नुपर्नेमा जोड दिए । फोरजीकै पूर्वाधारमा फाइभजी उपकरण राखेर सेवा दिँदा लागत कम हुने र छिटो सेवा पुर्‍याउन सकिने उनीहरूको तर्क थियो ।

कार्यक्रममा ‘फाइभजी ट्रेन्ड एन्ड इन्नोभेसन’ बारे कार्यपत्र प्रस्तुत गर्दै प्रभात रेग्मीले फाइभजी प्रविधिले स्मार्ट सिटी, इन्टरनेट अफ थिङ्स (आईओटी), अटोमेसन र डिजिटल सेवाहरूलाई नयाँ उचाइमा पुर्‍याउने बताए । यद्यपि, विश्वमा थ्रीजी भित्र्याउन अग्रणी रहेको नेपाल फाइभजीमा भने सुस्त देखिएको भन्दै सहभागीहरूले चिन्ता व्यक्त गरे । नियामक नेपाल दूरसञ्चार प्राधिकरण, सेवा प्रदायक र सरकारबीच पर्याप्त समन्वय नहुँदा फाइभजी कार्यान्वयनमा ढिलाइ भएको धेरैको बुझाइ थियो ।

हुवावे नेपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चेन केयाङ (चेस्टर) ले नेपालको सूचना प्रविधि (आईसीटी) विकासका लागि दूरसञ्चार क्षेत्रको दिगो र अर्गानिक वृद्धि आवश्यक रहेको बताए । उनले भने, ‘नेपालमा सुधारका धेरै अवसर छन् । फाइभजी र समग्र प्रविधि विकासका लागि नियामक, सरकार, अपरेटर र मिडिया सबैको संयुक्त प्रयास महत्वपूर्ण हुन्छ ।’

विगत २७ वर्षदेखि नेपालमा सेवा दिँदै आएको हुवावेले सामाजिक र आर्थिक रूपान्तरणमा सहयोग जारी राख्ने हुवावे नेपालका कर्पोरेट अफेयर्स म्यानेजर असिट अधिकारीले प्रतिबद्धता जनाए । कार्यक्रममा प्रविधि पत्रकारहरूले फाइभजीको सम्भावना, साइबर सुरक्षा र डेटा गोपनीयताका विषयमा विज्ञहरूसँग अन्तरक्रिया समेत गरेका थिए ।