इरान युद्धका कारण खानेकुराका लागि हारालुछ हुन सक्ने चेतावनी

168
Shares

एजेन्सी । इरानमा भइरहेको युद्धका कारण मल र यसका मुख्य सामग्रीहरूको आपूर्तिमा आएको अवरोधले विश्वभर प्रति हप्ता १० अर्ब छाक खाना गुम्न सक्छ र यसको सबैभन्दा ठूलो मार गरिब देशहरूमा पर्नेछ ।

विश्वकै ठूला रासायनिक मल उत्पादकहरूमध्ये एक याराका प्रमुख कार्यकारी स्वेन तोरे होल्सेथरले बीबीसीलाई यो कुरा बताएका हुन् । उनका अनुसार, खाडी क्षेत्रमा जारी शत्रुताले हर्मुज जलयोजक मार्फत हुने ढुवानीलाई अवरुद्ध पारेको छ जसले विश्वव्यापी खाद्य उत्पादनलाई जोखिममा पारिरहेको छ ।

रासायनिक मलको कम प्रयोगका कारण बालीको उब्जनी घट्दा खाद्यान्नका लागि मूल्यको होडबाजी सुरु हुन सक्ने चेतावनी उनले दिए ।

उनले युरोपेली राष्ट्रहरूलाई मूल्यको यस होडबाजीले अन्य देशका अति जोखिममा रहेका मानिसहरूमा पार्ने प्रभावबारे गम्भीरतापूर्वक विचार गर्न आग्रह गरे ।

बेलायतले खाद्यान्न अभावको सामना गर्नुपर्ने सम्भावना निकै कम भए पनि खाद्य उत्पादकहरूले भोगिरहेको बढ्दो लागत आगामी केही महिनामा साप्ताहिक खाद्य बिलहरूमा देखिन थाल्ने अपेक्षा गरिएको छ ।

‘अहिलेको परिस्थितिका कारण विश्वमा हाल प्रति हप्ता ५ लाख टनसम्म नाइट्रोजनयुक्त मल उत्पादन हुन सकेको छैन,’ होल्सेथरले भने, ‘खाद्य उत्पादनका लागि यसको अर्थ के हो ? मलको अभावका कारण हरेक हप्ता १० अर्ब छाक खाना उत्पादन हुन सक्नेछैन ।’

नाइट्रोजनयुक्त मल प्रयोग नगर्दा पहिलो सिजनमै केही बालीको उब्जनी ५० प्रतिशतसम्म घट्न सक्ने होल्सेथरले बताए ।
‘मलको बजार विश्वव्यापी छ, त्यसैले यसका अवयवहरू विश्वभर ओसारपसार हुन्छन् । तर, यसको सबैभन्दा तत्काल प्रभाव एसिया, दक्षिणपूर्वी एसिया, अफ्रिका र ल्याटिन अमेरिकामा देखिनेछ ।’

सबसहारन अफ्रिकाका देशहरूमा पहिले नै मलको प्रयोग कम छ । त्यहाँ बालीको उब्जनीमा अझ ठूलो प्रभाव पर्न सक्ने र उत्पादनमा उल्लेख्य गिरावट आउन सक्ने उनले थपे ।

विश्वभरि खेतीपाती गर्ने समय फरक–फरक हुन्छ । बेलायतमा अहिले खेती गर्ने मुख्य सिजन हो भने एसियामा किसानहरूले सुरु गर्दैछन् ।

विश्लेषकहरूका अनुसार, एसियामा मल अभावको परिणाम खाद्यान्नको मूल्यमा यस वर्षको अन्त्यसम्ममा मात्र देखिनेछ जब यो वसन्त ऋतुमा लगाउनुपर्ने बालीको उब्जनी सोचेभन्दा कम हुनेछ वा उत्पादन नै हुनेछैन ।

सिंगापुरका खाद्य सुरक्षा सम्बन्धी वरिष्ठ फेलो प्रोफेसर पल टेङका अनुसार, केही देशहरूसँग तत्कालको सिजनका लागि पर्याप्त मल हुन सक्छ तर यो संकट अझै लम्बियो भने आगामी महिनाहरूमा धान जस्ता बालीहरूमा यसको प्रभाव देखिनेछ ।

होल्सेथरका अनुसार, विश्वभरका किसानहरूले चुनौतीपूर्ण समस्याहरूको सामना गरिरहेका छन् किनकि उनीहरूले उत्पादन गरेको खाद्यान्नको मूल्यले उनीहरूको बढ्दो खर्चलाई अझै धान्न सकेको छैन ।

‘उनीहरूले ऊर्जाको उच्च लागत, ट्य्राक्टरका लागि डिजेलको बढ्दो मूल्य र अन्य लागतहरूको सामना गरिरहेका छन् । मलको मूल्य बढिरहेको छ तर खाद्यान्नको मूल्य भने अझै सोही अनुपातमा बढिसकेको छैन,’ उनले भने ।

संयुक्त राष्ट्रसंघका अनुसार, विश्वको झन्डै एक तिहाइ मल जस्तै युरिया, पोटास, अमोनिया र फस्फेट सामान्यतया हर्मुज जलयोजक हुँदै जाने गर्छ ।

अमेरिका र इजरायलले इरानसँग युद्ध सुरु गरेदेखि मलको मूल्य ८० प्रतिशतले बढेको छ ।

यो द्वन्द्व जारी रहेमा धनी र गरिब राष्ट्रहरूबीच खाद्यान्नका लागि मूल्यको होडबाजी हुन सक्ने होल्सेथरले बताए ।

‘खाद्यान्नका लागि मूल्यको होडबाजी भयो र युरोप त्यसलाई सहन सक्षम छ भने पनि हामीले एउटा कुरा ध्यानमा राख्नुपर्छ, त्यस्तो अवस्थामा हामीले कसको भागको खाना खोसेर किनिरहेका छौं ?’

‘यस्तो अवस्थामा विकासोन्मुख राष्ट्रका अति जोखिममा रहेका मानिसहरूले सबैभन्दा ठूलो मूल्य चुकाउनुपर्नेछ जहाँ उनीहरूले त्यो मूल्य तिर्न सक्दैनन् ।’

याराका प्रमुखले यसको असर खाद्यान्नको सुलभता, अभाव र भोकमा पर्ने बताए ।

बेलायतमा फुड एण्ड ड्रिंक फेडरेशनले हालै डिसेम्बरसम्ममा खाद्य मुद्रास्फीति १० प्रतिशत पुग्न सक्ने अनुमान गरेको छ ।

बैंक अफ इंग्ल्यान्डले यसै साता बताएअनुसार, सेप्टेम्बरमा खाद्य मुद्रास्फीति ४.६ प्रतिशत पुग्न सक्छ र वर्षको अन्त्यतिर यो अझ बढ्न सक्छ ।

राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमको अनुमान अनुसार, पश्चिम एसियाको द्वन्द्वको संयुक्त असरले सन् २०२६ मा थप ४ करोड ५० लाख मानिसलाई गम्भीर भोकमरीतर्फ धकेल्न सक्छ ।

एसिया र प्रशान्त क्षेत्रमा खाद्य असुरक्षा २४ प्रतिशतले बढ्ने अपेक्षा गरिएको छ जुन कुनै पनि क्षेत्रको तुलनामा सबैभन्दा ठूलो वृद्धि हो ।