
एजेन्सी । यस महिनाको सुरुमा बैंक अफ इजरायलले पश्चिम एसियामा जारी द्वन्द्वलाई उद्धृत गर्दै यस वर्षको आफ्नो आर्थिक वृद्धि प्रक्षेपणमा भारी कटौती गरेको छ ।
तर, झण्डै तीन वर्षदेखि युद्धको अवस्थामा रहेको देशका लागि १.४ प्रतिशत विन्दुको कटौतीका बाबजुद केन्द्रीय बैंकले सन् २०२६ मा इजरायली अर्थतन्त्र ३.८ प्रतिशतले बढ्ने अपेक्षा गरेको उल्लेखनीय छ ।
बैंकका गभर्नर अमिर यारनले अप्रिल १६ मा सीएनबीसीलाई बताएअनुसार, यस क्षेत्रका द्वन्द्वहरू समाधान भएमा इजरायलको अर्थतन्त्र अर्को वर्ष ५.५ प्रतिशतले पुनरुत्थान हुन सक्छ ।
इजरायली अर्थतन्त्र यस वर्ष ३.५ प्रतिशतले बढ्न आईएमएफको अनुमान छ जबकि अमेरिकाको २.३ प्रतिशत र युरोपेली संघको १.३ प्रतिशत मात्र रहनेछ । यसको अर्थ हुन्छ, सन् २०२६ मा इजरायलको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सबै जी७ राष्ट्रहरूको तुलनामा राम्रो हुने प्रक्षेपण गरिएको छ । आईएमएफका अनुसार, अर्को वर्ष इजरायलले ४.४ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्नेछ, जसले धेरै प्रमुख विकसित अर्थतन्त्रहरूलाई पछि पार्नेछ ।
धेरै अन्य विकसित देशहरूको तुलनामा इजरायलको ऋण र जीडीपीको अनुपात निकै कम छ । आईएमएफले यस वर्ष यो दर ६९.८ प्रतिशत रहने प्रक्षेपण गरेको छ । सन् २०२५ को तुलनामा यो केही बढेको भए पनि यो जी७ राष्ट्रहरूको १२३.७ प्रतिशतको दरभन्दा धेरै कम हो ।
देशको बेरोजगारी दर मार्चमा सामान्य बढेर ३.२ प्रतिशत पुगेको छ तर यो अमेरिकाको ४.३ प्रतिशत र युरोजोनको ६.२ प्रतिशतको बेरोजगारी दर भन्दा कम हो ।
यसैबीच, इरान युद्ध सुरु भएको दुई महिनामा मुद्रास्फीति स्थिर रहेको छ । मार्चमा यो सामान्य घटेर १.९ प्रतिशतमा झरेको छ जबकि अमेरिका, ईयू र बेलायतमा तेलको मूल्य वृद्धिका कारण समग्र लागत बढेको छ । इजरायलमा मुद्रास्फीतिको लक्ष्य १ प्रतिशतदेखि ३ प्रतिशतसम्म रहेको छ ।
अक्टोबर ७, २०२३ मा उग्रवादी समूह हमासले गरेको आक्रमण र त्यसपछिको गाजा कारबाहीदेखि यो देश निरन्तर द्वन्द्वमा छ । फेब्रुअरी २८ मा इजरायलले अमेरिकासँग मिलेर इरानमा आक्रमण गरेको थियो र छिमेकी लेबननमा इरानी प्रोक्सी समूह हिजबुल्लाहसँग लडाइँ जारी राखेको छ । इजरायललाई यमनका हुतीहरूले पनि निशाना बनाउँदै आएका छन् ।
इकोनोमिस्ट इन्टेलिजेन्स युनिटकी वरिष्ठ विश्लेषक केरेन उजियेलले सीएनबीसीलाई बताएअनुसार, वर्षौंदेखिको युद्धका कारण इजरायलको अर्थतन्त्र आफ्नो क्षमताभन्दा कम बढे पनि लचिलो निजी क्षेत्र, कम मुद्रास्फीति, दक्ष श्रमशक्ति र निरन्तरको वृद्धिले यसलाई संकटबाट बाहिर निस्कन मद्दत गरेको छ ।
‘उच्च प्रविधियुक्त वस्तु र सेवाको निर्यात विगत दुई दशकको बलियो वृद्धि र सम्पत्ति सिर्जनाको मुख्य कारक हो । तर, ग्यास स्रोतको विकास र रक्षा निर्यात सहित अन्य क्षेत्रमा पनि अर्थतन्त्र बलियो रूपमा बढेको छ,’ उजियेलले भनिन् ।
‘सन् २०२५ मा इजरायलले साइबर सुरक्षाको क्षेत्रमा दुईवटा अहिलेसम्मकै ठूला वैदेशिक लगानी सम्झौताहरू ग-योः गुगलद्वारा ३२ अर्ब डलरमा विजको खरिद र पालो अल्टो नेटवर्क्सद्वारा २५ अर्ब डलरमा साइबरआर्कको खरिद जुन दुवै सन् २०२६ को मार्चमा सम्पन्न भएका थिए ।’
इजरायलको जनसांख्यिकी पनि विकसित अर्थतन्त्रका लागि अनुकूल छ जहाँ विगत दुई दशकको अधिकांश समय जनसंख्या वृद्धिदर औसत २ प्रतिशतको हाराहारीमा रहेको उनले थपिन् । उनले इजरायली जनसंख्या तुलनात्मक रूपमा युवा रहेको र प्रतिव्यक्ति आर्थिक प्रदर्शन पनि मजबुत रहेको बताइन् ।
युद्धविराम कायम रह्यो भने उजियेलको टोलीले वर्षको मध्यसम्ममा राम्रो पुनरुत्थान हुने र सन् २०२६ मा अर्थतन्त्र समग्रमा ३ प्रतिशतले विस्तार हुने अपेक्षा गरेको छ ।
तर, पेन्सिलभेनिया विश्वविद्यालयको ह्वार्टन बिजनेस स्कूलका फाइनान्स प्रोफेसर जोआओ गोम्सले सीएनबीसीलाई बताएअनुसासर, इजरायली अर्थतन्त्रले इरान युद्धको प्रभाव महसुस गर्न थालेको छ । विशेषगरी, युद्धका लागि परिचालन गरिएका कामदारहरूको अभाव र सुरक्षा चिन्ताका कारण घटेको उपभोक्ता खर्चले असर पारेको छ ।
पर्यटन क्षेत्र पनि नराम्ररी प्रभावित भएको छ । त्यसले आर्थिक वृद्धि र सरकारी राजस्वमा दबाब सिर्जना गरेको छ ।
गोम्सका अनुसार, दीर्घकालीन आर्थिक प्रभाव मध्यपूर्वमा हुने कुनै पनि शान्ति सम्झौताको प्रकृति र इजरायलको सुरक्षा अवस्थामा भर पर्नेछ ।
‘सरकारी ऋण उल्लेख्य रूपमा बढेको छ र यसका लागि वित्तीय समायोजन आवश्यक हुनेछ । तर, इजरायलले रक्षा खर्चमा दिगो कटौती गर्न सक्ने र विदेशी लगानीकर्ताको विश्वास कायम राख्न सक्ने शान्ति ढाँचा सुरक्षित गर्न सक्यो भने यो व्यवस्थापन गर्न सकिनेछ,’ उनले भने । उनले सफल शान्ति सम्झौता नभएमा पुँजी पलायन, मुद्राको कमजोरी र मुद्रास्फीति जस्ता जोखिमहरू रहने चेतावनी दिए ।
ट्रम्प प्रशासनले गत साता इरानसँगको शान्ति वार्ताका लागि थप समय दिन युद्धविरामको समयसीमा बढाएको थियो । यद्यपि, ट्रम्पले अप्रिल २३ मा पत्रकारहरूलाई सम्झौताका लागि हतार नगर्ने र युद्ध अन्त्यको कुनै समयसीमा नदिने बताएका छन् ।
अर्थतन्त्रको वृद्धिसँगै इजरायलको पुँजी बजारमा पनि लगानी भित्रिएको छ । तेल अभिभमा रहेको लुसिड इन्भेस्टमेन्ट्सकी संस्थापक र सीईओ करेन श्वोकका अनुसार यस वर्षको सुरुदेखि तेल अभिभ ३५ सूचकांक करिब २० प्रतिशतले बढेको छ । इरानसँगको दुई महिनाको युद्धको अवधिमा पनि यो सूचकांक करिब १ प्रतिशतले बढेको छ ।
यसैबीच इजरायली मुद्रा शेकेल पनि यस वर्ष अमेरिकी डलरको तुलनामा झण्डै ७ प्रतिशतले बलियो भएको छ ।
‘बजारहरू लचिलो मात्र होइन, उल्लेखनीय रूपमा बलियो पनि भएका छन् । यो स्तब्धको अवस्थाबाट सामान्यीकरणतर्फको वास्तविक परिवर्तन हो,’ श्वोकले भनिन् । उनले विदेशी लगानीकर्ताहरू इजरायली बजारमा फर्किरहेको र यो लगानी विशेषगरी प्रविधि, आर्थिक र रक्षा क्षेत्रमा केन्द्रित रहेको बताइन् ।
उनका अनुसार, इजरायलको रक्षा उद्योगमा आएको उछाल आगामी वर्षहरूमा पनि जारी रहनेछ किनभने इजरायली रक्षा कम्पनीहरूले विदेशबाट ठूला ठेक्काहरू प्राप्त गरिरहेका छन् । ‘मुद्राको बलियोपनले लगानीकर्ताको विश्वासलाई संकेत गर्छ,’ उनले थपिन् ।









प्रतिक्रिया