‘हर्मुज’ फेरी बन्द : भारतको दुई जहाजमाथि गोली प्रहार भएसँगै ‘ब्ल्याकमेल’ स्वीकार्य नभएको ट्रम्पको भनाई


काठमाडौं । इरानले शनिबार विश्वको महत्वपूर्ण ऊर्जा मार्ग ‘हर्मुज जलडमरू’ मा आफ्नो नियन्त्रण पुनः कडा बनाएको घोषणा गरेको छ।

इरानले नाविकहरूलाई चेतावनी दिँदै यो महत्वपूर्ण जलमार्ग फेरि बन्द गरिएको बताएको छ।

यता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरानले जलमार्ग बन्द गरेर अमेरिकालाई ‘ब्ल्याकमेल’ (धम्की) दिन नसक्ने कडा प्रतिक्रिया दिएका छन्।

तेहरानले आफ्ना बन्दरगाहहरूमा अमेरिकाले जारी राखेको नाकाबन्दीको जवाफमा यो कदम चालेको बताएको छ। इरानले यसलाई युद्धविरामको उल्लङ्घन भनेको छ।

इरानका सर्वोच्च नेता मुजतबा खामेनीले इरानी नौसेना आफ्ना शत्रुहरूलाई ‘नयाँ र तितो हार’ चखाउन पूर्ण रूपमा तयार रहेको चेतावनी दिएका छन्।

सिपिङ स्रोतका अनुसार, सो जलमार्ग पार गर्ने प्रयास गर्दा कम्तीमा दुईवटा जहाजमाथि गोली प्रहार भएको छ। भारतले आफ्ना दुईवटा भारतीय झण्डावाहक जहाजमाथि आक्रमण भएकोमा गम्भीर चिन्ता व्यक्त गर्दै नयाँ दिल्लीस्थित इरानी राजदूतलाई स्पष्टीकरणका लागि बोलाएको छ।

इरानी राज्य नियन्त्रित सञ्चारमाध्यमका अनुसार, सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले हर्मुज जलडमरूमा इरानी नियन्त्रण अन्तर्गत अब सुरक्षा, बचाउ र वातावरणीय संरक्षण सेवाका लागि शुल्क तिर्नुपर्ने माग गरेको छ।

साथै, पाकिस्तानको मध्यस्थतामा हालै भएका वार्ताहरूमा अमेरिकाले नयाँ प्रस्तावहरू अघि सारेको इरानले बताएको छ।

तेहरानले ती प्रस्तावहरूमाथि विचार गरिरहेको तर हालसम्म कुनै आधिकारिक जवाफ नदिएको जानकारी दिएको छ। राष्ट्रपति ट्रम्पले शुक्रबार वार्ता हुने बताए पनि शनिबारसम्म प्रत्यक्ष वार्ताको कुनै ठोस संकेत देखिएको छैन।

इरानको यो पछिल्लो कठोर सन्देशले यस क्षेत्रमा थप अनिश्चितता पैदा गरेको छ। हर्मुज जलडमरूबाट हुने तेल र ग्यासको ढुवानी ठप्प हुन सक्ने जोखिम बढेको छ। वासिङ्टनले हाल कायम रहेको कमजोर युद्धविरामलाई लम्ब्याउने कि नभन्ने भन्नेबारे विचार गरिरहेका बेला यो तनाव उत्पन्न भएको हो।

अमेरिकी राष्ट्रपति ट्रम्पले भने, ‘हामी इरानसँग राम्रो कुराकानी गरिरहेका छौं, तर तेहरान फेरि जलमार्ग बन्द गर्न चाहन्छ। इरानले अमेरिकालाई ब्ल्याकमेल गर्न सक्दैन।’

फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणबाट सुरु भएको यो युद्धमा हालसम्म हजारौंको ज्यान गइसकेको छ। यो युद्ध इजरायलले लेबनानमा गरेको आक्रमणसम्म फैलिएको छ। हर्मुज जलडमरू बन्द हुँदा विश्वभर तेलको मूल्य अत्यधिक बढेको छ।

अमेरिकी राष्ट्रपति ट्रम्पले आगामी बुधबारसम्म दीर्घकालीन शान्ति सम्झौता नभए युद्ध पुनः सुरु हुन सक्ने र इरानी बन्दरगाहमाथिको नाकाबन्दी जारी रहने बताएका छन्।

उनले भने, ‘मुख्य कुरा यो हो कि इरानसँग आणविक हतियार हुनुहुँदैन। हामी इरानलाई आणविक हतियार राख्न दिने छैनौं, यो हाम्रा लागि सबैभन्दा महत्त्वपूर्ण कुरा हो।’

गत हप्ता पाकिस्तानको राजधानी इस्लामावादमा भएको उच्चस्तरीय वार्ता बिना निष्कर्ष टुङ्गिएको थियो। यद्यपि, केही स्रोतका अनुसार ६० दिनभित्र पूर्ण शान्ति सम्झौता हुने गरी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर हुन सक्ने सम्भावना अझै बाँकी छ।

वार्तामा अमेरिकाले इरानको सबै आणविक गतिविधि २० वर्षका लागि निलम्बन गर्नुपर्ने प्रस्ताव राखेको छ भने इरानले ३ देखि ५ वर्षको प्रस्ताव गरेको छ। यसैबीच, रुसी सरकारी आणविक ऊर्जा कम्पनी ‘रोसाटोम’ ले इरानबाट संवर्धित युरेनियम हटाउन मद्दत गर्न आफू तयार रहेको बताएको छ।

अहिले पनि करिब ८०० व्यावसायिक जहाज र २०,००० नाविकहरू सो जलमार्ग खुल्ने पर्खाइमा खाडी क्षेत्रमा अलपत्र परेका छन्।

अमेरिकामा आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनको दबाबमा रहेका ट्रम्पका लागि बढ्दो महँगी र तेलको मूल्य ठूलो चुनौती बनेको छ।

उता होर्मुज स्ट्रेटमा दुई भारतीय झण्डाधारी जहाजमा गोली प्रहार भएपछि भारतले यो घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ।

शनिबार होर्मुज स्ट्रेटमा दुई भारतीय झण्डाधारी जहाजलाई आफ्नो मार्ग परिवर्तन गर्न बाध्य पारिएको थियो। ट्याङ्कर आवागमन निगरानी गर्ने वेबसाइट ट्याङ्करट्र्याकर्सले घटनाका क्रममा ‘गोली पनि हानिएको’ बताएको छ।

‘च्यानल १६ बाट प्राप्त अडिओ रेकर्डिङ’का आधारमा ट्याङ्करट्र्याकर्सले आईआरजीसी नौसेनाले स्ट्रेटको पश्चिममा यात्रा गरिरहेका दुई भारतीय जहाजलाई पछि हट्न बाध्य पारेको हो।

यसअघि स्ट्रेट पुन: खोल्ने क्रममा दुई भारतीय झण्डाधारी जहाजहरू कार्गो जहाज जग अर्नाभ र तेल ट्याङ्कर सन्मार हेराल्डलाई इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले आफ्नो लक्षित मार्गबाट ​​विचलित हुन आदेश दिएको जनाएको थियो।

समुद्री ट्र्याकिङ डेटाका अनुसार, जहाजहरू लाराक टापु पार गरेपछि सुस्त भए र त्यसपछि यू-टर्न लिएर फर्किए।

सानमार हेराल्ड डेटाले पनि ती जहाज तेलले भरिएका छन्। हालैको ट्र्याकिङ डेटाको आधारमा तेल इराकबाट ल्याइँदै गरिएको संकेत देखाएको छ।