बुध्द एयरको रोयल क्लब अब पूर्ण डिजिटल, हरेक टिकट खरिदमा माइलेज प्वाइन्ट पाइने

161
Shares

काठमाडौं। निजी क्षेत्रको अग्रणी हवाई सेवा प्रदायक कम्पनी बुध्द एयरले आफ्नो फ्रिक्वाइन्ट फ्लायर कार्यक्रम रोयल क्लबलाई पूर्ण रूपमा डिजिटल तथा अनलाइन प्रणालीमा रूपान्तरण गरेको छ। नयाँ वर्ष २०८० को वैशाख १ गतेदेखि लागू हुने गरी बुध्द एयरले यो कार्यक्रमलाई परिमार्जन गर्दै थप सुविधासहित डिजिटल प्लेटफर्ममा लगेकाे जानकारी सोमबार पत्रकार सम्मेलन गरेर दिएको छ ।

विगत दुई दशकदेखि सञ्चालनमा रहेको यस कार्यक्रममा हाल १ लाख ७५ हजार सदस्यहरू आबद्ध छन्। यसअघि रोयल क्लबका सदस्यहरूले रिफण्डेबल टिकट (वाई, ए र बी क्लास) मा मात्र माइलेज प्वाइन्ट पाउने गरेका थिए । अब भने सस्तोदेखि महंगोसम्मका सबै क्लासका टिकटमा माइलेज प्वाइन्ट प्राप्त हुने बुध्द एयरले जानकारी दिएको छ ।

बुध्द एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले सेवाप्रदायकलाई विश्वास बढाउन, पटक पटकको यात्रा बुध्दबाटै गर्ने अवसर दिन र माइलेज प्वाइन्टलाई नगद छुट, टिकेट वा गिफ्ट भौचरमा प्रयोग गर्न सकिने गरी दिइएको छ । यसले बुध्द एयरलाई वार्षक १६ करोड रुपैयाँभन्दा बढीको छूट सुविधा दिने छ । यो छुटले बुध्द एयरलाई यो खर्च गर्नु घाटा भएपनि यसले प्रभावकारिता र ग्राहकको विश्वास भने पक्कै बढाउने दाबी पनि बस्नेतको छ ।

बुद्ध एयरका सेल्स एण्ड मार्केटिङ डाईरेक्टर रूपेश जोशीका अनुसार अब यात्रुहरूले संकलित माइलेज प्वाइन्ट प्रयोग गरी बुद्ध एयरको मोबाइल एप वा वेबसाइटबाटै सहजै टिकट काट्न सक्नेछन्। यसअघि यो सुविधाका लागि यात्रुहरू सेल्स काउन्टर वा विमानस्थल पुग्नुपर्ने बाध्यता थियो।

बुध्द एयरका अनुसार कुनै एक ग्राहक काठमाडौंबाट पोखरा उडानमा नन-रिफण्डेबल टिकटबाट यात्रा गरेको छ भने ११२ माइलेज प्वाइन्ट प्राप्त गर्छन्। सोही बराबरको अर्को पोखरा-काठमाडौं उडान टिकटमा यात्रुले ११२ रुपैयाँसम्मको सहजै छुट प्राप्त गर्न सक्नेछन्। निश्चित माइलेज प्वाइन्ट संकलन भएपछि यात्रु तथा तिनका परिवारका सदस्यले निःशुल्क हवाई टिकट समेत प्राप्त गर्न सक्ने जानकारी उनले दिए । बुध्द एयरले हाल प्रति माइजेज प्वाइन्टलाई प्रतिरुपैयाँले नै हिसाव गर्ने गरेको छ ।

बुध्द एयरले रोयल क्लबको दायरालाई फराकिलो बनाउँदै हवाई उडानमा मात्र सीमित नराखी अन्य क्षेत्रमा पनि विस्तार गरेको छ। आगामी दिनमा रोयल क्लबका सदस्यहरूले विभिन्न सुपर मार्केट, ग्रोसरी पसल, होटल, रिसोर्ट तथा गिफ्ट सपबाट सामान खरिद गर्दा वा सेवा लिँदा पनि माइलेज प्वाइन्ट प्रयोग गरी डिस्काउन्ट प्राप्त गर्न सक्ने सुविधा दिने पनि जोशीले बताए ।

यसका लागि कम्पनीले विभिन्न साझेदार संस्थाहरूसँग सहकार्य गरिरहेको र इच्छुक अन्य संस्थाहरूलाई पनि सहकार्यका लागि आह्वान गरेको उनको भनाइ छ ।

यस्तो सुविधाका लागि यात्रुहरूले माेबाइल वालेट (ईसेवा, खल्तीसहितका) जुनसुकै प्लेटफर्म वा ट्राभल एजेन्सीबाट टिकट काट्दा आफ्नो रोयल क्लब नम्बर उल्लेख गर्न बुद्ध एयरले अनुरोध गरेको छ। यसो गर्दा यात्रापछि प्राप्त हुने माइलेज प्वाइन्ट र डिस्काउन्टको सुविधा लिन सहज हुने कम्पनीको भनाइ छ।

रोयल क्लब नम्बरका लागि भने बुध्द एयरको वेवसाटबाट फाराम भरेर नम्बर लिन सकिने छ । एकपटक लिएको उक्त नम्बर टिकेट काट्दा सधै प्रयोग गर्न सकिने छ ।