उत्तर कोरियामा ड्रोन पुगेपछि दक्षिणका राष्ट्रपतिले मागे माफी

1.5k
Shares

एजेन्सी । दक्षिण कोरियाका राष्ट्रपति ली जे म्याङले एक ड्रोन घुसपैठको घटनाप्रति सोमबार उत्तर कोरियासँग खेद व्यक्त गरेका छन् ।

उनका अनुसार, उक्त घुसपैठ सरकारी अनुमति बिना एक दक्षिण कोरियाली व्यक्तिले गरेका थिए । उनले भविष्यमा यस्ता घटनाहरू हुन नदिन सौलको प्रतिबद्धतामा जोड दिए ।

‘यो हाम्रो सरकारको मनसाय थिएन तर केही व्यक्तिहरूको गैरजिम्मेवारीपूर्ण र लापरवाहीपूर्ण कार्यका कारण अनावश्यक सैन्य तनाव उत्पन्न भएकोमा हामी उत्तर कोरियासँग खेद व्यक्त गर्दछौं,’ लीले मन्त्रिपरिषद्को बैठकमा भने ।

लीले दक्षिण कोरियाली अधिकारीहरूको अनुसन्धानले उक्त घटनामा राष्ट्रिय गुप्तचर सेवाका एक कर्मचारी र एक बहालवाला सैन्य अधिकारी संलग्न रहेको फेला पारेको बताउनुभयो । संविधानले उत्तर कोरिया विरुद्ध व्यक्तिगत उक्साहटपूर्ण कार्यहरू गर्न निषेध गरेको उनले थपे ।

प्योङयाङले जनवरीमा दक्षिणबाट पठाइएका ड्रोनहरूले आफ्नो हवाई क्षेत्रको उल्लंघन गरेको बताएको थियो । उसले सौललाई गम्भीर उक्साहटको आरोप लगाउँदै ती ड्रोनहरू खसालेको बताएको थियो ।

अधिकारीहरूका अनुसार, दक्षिण कोरियाले सुरुमा यसमा कुनै पनि सैन्य संलग्नता नरहेको भन्दै अस्वीकार गरेको थियो र संयुक्त सैन्य–प्रहरी अनुसन्धान सुरु गरेको थियो । उक्त अनुसन्धानपछि सरकारी वकिलहरूले अनधिकृत ड्रोन उडानमार्फत उड्डयन र राष्ट्रिय सुरक्षा कानून उल्लंघन गरेको आरोपमा ३० को दशकका एक दक्षिण कोरियाली व्यक्तिमाथि अभियोग दर्ता गरेका छन् ।

उत्तर कोरियाले हालैका महिनामा दक्षिण कोरियालाई आफ्नो सबैभन्दा शत्रुतापूर्ण राज्य घोषित गरेको छ र ली प्रशासनको वार्ताका प्रयासहरूलाई अस्वीकार गर्दै आएको छ ।