
काठमाडौं । वाणिज्य बैंकहरूको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ६० प्रतिशतभन्दा तल झर्न लागेको छ । पछिल्लो ३ वर्षयता कर्जा विस्तारमा देखिएको सुस्तता र निक्षेपमा भएको लगातार वृद्धिले गर्दा बैंकहरूको सीडी रेसियो लगातार घटिरहेको छ ।
नेपाल राष्ट्र बैंकको चैत ७ गतेको तथ्याङ्कअनुसार बैंक तथा वित्तीय संस्थाहरूको औसत सीडी रेसियो ७३.८६ प्रतिशतमा झरेको छ । २०८२ फागुन मसान्तसम्म वाणिज्य बैंकहरूले कुल ७० खर्ब ४ अर्ब ५५ करोड रुपैयाँ निक्षेप संकलन गरी ५१ खर्ब ७२ अर्ब ९५ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । फागुन मसान्तमा वाणिज्य बैंकहरूको औसत सीडी रेसियो ७३.७३ प्रतिशत रहेको नेपाल बैंकर्स संघको तथ्याङ्क छ ।
नेपाल राष्ट्र बैंकले १०० रुपैयाँ निक्षेप संकलन गर्दा ९० रुपैयाँसम्म कर्जा लगानी गर्न सक्ने व्यवस्था गरेको छ । अर्थात् कर्जा निक्षेप अनुपात ९० प्रतिशतसम्म हुने गरी कर्जा प्रवाह गर्न सक्नेछन् । तर, पछिल्लो साढे ३ वर्षयता बैंकिङ प्रणाली निरन्तर अधिक तरलताको चापमा परेको छ ।
निक्षेप लगातार बढ्न र कर्जाको माग बढ्न नसक्दा बैंकहरूको सीडी रेसियो लगातार घटिरहेको छ । सीडी रेसियो घट्दा बैंकहरूको वित्तीय विवरणमा मात्रै दबाब परेको छैन । निक्षेपको ब्याजदर पनि लगातार घटिरहेको छ ।
केही बैंकहरूले औसतमा १०० रुपैयाँ निक्षेप संकलन गर्दा ६० रुपैयाँ पनि लगानी गर्न सकेका छैनन् । यसरी बैंकहरूले लिएको निक्षेपको ठूलो हिस्सा लगानी हुन नसक्दा ‘न्युट्रल’ भएर बसेको छ ।
केही रकम सरकारको ट्रेजरी बिल र विकास ऋणपत्रमा लगानी भए पनि ट्रेजरी बिलको ब्याजदर २ प्रतिशतभन्दा पनि तल झरेको अवस्था छ । चैत १० गते ३६४ दिनको ट्रेजरी बिलको ब्याजदर १.७२ प्रतिशत कायम भएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।
नेपाल सरकारले चालु आर्थिक वर्षको लागि निष्कासन गरेको विकास ऋणपत्रको बोलकबोलको औसत ब्याजदर ३.६७ प्रतिशत रहेको देखिन्छ । ३ देखि १० वर्ष अवधिको लागि सरकारले जारी गरेको विकास ऋणपत्रको ब्याजदर नै करिब साढे ३ प्रतिशतमा झरेको छ ।
यस्तै करिब ९ खर्ब रुपैयाँ नेपाल राष्ट्र बैंकले तरलता खिचेको छ । जसको ब्याजदर करिब साढे २ प्रतिशत रहेको छ । यसरी निक्षेप संकलन गरेर न्यून ब्याजदरमा लगानी गर्नुपर्ने भएपछि बैंकहरूले निक्षेपको लागत घटाउन लगातार निक्षेपको ब्याजदर घटाइरहेका छन् ।
नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्याङ्क अनुसार फागुन मसान्तमा २० मध्ये २ बैंकको सीडी रेसियो ६० प्रतिशतभन्दा पनि तल झरेको छ । चालु आव सुरु भएयता साउनदेखि फागुन मसान्तसम्म वाणिज्य बैंकहरूको निक्षेप ४ खर्ब ७३ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ । सोही अवधिमा कर्जा लगानी भने १ खर्ब ९८ अर्ब ४० करोड रुपैयाँले बढेको छ ।
एक बैंककै ८० अर्बसम्म बढ्यो निक्षेप
चालु आर्थिक वर्षको फागुनसम्म आउँदा राष्ट्रिय वाणिज्य बैंकको मात्रै निक्षेप ८० अर्ब ६६ करोड रुपैयाँले बढेर ५ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ ।
८० अर्ब निक्षेप बढ्दा बैंकको कर्जा २४ अर्ब १५ करोड रुपैयाँले मात्रै वृद्धि भएको छ । निक्षेपको वृद्धिको तुलनामा कर्जाको वृद्धि ज्यादै न्यून हुँदा सीडी रेसियो घटेर ६० प्रतिशतभन्दा पनि तल झरेको छ । बैंकको निक्षेप ५८.५४ प्रतिशतमा झरेको छ । निक्षेप बढे पनि कर्जा निरन्तर घट्दै गएको स्ट्यान्डर्ड चार्टर्ड बैंकको सीडी रेसियो सबैभन्दा न्यून ५८.५० प्रतिशतमा झरेको छ ।
फागुनसम्म बैंकको निक्षेप १२ अर्ब ७६ करोड रुपैयाँ बढ्दा १ खर्ब ४० अर्ब १७ करोड रुपैयाँ पुगेको छ । त्यस्तै कर्जा भने ७ अर्ब ८९ करोड रुपैयाँले घटेर ८० अर्ब ५७ करोड रुपैयाँमा झरेको छ । फागुनसम्म राष्ट्रिय वाणिज्य बैंकपछि ग्लोबल आईएमई बैंकको निक्षेप ७२ अर्ब ५१ करोड रुपैयाँले वृद्धि भएर ६ खर्ब ४७ अर्ब ५६ अर्ब रुपैयाँ पुगेको छ ।
यस्तै नबिल बैंकको निक्षेप ५२ अर्ब ४९ करोड रुपैयाँले बढेर ५ खर्ब ८४ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ । त्यस्तै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको निक्षेप ५० अर्ब ८० करोड रुपैयाँले बढेर ५ खर्ब २७ अर्ब ९ करोड रुपैयाँ पुगेको छ ।

चालु आर्थिक वर्ष लागेपछि नेपाल बैंकको निक्षेप ४१ अर्ब ७६ करोड रुपैयाँ, कृषि विकास बैंकको ३७ करोड ६ लाख रुपैयाँ पुगेको छ । माछापुच्छ्रे बैंकको निक्षेप २७ अर्ब १२ करोड, लक्ष्मी सनराइज बैंकको निक्षेप २६ अर्ब ५६ करोड र हिमालयन बैंकको निक्षेप २५ अर्ब १० करोड रुपैयाँले बढेको छ ।
प्रभु बैंक र एनआईसी एशिया बैंक र सिटिजन्स बैंकको भने निक्षेप घटेको छ । वाणिज्य बैंकहरूको कुल निक्षेप ७.२५ प्रतिशतले वृद्धि हुँदा प्रभु र एनआईसी एशिया र सिटिजन्स बैंकको भने घटेको हो ।
प्रभु बैंकको निक्षेप ८ अर्ब ६ करोड रुपैयाँले घटेर ३ खर्ब ४० अर्ब ३ करोडमा झरेको हो । एनआईसी एशियाको निक्षेप ५ अर्ब ११ करोड रुपैयाँले घटेर ३ खर्ब १९ अर्ब ३८ करोड रुपैयाँमा झरेको छ । त्यस्तै सिटिजन्स बैंकको निक्षेप १ अर्ब ८६ करोड रुपैयाँले घटेर २ खर्ब १२ अर्ब २२ करोड रुपैयाँमा झरेको छ ।
कर्जा बढाउन नबिल र एभरेष्ट अगाडि
यता कर्जा बढाउनेमा भने नबिल बैंक अगाडि देखिन्छ । चालु आर्थिक वर्षको ८ महिना सकिँदा वाणिज्य बैंकहरूको कुल कर्जा ३.९९ प्रतिशतले बढेको छ । एनआईसी एशिया, स्ट्यान्डर्ड चार्टर्ड र प्रभु बैंक बाहेक सबै बैंकको कर्जा बढेको छ । नबिल बैंकको कर्जा ३० अर्ब २६ करोडले बढेर ४ खर्ब ६३ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ ।
त्यस्तै एभरेष्ट बैंकको कर्जा २६ अर्ब ५१ करोड रुपैयाँले वृद्धि हुँदा २ खर्ब ५० अर्ब १७ करोड रुपैयाँ पुग्दा ग्लोबल आईएमई बैंकको कर्जा २६ अर्ब ५० करोडले बढेर ४ खर्ब ६७ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । त्यस्तै राष्ट्रिय वाणिज्य बैंकको कर्जा २४ अर्ब १५ करोड रुपैयाँले बढेर ३ खर्ब ३३ अर्ब ६ करोड रुपैयाँ पुगेको छ ।
प्रतिशतका आधारमा हेर्दा एभरेष्ट बैंकको कर्जा सर्वाधिक ११.८५ प्रतिशतले बढेको छ । त्यस्तै माछापुच्छ्रे बैंकको कर्जा ११.४८ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकको कर्जा ७.८२ प्रतिशतले बढेको छ ।

एनआईसी एशिया बैंकको कर्जा सर्वाधिक ९.३३ प्रतिशतले घटेको छ । गत असार मसान्तमा २ खर्ब ३९ अर्ब ५४ करोड रुपैयाँ रहेको बैंकको कर्जा फागुन मसान्तमा आउँदा २२ अर्ब २३ करोड रुपैयाँले घटेर २ खर्ब १७ अर्ब १९ करोड रुपैयाँमा झरेको हो ।
यस्तै स्ट्यान्डर्ड चार्टर्ड बैंकको कर्जा ८.९२ प्रतिशतले घटेको छ । गत असार मसान्तमा ८८ अर्ब ४६ करोड रुपैयाँ रहेको बैंकको कर्जा फागुन मसान्तमा आउँदा ७ अर्ब ८९ करोड रुपैयाँले घटेर ८० अर्ब ५७ करोड रुपैयाँमा झरेको हो । प्रभु बैंकको कर्जा ०.९३ प्रतिशतले घटेको छ । गत असार मसान्तमा २ खर्ब ४१ अर्ब १७ करोड रुपैयाँ रहेको बैंकको कर्जा फागुन मसान्तमा २ अर्ब २५ करोड रुपैयाँले घटेर २ खर्ब ३८ अर्ब ९२ करोड रुपैयाँमा झरेको छ ।
७ बैंकको सीडी रेसियो ७० प्रतिशत तल, एनएमबीको ८४ प्रतिशतभन्दा माथि
फागुन मसान्तमा स्ट्यान्डर्ड चार्टर्ड बैंक र राष्ट्रिय वाणिज्य बैंकको सीडी रेसियो ६० प्रतिशतभन्दा पनि तल झरेको छ । स्ट्यान्डर्ड चार्टर्ड बैंकको सीडी रेसियो ५८.५० प्रतिशत छ भने राष्ट्रिय वाणिज्य बैंकको सीडी रेसियो ५८.५४ प्रतिशत छ ।
यस्तै कृषि विकास बैंकको ६४.१८ प्रतिशत, नेपाल बैंकको ६७.०५ प्रतिशत, एनआईसी एशिया बैंकको ६७.८३ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ६८.५६ प्रतिशत र नेपाल एसबिआई बैंकको सीडी रेसियो ६८.९६ प्रतिशतमा झरेको हो ।

बैंकहरूको सीडी रेसियो ८० देखि ८५ प्रतिशतको बिचमा हुनुलाई राम्रो मानिन्छ । यसले बैंकसँग ठूलो परिमाणमा ‘तरल सम्पत्ति’ छैन भन्ने देखाउँछ भने लगानी प्रभावकारी भएमा प्रतिफल पनि राम्रो दिन सक्छ ।
८५ प्रतिशतभन्दा माथि सीडी रेसियो हुँदा जुनसुकै समयमा पनि तरलताको दबाब पर्न सक्छ । त्यति मात्रै नभएर ब्याजदरलाई पनि वाञ्छित सीमाभित्र राख्न समेत सहयोग पुग्छ । २० मध्ये ५ बैंकको मात्रै सीडी रेसियो ८० प्रतिशतभन्दा माथि छ । एनएमबि बैंकको सीडी रेसियो सबैभन्दा धेरै ८४.३७ प्रतिशत हुँदा प्राइम कमर्सियल बैंकको ८३.२६ प्रतिशत, सिटिजन्स बैंकको ८२.८७ प्रतिशत, सानिमा बैंकको ८२.१४ प्रतिशत र एभरेष्ट बैंकको ८१.१२ प्रतिशत सीडी रेसियो छ ।








प्रतिक्रिया