
काठमाडौं । सिक्किम सरकारले पहिलो पटक आयोजना गरेको ‘सिक्किम अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ भव्य रूपमा सम्पन्न भएको छ । सिक्किमको सांस्कृतिक र सिने जगतका लागि कोशेढुङ्गा मानिएको यस महोत्सवमा नेपालको तर्फबाट बटरफ्लाई फिल्म्सकी संस्थापक तथा प्रबन्ध निर्देशक जेनिश पहारीले आधिकारिक प्रतिनिधित्व गरेकी थिइन् । महोत्सवमा नेपालबाट सहभागी हुने उनी एक मात्र चलचित्र वितरक हुन् ।
महोत्सवका क्रममा पहारीले ‘बिल्डिङ द फ्युचर: स्ट्रेन्थेनिङ फिल्म्स इन सिक्किम’ (भविष्य निर्माण: सिक्किममा चलचित्रको सुदृढीकरण) र ‘प्रोड्युसर्स कन्भर्सेसन’ (निर्माता संवाद) जस्ता महत्वपूर्ण प्यानल छलफलमा भाग लिएकी थिइन् ।
ती सत्रहरूमा उनले नेपालले कसरी बलियो र दिगो स्थानीय चलचित्र इकोसिस्टम विकास गर्यो भन्ने रणनीतिक अनुभवहरू साझा गर्दै सिक्किमले पनि सोही अनुरुप अघि बढ्न सक्ने सुझाव दिइन् ।
नेपाली चलचित्रको बढ्दो प्रभावबारे चर्चा गर्दै पहारीले नेपाली उद्योगले विश्वभर छरिएर रहेका नेपाली समुदाय (डायस्पोरा) लाई कसरी बजारका रूपमा विस्तार गर्न सफल भयो भन्ने कुरामा जोड दिइन् । उनले अचेल नेपालको घरेलु बक्स अफिसमा नेपाली फिल्मले नै वर्चस्व जमाइरहेको र दर्शकहरूले स्थानीय विषयवस्तुलाई प्राथमिकता दिन थालेको बताइन् ।
पहारीले धर्मा प्रोडक्सनका प्रमुख कार्यकारी अधिकृत राजीव मसन्दसँगको एक विशेष राउन्ड टेवल बैठकमा पनि सहभागिता जनाइन् । सिक्किमका सरकारी सरोकारवालाहरू समेत सम्मिलित सो बैठकमा चलचित्र नीति र क्षेत्रीय सहकार्यका मार्गहरूका बारेमा गहन छलफल भएको थियो ।
नेपाली सिनेमामा पुर्याएको योगदान र क्षेत्रीय सहकार्यका लागि उनले चालेको कदमको कदर गर्दै सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङले जेनिश पहारीलाई विशेष सम्मान प्रदान गरेका थिए ।
यस सहभागिताले नेपाल र भारतबीचको सांस्कृतिक तथा सिने सम्बन्धलाई अझ सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ । बटरफ्लाई फिल्म्सले दक्षिण एसियाली देशहरूमा क्षेत्रीय र विश्वव्यापी सिनेमाको पहुँच विस्तार गर्न निरन्तर काम गर्दै आइरहेको छ ।
बटरफ्लाई फिल्म्स नेपालको एक अग्रणी चलचित्र वितरण कम्पनी हो । यसले प्रमुख अन्तर्राष्ट्रिय स्टुडियोहरूको प्रतिनिधित्व गर्दै दक्षिण एसियामा क्षेत्रीय र विश्वव्यापी चलचित्रहरूको बजार विस्तारमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।








प्रतिक्रिया