ल फर्ममा बम बिस्फोट : संलग्नताको आशंकामा एक पक्राउ


सिरहा । सिरहास्थित ल फर्ममा ११ दिनअघि भएको बिष्फोटको घटनामा संलग्न रहेको आशंकामा एक जना पक्राउ परेका छन् ।

जिल्ला अदालत बार एशोसिएसनको कार्यालय रहेको भवनको सटरमा अधिवक्ता मधुसुदन प्रसाद यादवले चलाइरहेको ल फर्मममा गत २७ फागुनमा भएको बिष्फोटको घटनामा संलग्नता रहेको आशंकामा एक लेखापढी व्यवसायीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको सिरहा प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रमेशबहादुर पालका अनुसार बम बिस्फोटको घटनामा संलग्न रहेको आशंकामा एक जना लेखापढी व्यवसायीलाई चार दिनअघि पक्राउ गरी अनुसन्धान गरिरहेको जानकारी दिए तर नाम भने खुलाएनन् ।

‘बिष्फोटको घटनामा संलग्नता रहेका केही प्रमाणहरु भेटिएपछि पक्राउ गरिएको हो’ उनले भने ‘प्रहरीको अनुसन्धानमा भेटिएका केही प्रमाणहरु परीक्षणका लागि पठाइएको छ, त्यसको प्रतिवेदन आएपछि संलग्नता रहेछ भने सार्वजनिक गर्छौं ।’

बिस्फोटमा परि ल फर्मममा काम गर्ने सिरहा नगरपालिका १ घर भएका सौरभ यादव हातको औंला र खुट्टामा सामान्य चोट लागेर घाइते भएका थिए । बिष्फोटमा ल फर्ममा रहेका कम्प्युटर, फर्निचर लगायतका सामग्रीमा पनि क्षति पुगेको थियो ।