
काठमाडौं । विश्व बहुध्रुवीय बन्दै जाँदा चीन र अमेरिकाबीच प्रभुत्वको प्रतिस्पर्धा तीव्र बनेको छ । चीनले अमेरिका विरुद्धको दीर्घकालीन प्रतिस्पर्धा जित्नका लागि विभिन्न कदम चालिरहेको छ ।
अमेरिकामाथि चीनको अदृश्य विजयको सबैभन्दा स्पष्ट मापन राज्य क्षमताको उपयोगमा देखिएको भिन्नताबाट गर्न सकिन्छ । अर्थात्, चीन सरकारले जे गर्ने भनी लक्ष्य राख्छ, त्यसलाई वास्तवमै पूरा गर्ने क्षमता पनि उससँग छ । अमेरिकामा हरेक ठूला पूर्वाधार परियोजनाहरू मुद्दा मामिला, वातावरणीय समीक्षा र कर्मचारीतन्त्रको आन्तरिक कलहले थिचिएकाले विकासको काम अपेक्षाकृत हुन सकेको छैन भने चीनमा फटाफट काम भइरहेको छ ।
अमेरिकाले दशकौंको योजना र अर्बौंको खर्चपछि पनि क्यालिफोर्नियामा उच्च गतिको रेलमार्ग पूरा गर्न संघर्ष गरिरहेको बेला चीनले १५ वर्षभन्दा कम समयमा ४० हजार किलोमिटरभन्दा बढी उच्च गतिको रेल मार्ग निर्माण गरिसकेको छ । विश्व बैंकका अनुसार, चीनको पूर्वाधार लगानी उसको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को झण्डै १० प्रतिशत छ जबकि अमेरिकी पूर्वाधारलाई अमेरिकन सोसाइटी अफ सिभिल इन्जिनियर्सले सी ग्रेड दिएको छ ।
यो भौतिक मात्र नभई संस्थागत क्षयीकरणको संकेत हो । बोइङ कम्पनीको सुरक्षाका विषयमा नागरिक उड्डयन प्राधिकरण एफएएले बेहोरेका विफलताहरू र औषधि अभाव व्यवस्थापनमा फूड एन्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए) ले देखाएको अक्षमताले अमेरिकी शासन भित्रभित्रै सडिरहेको अनुभूति हुन्छ ।
यसको विपरीत चीनको योग्यतामा आधारित (मेरिटोक्रेटिक) प्रणालीले इन्जिनियरिङ र उत्पादन मार्फत भौतिक संसारलाई नियन्त्रण गर्ने क्षमतालाई प्राथमिकता दिएको छ ।
सन् १९८० को दशकदेखि अमेरिकाले औद्योगिकीकरणविरुद्धको (डिइन्डस्ट्रियलाइजेशन) नीति अपनायो र उत्पादन कार्यहरू विदेश पठाएर सफ्टवेयर र वित्त (फाइनान्स) मा ध्यान केन्द्रित गर्यो । तर, सफ्टवेयरले भौतिक गोलाबारुद, ड्रोन र स्टिलको आवश्यकतालाई प्रतिस्थापन गर्न सक्दैन भन्ने कुरा पश्चिम एसिया र युक्रेनमा चलिरहेको द्वन्द्वले प्रमाणित गरेको छ । ती युद्धहरूमा खर्च भइरहेका हतियार तत्काल उत्पादन गरेर पूरताल गर्न अमेरिकालाई धौधौ परिरहेको छ ।
संयुक्त राष्ट्रसंघको तथ्यांक विभागका अनुसार, अहिले विश्वव्यापी उत्पादनको झण्डै ३० प्रतिशत हिस्सा चीनले ओगटेको छ । यूएस नेभल इन्स्टिच्युटले चीनको जहाज निर्माण क्षमता अहिले अमेरिकाको भन्दा २०० गुणा बढी रहेको भन्दै सतर्क गराएको छ ।
लामो समयसम्म चल्ने द्वन्द्वमा थोरै संख्याका महँगा विमानवाहक जहाजहरू भन्दा हजारौंको संख्यामा उत्पादन गर्न सकिने कम लागतका ड्रोनहरू बढी महत्त्वपूर्ण हुन्छन् । तिनै ड्रोनको बलमा इरानले अहिले इजरायल, खाडी मुलुकहरू र अमेरिकालाई हावाकावा खेलाइरहेको छ ।
त्यसो त अमेरिकी सैन्य उपकरणका पाटपुर्जाहरूको विश्वव्यापी आपूर्ति श्रृंखला समेत धेरैजसो चीनको औद्योगिक शहर शनचनाटै सुरु हुन्छ । विश्वको कारखाना बनेर चीनले आपूर्ति शृंखलामा प्रभुत्वको सुनिश्चितता गरेको छ ।
अमेरिकाको राष्ट्रिय ऋण सम्भवतः चीनको शस्त्रागारको सबैभन्दा शक्तिशाली हतियार हो । सार्वभौम ऋण संकट (सभरेन डेट क्राइसिस) अमेरिकाको अति महत्त्वाकांक्षाको परिणाम हो । ३४ ट्रिलियन डलरभन्दा बढीको राष्ट्रिय ऋण र रक्षा बजेटभन्दा बढी पुग्न लागेको ब्याज भुक्तानीका साथ अमेरिका कार्यगत रूपमा टाट पल्टेको छ ।
चीनले अमेरिकाको आर्थिक प्रणालीमा रहेको आफ्नो जोखिमलाई व्यवस्थित रूपमा घटाउँदै लगेको छ । अमेरिकाको ट्रेजरीले जारी गरेको तथ्यांक अनुसार, चीनले पछिल्लो दशकमा सयौं अर्ब डलरका अमेरिकी ट्रेजरी बिलहरू बिक्री गरेको छ ।
साथै, बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) र ब्रिक्स प्लसको विस्तार मार्फत बेइजिङले समानान्तर आर्थिक संरचना निर्माण गरिरहेको छ । पेट्रोयुआनको उदय र एमब्रिज परियोजना (बहुकेन्द्रीय बैंक डिजिटल मुद्रा प्लेटफर्म) ले अमेरिकी डलरको असाधारण विशेषाधिकारमाथि सीधा प्रहार गर्छ ।
डलरले विश्वको प्राथमिक सञ्चिति मुद्राको दर्जा गुमायो भने अमेरिकाले आफ्नो मुद्रास्फीति निर्यात गर्न वा घाटा बजेट मार्फत आफ्नो सेनालाई पैसा उपलब्ध गराउन सक्ने छैन ।
अमेरिकामा आन्तरिक विभाजन पनि चर्को छ । त्यहाँ विभिन्न गुटहरू छन् । डेमोक्रेट, रिपब्लिकन र प्राविधिक क्षेत्रका धनाढ्यहरू विदेशी शत्रुसँग प्रतिस्पर्धा गर्नुभन्दा एकअर्कालाई हराउन बढी चासो देखाउँछन् ।
चीनले परिष्कृत संज्ञानात्मक युद्ध (कग्निटिभ वारफेयर) मार्फत यस आन्तरिक अराजकताको फाइदा उठाइरहेको छ । प्यु रिसर्चका अनुसार, झण्डै एक तिहाइ युवा अमेरिकीहरूको प्राथमिक समाचार स्रोत टिकटक हो । त्यसको एल्गोरिदमलाई नियन्त्रण गरेर बेइजिङले अमेरिकाको सामाजिक एकतालाई प्रभावित पार्ने, ध्रुवीकरण बढाउने र जनतालाई निरुत्साहित पार्ने क्षमता राख्छ ।
अमेरिका सांस्कृतिक युद्ध (कल्चर वार्स) मा अलमलिँदा चीनले ग्रेट फायरवालमार्फत सामाजिक विभाजनलाई रोक्ने राज्यनियन्त्रित विश्वसनीय भाष्य कायम राखेको छ । त्यसले विचारधारात्मक र सांस्कृतिक विभाजनहरूमा नअलमलिइकन मेड इन चाइना २०२५ जस्ता रणनीतिक लक्ष्यहरूमा देशको ध्यान राखिरहन सुनिश्चित गर्छ ।
अहिले अमेरिकाको प्राविधिक अपराजेयताको मिथकको परीक्षण भइरहेको छ । हुन त अमेरिका अझै पनि फ्रन्टियर एआई (लार्ज ल्यांग्वेज मोडेलहरू) मा अगाडि छ । तर, चीनले भौतिक संसारमा प्रविधिको उपयोगमा नेतृत्व गरिरहेको छ ।
अस्ट्रेलियन स्ट्राटेजिक पोलिसी इन्स्टिच्युटको क्रिटिकल टेक्नोलोजी ट्य्राकरले हालै पत्ता लगाएअनुसार, चीनले निगरानी गरिएका ४४ मध्ये ३७ प्रविधिहरूमा अमेरिकालाई उछिनेको छ । इलेक्ट्रिक ब्याट्री, हाइपरसोनिक हतियार र उन्नत रेडियो–फ्रिक्वेन्सी सञ्चार तिनमा समावेश छन् ।
हरित ऊर्जाको क्षेत्रमा चीनको प्रभुत्व निर्विवाद छ । उसले विश्वव्यापी सौर्य आपूर्ति श्रृंखलाको ८० प्रतिशतभन्दा बढी र आधुनिक इलेक्ट्रोनिक्सका लागि आवश्यक पर्ने दुर्लभ खनिज पदार्थ प्रशोधनको ठूलो हिस्सा नियन्त्रण गर्छ ।
अमेरिकाको हरित ऊर्जातर्फको संक्रमण (ग्रीन ट्रान्जिसन) वास्तवमा चिनियाँ उत्पादनमाथिको थप निर्भरतामा परिणत हुँदैछ । अमेरिकाले आफू पछि परेको महसुस गरुन्जेलसम्म सुधारका लागि लाग्ने लागत धेरै चर्को भइसकेको हुनेछ ।
चीनका प्रख्यात रणनीतिकार सुन जुको द आर्ट अफ वारमा भनिएको छ, ‘शत्रुलाई नलडिकन हराउनु युद्धको सर्वोच्च कला हो ।’ अमेरिकालाई कहिले नटुंगिने युद्धहरू (फरेभर वार्स) मा थकाउन दिएर चीनले ठ्याक्कै यही गरिरहेको छ । अमेरिकाले युक्रेन र इरान जस्ता द्वन्द्वहरूमा सयौं अर्ब डलर खर्च गरी आफ्नो हतियार भण्डार रित्याइरहेको छ । हिन्द–प्रशान्त क्षेत्रमा चीनलाई रोक्नका लागि आवश्यक हतियार पश्चिम एसिया र पूर्वी युरोपमा नष्ट भइरहेको छ ।
यसैबीच चीनले इरान र साउदी अरबबीच सम्झौता गराउँदै आफूलाई विश्वव्यापी मध्यस्थकर्ता, शान्तिको पक्षधर र अमेरिकी सैन्य हस्तक्षेपकारी नीतिको भरपर्दो विकल्पको रूपमा प्रस्तुत गरिरहेको छ । दक्षिण अमेरिकामा बन्दरगाहहरू बनाएर अनि अफ्रिकाभरि रेलमार्गहरू बिछ्याएर चीनले समग्र दक्षिणलाई सहयोग कूटनीतिमार्फत आफूतर्फ आकर्षित गरिरहेको छ ।
अमेरिकाले विकासशील राष्ट्रहरूमा लोकतन्त्र बहालीका नाममा अस्थिरता फैलाएको अवस्थामा चीनले सडक, पुल र ५जी नेटवर्क बनाएर ती मुलुकहरूमा सफ्ट पावर प्रदर्शन गरिरहेको छ ।
अमेरिकी राज्य क्रमिक रूपमा असफल हुँदै जाँदा त्यहाँका मानिस नेटवर्क स्टेट र डिजिटल सुन (बिटकोइन) तर्फ आकर्षित भइरहेका छन् । यस्तो प्रवृत्तिले अमेरिकी सरकारको कर उठाउने र आफ्ना नागरिकहरूलाई नियन्त्रण गर्ने क्षमतालाई अझ कमजोर बनाउँछ ।
चीनले यस खतरालाई पहिचान गरेर बिटकोइनमा प्रतिबन्ध लगाएको छ र डिजिटल संसारमा राज्यको पूर्ण नियन्त्रण सुनिश्चित गर्न ई–सीएनवाई (डिजिटल युआन) लागू गरेको छ ।
अमेरिका अहिले दोहोरो दबाबमा छ । उसले डलरलाई कमजोर नबनाई विकेन्द्रीकृत भविष्य (बिटकोइन वा क्रिप्टो) लाई अँगाल्न सक्दैन । तर, उसले आफ्नो अर्थतन्त्रको आमूल पुनःसंरचना नगरी डलरको क्षयलाई रोक्न पनि सक्दैन । चीनले यो खाडल पुर्नका लागि राज्यको पूर्ण क्षमताको उपयोग गरिरहेको छ जबकि अमेरिका अनियन्त्रित विकेन्द्रीकरण वा अराजकताको स्थितिमा छ ।
चीनले अमेरिकासँग प्रतिस्पर्धा मात्र गरिरहेको नभई अमेरिकालाई विश्वमञ्चबाट व्यवस्थित रूपमा विस्थापित गरिरहेको प्रमाणहरूले संकेत गर्छन् । उत्पादनमा महारथ हासिल गरेर, नवीकरणीय ऊर्जाका साथै पश्चिम एसियाली मुलुकहरूसँगको गठबन्धनमा जीवाश्म इन्धन सुरक्षित गरेर तथा अमेरिकाको सूचना युद्धलाई कमजोर पारेर चीनले महाशक्ति प्रतिस्पर्धा जित्नका लागि गम्भीर प्रयास गरिरहेको छ ।
अमेरिका अझै पनि २०औं शताब्दीको शक्तिको मोडल अर्थात् विभिन्न थिएटरमा विमानवाहक जहाज लग्ने र देशहरूमाथि प्रतिबन्ध लगाउने कार्यमा भर परिरहेको छ । तर, चीन २१औं शताब्दीको मापदण्डमा अघि बढिसकेको छ । उसले आपूर्ति श्रृंखलाको प्रभुत्व, डिजिटल मुद्रा र संस्थागत दक्षता हासिल गरिसकेको छ।
अमेरिकाले कर्मचारीतन्त्र घटाउने, स्वदेशी उद्योगलाई पुनर्जीवित गर्ने र वित्तीय संकट समाधान गर्ने राज्य क्षमतामा आमूल परिवर्तन नगरेसम्म चीनसँगको प्रतिस्पर्धा जित्न सक्दैन ।










प्रतिक्रिया